सर्वेन्द्र खनालद्वारा एमाले परित्याग
काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षकबाट अवकाशसँगै नेकपा एमाले प्रवेश गरेका सर्वेन्द्र खनालले सो पार्टी परित्याग गरेका छन् ।
आइतबार बिहान सामाजिक सञ्जालमा एक पोस्ट् गर्दै खनालले आफू कुनै पनि राजनीतिक दलमा आबद्ध नरहेको प्रष्ट पारेका हुन् ।
‘हजुरहरू मेरो राजनीतिक स्थितिबारे अन्योलमा परेको महसुस गरेर म यसै माध्यमबाट यसलाई स्पष्ट पार्न चाहन्छु कि म अहिले कुनै पनि राजनीतिक पार्टीसँग आबद्ध छैन,’ खनालले सामाजिक सञ्जालमा लेखेका छन् ।
एमालेसँग आबद्ध नरहे पनि स्थानीय र राष्ट्रिय समस्यालाई समाधान गर्न स्वतन्त्र रूपमा काम गरिरहेको उनले बताएका छन् ।
राष्ट्रघाती दोषीहरूलाई कानूनी कठ्घरामा पु¥याउन र राष्ट्रलाई महान् बनाउन आफ्नो प्रयास जारी रहने प्रतिबद्धता पनि खनालले व्यक्त गरेका छन् ।
२०७४ चैतदेखि २०७६ माघसम्म नेपाल प्रहरीको महानिरीक्षक रहेका खनाल त्यहाँबाट अवकाश भएपछि एमालेसँग निकट रहेकोमा ६ असोज ०७९ मा औपचारिक रूपमै एमाले प्रवेश गरेका थिए । एमालेले ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं–६ र पछि तनहुँ–१ मा सम्पन्न उपनिर्वाचनमा उनलाई पार्टीको तर्फबाट उम्मेदवार बनाएको थियो । तर दुवै निर्वाचनमा उनी पराजित हुन पुगे ।
एमालेमा लामो समयदेखि योगदान दिएका नेतालाई पछि पार्दै प्रतिनिधिसभा निर्वाचनमा दुई–दुई पटक टिकट हात पारेका उनी केही समययता भने निष्क्रय थिए ।
प्रतिक्रिया