NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ४ गते

परराष्ट्रमन्त्री डा राणा छन्दुस्थित महावाणिज्यदूतावासमा

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले आज चीनको सिचुवान प्रान्तस्थित छन्दुमा रहेको नेपाली महावाणिज्यदूतावासको निरीक्षण गरेकी छन् ।

त्यस अवसरमा उनलाई महावाणिज्यदूत सुरेश राउतसहितका कर्मचारीहरुले स्वागत गरेका थिए । मन्त्री डा राणालाई महावाणिज्यदूत राउतले महावाणिज्यदूतावासका कामकारबाहीका बारेमा जानकारी गराएको परराष्ट्रमन्त्रीको सचिवालयले जनाएको छ ।

मन्त्री डा राणाले आगामी वर्ष नेपाल र चीनबीच औपचारिक कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वार्षिकोत्सवको अवसर पारेर नेपाल र चीन सरकारद्वारा संयुक्त रूपमा घोषणा गरिएको नेपाल भ्रमण वर्ष २०२५ को स्मरण गराउँदै यस पृष्ठभूमिमा महावाणिज्यदूतावासलाई नेपालको पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्न सुझाव दिइन्।

यस कार्यक्रमबाट दुवै देशको पर्यटन प्रवद्र्धन हुनुका साथै जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास उनले व्यक्त गरिन् । मन्त्री डा राणाले नेपाली चिया, कफी, औषधिजन्य तथा सुगन्धित जडीबुटीजस्ता नेपालका विशिष्ट उत्पादनहरूलाई चिनियाँ बजारमा प्रवद्र्धन गर्ने कार्यमा लाग्न निर्देशन दिइन् ।

त्यस अवसरमा मन्त्री डा राणाले नेपाल चीन सम्बन्धलाई आर्थिक, सांस्कृतिक तथा जनस्तरमा थप सुदृढ बनाउनुपर्नेमा जोड दिएकी थिइन् । महावाणिज्यदूतावासमा आयोजित अन्तरक्रियामा चीनका लागि नेपाली राजदूत डा कृष्णप्रसाद ओलीलगायत पनि सहभागी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

ताजा अपडेट

नेपालवाच विशेष