NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

नेपाल प्रहरीका १८ एसएसपी र १७ एसपीको सरुवा

हालै बढुवा भएका २५ एसएसपीले पनि पाए जिम्मेवारी

काठमाडौं । नेपाल प्रहरीले ३५ प्रहरी अधिकारीहरूको सरुवा गरेको छ । त्यसैगरी हालै बढुवा भएका २५ एसएसपीको पनि पदस्थापन गरिएको छ ।

गृह मन्त्रालयले मन्त्रीस्तरीय निर्णय लिँदै १७ प्रहरी उपरीक्षक (एसपी) र १८ वरिष्ठ प्रहरी उपरीक्षक (एसएसपी) को सरुवा तथा २५ एसएसपीको पदस्थापन गरेको हो ।

माघ ११ गतेको गृहमन्त्रीस्तरको निर्णयबाट ३५ प्रहरी अधिकारीको सरुवा गरिएको नेपाल प्रहरीको मानव स्रोत विकास विभागले जनाएको छ ।

एसपीतर्फ अपिलराज बोहोरा, एकनारायण कोइराला, कमल थापा, कुमोध ढुंगेल र दुर्गाराज रेग्मीलाई नयाँ जिम्मेवारी दिएर पठाइएको छ ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, वीरेन्द्रनगरमा कार्यरत बोहोरालाई जिल्ला प्रहरी परिसर काठमाडौंमा ल्याइँदा मानव बेचबिखन तथा अनुसन्धान ब्युरो, मानव बेचबिखन अनुसन्धान शाखामा कार्यरत कोइरालालाई जिल्ला प्रहरी कार्यालय, इलाम पठाइएको छ । अख्तियारमा कार्यरत थापालाई नेपाल पहरा गण, सामाखुसी, जिल्ला प्रहरी कार्यालय, पर्सामा कार्यरत ढुंगेललाई नेपाल प्रहरी प्रधान कार्यालय सुपरिवेक्षण तथा अनुगमन महाशाखा नक्सालमा काज सरुवा गरिएको छ ।

ढुंगेलको ठाउँमा भने मानव बेचविखन अनुसन्धान ब्युरो, अनुसन्धान व्यवस्थापन शाखाका गौतम मिश्रलाई पठाइएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडामा कार्यरत दुर्गाराज रेग्मी, काठमाडौं उपत्यका प्रहरी कार्यालय अन्वेषण योजना तथा विकास शाखामा कार्यरत नरहरि रेग्मी, जिल्ला प्रहरी परिसर ललितपुरमा कार्यत नवरत्न पौडेल , काठमाडौं उपत्यका प्रहरी कार्यालय, इन्टेलिजेन्स शाखामा कार्यरत प्रजित केसीलगायत अधिकारीको पनि सरुवा भएको छ ।

प्रहरी वरिष्ठ उपरीक्षकतर्फ ओमबहादुर राना, गंगा पन्त, दीपककुमार बस्नेत, दीपक रेग्मी, दीपेन्द्र घर्ती क्षेत्री, नान्तीराज गुरुङ, वसन्त रजौरे र विश्व अधिकारीको सरुवा गरिएको छ । प्रहरी प्रधान कार्यालय अनुसन्धान विभागमा कार्यरत भूपेन्द बहादुर खत्रीलाई नेपाल प्रहरी शिक्षालय भरतपुर पठाइँदा लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा कार्यरत माधवप्रसाद श्रेष्ठलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय अन्तर्गतकै बुटवल तालिम केन्द्रको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी, एसपीबाट एसएसपीमा बढुवा भएका अधिकारीहरूलाई पदस्थापन गर्ने निर्णय पनि गृहले लिएको छ । एसएसपीमा हालै बढुवा भएका रमेश थापा, अजय केसी, अनुपम शमशेर जवरा, वीरबहादुर बुढामगर, नवराज अधिकारीलगायत २५ एसएपसीलाई गृहले नयाँ जिम्मेवारी दिएको हो ।