NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ फागुन ४ गते

अध्यादेशबाट देश चलाउन खोज्नु निरंकुशताको वान स्टेप : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइरालाले अध्यादेशमार्फत देश चलाउने कदम उठाएर सरकारले निरंकुशताको बाटो समातेको आरोप लगाएका छन् ।

राम्रो कामका लागि अध्यादेश जारी गरिएको भनी सरकार र सत्तासाझेदार दलका कतिपय नेताले बचाउ गरिरहेका बेला सत्तारुढ दल कांग्रेसका प्रभावशाली नेता कोइरालाले त्यसप्रति असन्तुष्टि जाहेर गरेका हुन् ।

उनले संसदबाट कानून बनाउन छाडेर अध्यादेशको बलमा देश चलाउन थाल्नु निरंकुशताको एक कदम भएको टिप्पणी गरे ।

‘अध्यायदेशबाट देश चलाउनु निरंकुशताको वान स्टेप हो भन्ने चिन्ता लाग्छ । त्यो गर्नुहुन्न । त्यो गलत कुरा हो’ बुधबार विराटनगरस्थित कोइराला निवासमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले भने।

अध्यादेशमा के विषयवस्तु समेटिएको छ भन्दा पनि कुन बाटो समातिएको छ भन्ने कुरा महत्त्वपूर्ण भएको उनले बताए । सरकार र सत्तारूढ दलका कतिपय नेताले अध्यादेशको विषयवस्तु सही भएकाले यसको विरोध गर्न नहुने तर्क अघि सार्दै आएका छन् । कांग्रेसका महामन्त्री गगन थापा स्वयंले असलनियतका साथ अध्यादेश ल्याइएकाले यसको विरोध गर्न नहुने बताइसकेका छन् ।

‘अहिले ल्याइएको अध्यादेश राम्रै छ । तर बाटो सही भएन । संसद् बोलाएर त्यसलाई अघि बढाउनु पथ्र्यो,’ उनले भने ।

मुलुक चल्नै नसक्ने स्थितिमा मात्र संविधानको प्रावधानबमोजिम अध्यादेश ल्याउनुपर्नेमा त्यसको दुरूपयोग भएको उनले टिप्पणी गरे ।

‘देश चल्नै नसक्ने स्थितिमा अध्यादेश ल्याउने हो,’ उनले भने, ‘संविधानमा पनि त्यही लेखिएको छ । सरकारले त्यसको भावनाविपरीत काम ग¥यो ।’

दुई ठूला दल मिलेर बनेको शक्तिशाली सरकारले संविधानको असल अभ्यास गर्नुपर्नेमा गलत गरेको भन्दै उनले चिन्ता जाहेर गरे ।

सरकारले गत पुसमा व्यावसायिक वातावरण निर्माण गर्ने, सहकारी पीडितलाई न्याय दिने, भूमिहीनलाई जग्गा उपलब्ध गराउने नाममा ६ वटा अध्यादेश ल्याएको थियो । ती सबै राष्ट्रपतिबाट जारी भएर राजपत्रमा प्रकाशित भएपछि विपक्षी दललगायतले संविधानविपरीत अध्यादेश ल्याएको भन्दै असन्तुष्टि जनाइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष