NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ माघ ११ गते

रवि लामिछानेले किन रोजेनन् हिरासत छल्ने बाटो ?

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने गत कात्तिक २ गते राति काठमाडौंबाट पक्राउ परे । सोही दिन उनलाई स्थलमार्ग हुँदै पोखरा पु-याइयो । त्यसयता उनको बास लगातार प्रहरी हिरासतमा छ ।

देशका विभिन्न सहकारीबाट गोरखा मिडिया प्रालिमा रकम अपचलन भएपछि रवि छानबिनमा तानिएका थिए । त्यसरी सहकारीबाट रकम स्थानान्तरण गर्न उनको प्रत्यक्ष संलग्नता नभए पनि त्यहाँबाट गोरखा मिडिया प्रालिमा रकम पुगिसकेपछि अपचलन गर्न सामेल भएकाले उनीमाथि कारबाही गर्नुपर्ने सिफारिस संसदीय समितिको थियो । त्यसैका आधारमा गत कात्तिक २ मा पक्राउ परेका लामिछानेलाई प्रहरीले रकम सारिएका सहकारी रहेका जिल्लामै पु–याएर बयान लिइसकेको छ । पछिल्लो पटक वीरगञ्ज लगिएका उनलाई त्यहाँबाट काठमाडौं हुँदै पुनः पोखरा लगिसकिएको छ ।

लामिछानेसँग प्रहरीले बयान लिइसके पनि अनुसन्धान अझै बाँकी रहेको जिकिर गर्दै बिहीबार ९ दिनको समय माग गर्दै जिल्ला अदालत कास्कीमा उपस्थित गराइएको थियो । अदालतले ५ दिनको समय दिएको छ । योसँगै लामिछाने आगामी ४ दिन प्रहरी नियन्त्रणमै रहने पक्कापक्की भएको छ । प्रहरी स्रोतका अनुसार, अदालतले बिहीबार उपलब्ध गराएको समयसीमाभित्र मुद्दा पेश गर्ने गरी तयारी अघि बढाइएको छ ।

भिआइपी अभियुक्तहरूमा हिरासत छल्ने प्रवृत्ति आम बनेको छ । तर लामिछाने भने यसमा अन्यभन्दा पृथक देखिँदै आएका छन् ।

लामिछानेलाई चितवनमा बयान सकेर रातारात चितवन लगिएको थियो । आराम गर्न नदिएर रातारात अड्डासार गरिएको भन्दै उनको सरकारको चौतर्फी आलोचनासमेत भइरहेको छ । लामिछानेको परिवारले उनको मानव अधिकार हनन भएको उजुरी राष्ट्रिय मानव अधिकार आयोगमा दिएपछि नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवरलाई बयानका लागि बोलाइएको थियो । तर उनले आफू नगएर प्रतिनिधिलाई मात्र पठाएका थिए ।

चिकित्सकको रिपोर्टअनुसार उक्त दिन लामिछानेको ब्लड प्रेसर ह्वात्तै बढेर १८०/९० पुगेको थियो । रवि लामिछानेको सार्वजनिक स्वाथ्य रिपोर्टअनुसार, त्यसयता उनको ब्लड प्रेसर लगातार बढिरहेको छ । रास्वपाका केन्द्रीय सदस्य दीपक बोहोराले सामाजिक सञ्जालमार्फत बिहीबार लामिछानेको ब्लड प्रेसर १७०/११० मापन भएको उल्लेख गरेका छन् । ब्लड प्रेसर बढेपछि बुधबार अस्पताल लगिएका उनलाई चिकित्सकले त्यही बसेर उपचार गर्न सुझाएका थिए । तर त्यसलाई अस्वीकार गरेर लामिछाने हिरासता बस्दै आएका छन् ।

रवि किन बसेनन् अस्पताल

कुनै व्यक्तिको ब्लड प्रेसर १८०÷९० हुनु चुनौतीपूर्ण मानिन्छ । अझ व्यक्तिको ब्लड प्रेसर पहिलो पटक यसरी बढेको छ भने आकस्मिक कक्षमा राखेर बिरामीको उपचार गर्नुपर्छ ।

चिकित्सक स्वयंले अस्पतालमा बसेर स्वास्थ्योपचार गर्न सिफारिस गर्दागर्दै पनि रवि किन हिरासतमै बसिरहेका छन् ? रविको पक्ष तथा विपक्षमा रहेकाको लागि जिज्ञासाको विषय बनिरहेको छ ।

आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने विशेषताका कारण लामिछानेले हिरासत बसाइ नछाडेको सो पार्टीका केन्द्रीय सदस्य दीपक बोहोरा बताउँछन् ।

‘चिकित्सकले ब्लडप्रेसर १७०/११० छ, अस्पतालमा भर्ना हुनुस् भनेर सुझाव दिँदासमेत उहाँ मान्नुभएन। बिरामी शरीर लिएरै न्याय र सत्यका लागि अडिग हुनुहुन्छ,’ बोहोराले सामाजिक सञ्जालमा लेखेका छन्, ‘यही हो वास्तविक नेतृत्वको सार१ आफ्नो सुविधा नहेर्ने, गाह्रो परेको बेला पनि नलुक्ने र हरेक समस्यासँग साहसका साथ जुध्ने – यही हो उहाँको विशेषता। अरूभन्दा फरक—केवल बोल्ने र देखाउने मात्र होइन, सत्यलाई जीवन्त रूपमा जिइरहने व्यक्तित्व। यही विशेषता नै उहाँको साँच्चैको शक्ति हो ।’

कहिलेसम्म रहलान् हिरासत ?

गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ परेका लामिछानेलाई गोरखा मिडिया रकम सारिएका सबै सहकारीमा लगेर बयान लिइसकिएको छ । बयान सकिएकाले प्रहरीले अब भने रायसहितको फाइल बझाउने तयारी गरेको छ ।

स्रोतका अनुसार, बयानमा जस्तै मुद्दा दायर गर्दा पनि रविलाई पाँच वटै जिल्ला पु–याउने योजना प्रहरीले बनाएको छ । अदालतबाट पुर्पक्षका लागि थुनामा पठाउने आदेश नभएको खण्डमा लामिछानेको हिरासत बसाइ केही दिन लम्बिनेछ ।