NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख ५ गते

सहकारी ठगी आरोपमा एमाले नेता पक्राउ

काठमाडौं । सहकारी ठगीको आरोपमा एमालेका एक नेतासहित पाँच जना पक्राउ परेका छन् ।

म्याग्दीको बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम ठगी गरेको आरोपमा एमाले नेतासमेत रहेका जिल्ला समन्वय समिति, म्याग्दीका प्रमुख राजकुमार थापासहित पाँच पक्राउ परेका हुन् ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीले थापासहित मनप्रसाद थजाली, थमबहादुर गर्बुजा, रुद्रबहादुर गुरुङ र देवीकुमारी थापा सहकारीको रकम ठगी गरेको आरोपमा पक्राउ परेको जनाएको छ ।

गण्डकी प्रदेश सहकारी रजिष्ट्रारको कार्यालयले गत वर्ष गरेको अध्ययनबाट थापासहितका व्यक्तिको मिलेमतोमा उक्त सहकारीको एक अर्ब ४९ करोड रूपैयाँ बचत हिनामिना गरेको निचोड निकालेको थियो । थापासहितको समूहले ऐनविपरीत बिनाधितो १६ करोड निजी विद्यालयमा र १८ करोड घरजग्गा खरिदमा खर्च गरेको थियो । त्यसको एक वर्षपछि प्रहरीले उनीसहित संलग्न व्यक्तिलाई नियन्त्रणमा लिएर कारबाही प्रक्रिया अघि बढाएको हो ।

पक्राउ परेका थापा सहकारीका पूर्वउपाध्यक्ष हुन् । त्यसैगरी, थजाली र गर्बुजा पूर्वअध्यक्ष, गुरुङ प्रबन्धक र देवकुमारी कोषाध्यक्ष हुन् ।

आइतबार पक्राउ परेका उनीहरूमाथि अनुसन्धानका लागि समय माग गर्दै प्रहरीले आइतबार नै अदालतमा उपस्थित गराएको थियो । अदालतले प्रहरीलाई तीन दिनको समय उपलब्ध गराएको छ ।

जिल्ला प्रहरी कार्यालय, म्याग्दीले थापासहितका नेतामाथि लागेको अभियोगबारे अनुसन्धान भइरहेको बताएको छ ।