NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ २३ गते

दुर्गा प्रसाईंबाट खतरा रहेको भन्दै पवनकुमार गोल्याणले मागे सरकारसँग सुरक्षा

काठमाडौं । व्यवसायी पवनकुमार गोल्याणले दुर्गा प्रसाईं र उनको समूहबाट आफू र परिवारका सदस्य असुरक्षित रहेको भन्दै सरकारसमक्ष सुरक्षा माग गरेका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा एक निवेदन दर्ता गराउँदै गोल्याणले आफ्नो र परिवारको जीवरक्षा गरिदिन माग गरेका हुन् ।

केही दिनअघि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा दर्ता गोल्याणको निवेदनमा दुर्गा प्रसाईंबाट आफूलाई हानि पु–याउने धम्की प्राप्त भएको र यही कारण कार्य–व्यवसाय सञ्चालन गर्न नसकिएको उल्लेख छ । गोल्याणले प्रसाईको निरन्तरको निराधार आरोपले आफ्नो व्यवसाय र प्रतिष्ठामा क्षति पुगेको गुनासो पनि गरेका छन् । साथै यस्ता अफवाहले कुनै सम्प्रदायप्रति विद्वेष उत्पन्न भई अकल्पनीय अवस्था उत्पन्न हुन सक्नेतर्फ सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।

प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार, गोल्याणले निवेदनसँगै प्रसाईंबाट आएको धम्कीको दुई वटा भिडियोसमेत उपलब्ध गराएका छन् ।

विवादास्पद मेडिकल व्यवसायी प्रसाईंले पछिल्लो केही समययता गोल्याणसहितका मारबाडी समुदायका व्यवसायीमाथि नकारात्मक भावना उत्पन्न हुने गरी निरन्तर हमला गर्दै आइरहेका छन् । एक वर्षअघि उनले मारबाडीले गलत तरिकाले व्यवसाय सञ्चालन गरेर देशलाई खोक्रो पारेकाले देशबाट लखेट्नु पर्ने आपत्तिजनक अभिव्यक्ति दिएका थिए । उनले आफ्ना समर्थकलाई मारबाडीलाई जहाँ भेट्यो त्यही कारबाही गर्न उर्दी समेत दिएका थिए ।

त्यसैगरी, अर्का व्यवसायी दीपेन्द्र अग्रवालले पनि प्रसाईं र उनको समूहबाट असुरक्षित महसुस भएको दाबी गर्दै सुरक्षा दिलाउन सरकारसँग माग गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा लिखित निवेदन दर्ता गराएर उनले सुरक्षा मागेका हुन् ।

गोल्याणले जस्तै उनले पनि प्रसाईंका कारण आफू र परिवारका सदस्य असुरक्षित बनेको उल्लेख गरेका छन् ।

प्रसाईंलाई कारबाही गर्न माग

सरकारसँग सुरक्षा माग गरेका गोल्याणले आफूमाथि प्रसाईंले उनको हत्या योजना बनाएको निराधार आरोप लगाएको भन्दै त्यसको समेत खण्डन गरेका छन् ।

प्रसाईंले केही समयअघि आफ्नो सामाजिक सञ्जाल फेसबुकमा विश्वस्त स्रोतको हवाला दिँदै गोल्याण र विशाल ग्रुपका अनुज अग्रवाललगायतले भारतीय नामुद सार्प सुटर पप्पु यादव समूहलाई आफ्नो हत्या गर्न सुपारी दिएको दाबी गरेका थिए ।

गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय काठमाडौं, केन्द्रीय अनुसन्धान व्युरोलाई बोधार्थ उपलब्ध गराइएको निवेदनमा निराधार आरोप लगाएर लाञ्छित गर्ने काम प्रसाईंबाट भएकाले उनीमाथि कानूनी कारबाही गर्न माग गरिएको छ।

व्यवसायीले सुरक्षा माग गर्दै निवेदन दिएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले यसबारे आवश्यक निर्णय लिन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।

उद्योगी, व्यवसायी, बैंक तथा वित्तीय संस्था, राजनीतिक दलका नेतालगायत विरुद्ध निराधार र कपोलकल्पित आरोप लगाउँदै आएका प्रसाईं फेक कागजात तयार गरेर प्रधानमन्त्रीको चरित्र हत्या गरेको अभियोगमा अहिले प्रहरी हिरासतमा छन् ।