NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ वैशाख २६ गते

एमालेनिकट कर्मचारी संगठनमा नयाँ नेतृत्वका लागि रस्साकस्सी

दाहालले सहमति खोज्दा गौतम चुनावको पक्षमा

काठमाडौं । नेकपा (एमाले) निकट नेपाल निजामती कर्मचारी संगठनको १२औं महाधिवेशन संघीय राजधानी काठमाडौंमा  सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमबीच महाधिवेशन उद्घाटन गरेका हुन् ।

दुई दिनसम्म चल्ने महाधिवेशनको बन्दसत्र सुरु भएको पहिलो दिन बुधबार नै अध्यक्ष लेखनाथ कोइराला र कोषाध्यक्ष गणेशप्रसाद आचार्यले क्रमशः सांगठनिक र आर्थिक प्रतिवेदन प्रस्तुत गरिसकेका छन् । नेताहरूका अनुसार बिहीबार ती प्रतिवेदनहरूमाथि छलफल गरेर पास गर्ने कार्यसूची  छ ।

प्रतिवेदन पास भएपछि नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने सो संगठनका नेताहरूले बताएका छन् ।

नयाँ नेतृत्वमा रस्सकस्सी

नेकपा (एमाले) आफ्नो दलनिकट कर्मचारी संगठनको नेतृत्व सर्वसम्मत ढंगले होस् भन्ने पक्षमा छ । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार महाधिवेशन उद्घाटन गर्दै सर्वसम्मत नेतृत्व चयन गर्न निर्देशन दिइसकेका छन् ।

पार्टी नेतृत्वले निर्वाचन नहोस् भन्ने चाहे पनि नेतृत्वमा आकांक्षा राखेको एउटा पक्ष मतदान प्रक्रियाबाटै नयाँ नेतृत्व चयन हुनुपर्ने अडानमा छ । नेपाल निजामती कर्मचारी संगठनभित्रको एउटा खेमाको नेतृत्व गरिरहेका रेवन्त गौतम निर्वाचन प्रक्रियाबाट भावी नेतृत्व चयन गर्नुपर्ने पक्षमा उभिएका हुन् । सो संगठनको उपाध्यक्षको भूमिकामा रहेका गौतम यस पटक अध्यक्षका आकांक्षी छन् ।

गौतमले पेशागत हकहितको रक्षा, जनमुखी प्रशासन, ट्रेड युनियन अधिकारलाई आफ्नो मुख्य एजेण्डा बनाएका छन् ।

उता, संगठनको उपाध्यक्षकै भूमिकामा रहेकी भवानी दाहालले पनि अध्यक्षमा रुचि देखाएकी छन् । संगठनको पहिलो महिला अध्यक्ष बनेर इतिहास रच्ने ध्याउन्नमा रहेकी दाहालले पनि गौतमले जस्तै पेशागत हकहित, ट्रेड युनियन अधिकारको रक्षालगायतलाई मूल एजेण्डा बनाएकी छन् । तर दाहाल निर्वाचनबाट भन्दा पनि सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने पक्षमा उभिएकी छन् । सर्वसम्मत ढंगले नेतृत्व चयन होस् भन्ने भावना कर्मचारीको रहेकाले त्यसको सम्मान गर्नुपर्ने उनको मत छ ।

गौतमको मत भने फरक छ । प्रजातान्त्रिक ढंगले निर्वाचनमार्फत नेतृत्व चयन गर्दा न्यायपूर्ण हुने भएकाले त्यसलाई अवलम्बन गर्नुपर्ने उनको भनाइ छ । स्रोतका अनुसार, कर्मचारी संगठनभित्र गौतमको पकड बलियो छ । सहमतिमा भागबण्डा गर्दा नोक्सानमा पर्ने भएकाले निर्वाचन प्रक्रियाबाटै नयाँ कार्यसमिति चयन होस् भन्ने गौतमले चाहेका छन् ।

निर्वाचन भएको स्थितिमा परिणाम आफ्नो पक्षमा पर्ने सम्भावना क्षीण भएकाले दाहाल निर्वाचनदेखि डराएको राष्ट्रियसभागृह परिसरमा चर्चा छ । आकांक्षीहरूमध्ये एउटा पक्ष निर्वाचन र अर्को पक्ष सर्वसम्मत गर्नुपर्ने लाइनमा उभिएकाले एमालेनिकट कर्मचारी संगठनको नयाँ नेतृत्व चयन प्रक्रिया पेचिलो बनेको छ ।

सर्वसम्मत नेतृत्व चयनको सम्भावना नरहेकाले निर्वाचन हुने करिब पक्काजस्तै भएको सो संगठनका एक नेताले बताए ।

‘सर्वसम्मत हुन सबै पक्ष तयार हुनुपर्छ, तर त्यसको सम्भावना निकै कम देखिएको छ,’ नेपाल निजामती कर्मचारी संगठनका एक नेताले भने, ‘त्यसैले अन्तिममा निर्वाचन प्रक्रियाबाटै नेतृत्व चयन हुनेछ ।’

कसको होला पल्लाभारी ?

संगठनको उपाध्यक्षको भूमिका निर्वाह गरिसकेका गौतम कुनै पनि हालतमा नेतृत्वमा पुग्ने मनस्थितिमा छन् । सर्वसम्मतिका आधारमा गर्दा पनि वरिष्ठतालाई ख्याल गर्नुपर्ने उनको भनाइ छ । उता, सर्वसम्मत ढंगले नेतृत्व चयन हुनुपर्ने पक्षमा रहेकी दाहाल स्वयं पनि अरूका लागि पछि हट्ने सोचमा छैनन्, आफ्ना लागि मात्र सर्वसम्मतको कुरा गरिरहेकी छन् । दुवै पक्ष कुनै पनि हालतमा नेतृत्व हत्याउने दाउमा देखिएकाले निर्वाचन बाहिरबाट निकास निस्कने देखिँदैन ।

नेतृत्वमा आफ्नो औचित्य स्थापित गर्न दुवैले संगठनमा आफ्नो पकड रहेको बताउने गरेका छन् । गौतम कर्मचारी हकहितमा क्रियाशील गरेकाले रोजाइमा पर्नेमा ढुक्क छन् भने दाहाल अहिलेसम्म महिलाले अवसर नपाएकाले इतिहास रच्न साथ सहयोग मिल्ने आशमा छिन् । कर्मचारी हकहितका लागि लामो समयदेखि क्रियाशील रहँदै आएको र एजेण्डा पनि उम्दा भएकाले साथ मिल्ने विश्वास पनि  उनले पालेकी छन् ।

 

नेपाल निजामती कर्मचारी संगठन र ट्रेड युनियनको औचित्य