दाताको पैसामा हिन्दूधर्मविरुद्ध प्रचार गरेको आरोपको मदनकृष्ण र हरिवंशद्वारा खण्डन

काठमाडौं । वरिष्ठ हास्यव्यंग्य कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यले ‘युएसएडसँग आर्थिक सहयोग लिएर हिन्दू धर्मविरुद्ध प्रचार सामग्री बनाएको’ आरोपको खण्डन गरेका छन् ।
हास्यकलाकारद्वय श्रेष्ठ र आचार्यले बिहीबार बिहान एक भिडियो सन्देश जारी गर्दै सामाजिक सञ्जालमार्फत पछिल्लो केही समययता लगाइएको आक्षेपको भद्र प्रतिवाद गरेका हुन् ।
हास्यकलाकार मदनककृष्ण श्रेष्ठले आफूहरूले हिन्दूधर्मविरुद्ध कुनै पनि सामग्री नबनाएको उल्लेख गर्दै हितैषीहरूले लगाएको आरोपले चित्त दुखेको बताए । संसारमा राम्रा, नराम्र दुवैथरी कुरा हुने र आफूहरू सधैं राम्रो कुरा छनोट गरेर अघि बढेको उनको भनाइ छ ।
‘संसारमा राम्रा र नराम्रा दुवै किसिमका कुरा छन् । हामी सधैं राम्रो कुरा छानेर मात्र अघि बढेका छौं,’ श्रेष्ठले भने, ‘हितैषीहरूले नै यस्तो आरोप (युएसएडको पैसा खाएर हिन्दूधर्मविरुद्ध प्रचार गरेको) लगाउँदा चित्त दुखेको छ ।’
मदनकृष्ण श्रेष्ठसँग लामो समयदेखि सहकार्यरत हरिवंश आचार्यले आरोपको खण्डन गर्दै कुनै पनि धर्मको पक्ष र विपक्षमा प्रचार नगरेको प्रष्ट पारे । उनले आफूहरूविरुद्ध गरिएका प्रचारलाई अनर्गलको संज्ञासमेत दिए ।
‘हामीले न सनातन हिन्दू धर्म, बुद्ध धर्म वा अरू कुनै पनि धर्मको विरोध गरेका छैनौं न अर्को धर्म लिनुपर्छ भनेर उकासेका छौं,’ आचार्यले भने, ‘हामीविरुद्ध जे जति प्रचारबाजी भइरहेका छन्, यी सबै अनर्गल हुन् ।
आचार्यले आफूहरूमाथि लाञ्छना लगाउनुअघि युट्युवमा उपलब्ध आफ्ना सामग्री हेर्न पनि सबैलाई आग्रह गरेका छन् ।
पण्डितमाथि व्यंग्य गरिएको विषयलाई अनावश्यक उछालिएको भन्दै उनले सबै किसिमका पेशाकर्मीमाथि कलाकारले व्यंग्य गर्न सक्ने बताए ।
‘पण्डित हुँदैमा भगवान् हुँदैन । म पनि पण्डितकै छोरो हुँ । व्यंग्य पण्डित, नेता, पुलिस, डाक्टर, वकिल सबैलाई गर्न पाइन्छ,’ उनले भने । पण्डितबारे गरिएको व्यंग्यको टुक्रा मात्र राखेर महले सनातन हिन्दूधर्मको विरोध गरे भन्ने आरोप लगाइएको उनको भनाइ छ ।
पछिल्लो केही दिनयता सामाजिक सञ्जालमा लेखक तथा कलाकारको तस्बिर टाँस्दै उनीहरूले यूएसएडबाट आर्थिक सहायता लिएर हिन्दूधर्म, संस्कृतिविरुद्ध प्रचार गरेको लाञ्छना लगाइएको छ । बिना प्रमाण सामाजिक सञ्जालमा लाञ्छना लगाउने क्रम तीव्र बनेपछि लेखक तथा कलाकारहरूले त्यसको खण्डन गर्दै सत्य तथ्य बुझेर मात्र आरोप लगाउन आग्रह गरेका छन् ।
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया