NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

ठोरीको नमुना फार्म डुब्यो, सञ्चालक फरार, २०१ गाईको कन्तबिजोग

काठमाडौं । पर्सा जिल्लाको ठोरी गाउँपालिका–५ स्थित सुवर्णपुरमा ६ वर्षअघि निकै महत्त्वकांक्षी लक्ष्यका साथ कलश क्याटल फार्म सञ्चालनमा ल्याइएको थियो । १४ बिघा क्षेत्रफलमा फैलिएको फार्ममा १ हजार ५०० गाई पु–याउने लक्ष्य राखिएको थियो ।

केही वर्ष उक्त फार्म राम्रोसँग सञ्चालन भएको थियो । दैनिक १ हजार ५०० सम्म दूध उत्पादन भएको थियो । उत्पादित दूध आफ्नै उद्योगबाट बिक्री वितरण भइरहेको थियो । फार्म सञ्चालन हुँदा दर्जनौंले रोजगारीसमेत पाएका थिए । तर अहिले यही फार्मको दुर्गति भएको छ । बैंकबाट लिएको ऋणको सावा ब्याजसहित पुगेको ४४ करोडको आर्थिक दायित्वलाई लिएर सञ्चालकबीच मनमुटाव भएपछि सम्भावना बोकेको फार्ममा गम्भीर समस्या देखापरेको हो ।

फार्मका सञ्चालकत्रय केही दिनदेखि सम्पर्कविहीन हुँदा त्यहाँ रहेका २०१ गाईको कन्तबिजोग भएको छ । त्यहाँ पालिएका गाईले ५ दिनदेखि पानीसमेत खान पाएका छैनन् । आहारा र पानी नपाउँदा गाईहरू कुपोषित बनेका छन् भने कतिपय यही कारण मर्ने अवस्थामा पुगेका छन् ।

६ वर्षअघि नबिल बैंक र ज्योति विकास बैंकसँग ऋण सहयोग लिएर १४ बिघा क्षेत्रफलमा १ हजार ५ सय क्षमताको गाई फार्म सञ्चालनमा ल्याइएको थियो । इजरायली प्रविधि पछ्याएर सञ्चालन गरिएको फार्मले सुरुवातमा निकै राम्रो गरेको भए पनि सञ्चालकहरू ई. श्याम वदन यादव, ईश्वर जोशी र गुरु भट्टबीचको मनमुटावका कारण समस्या आएको हो ।

 

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले सञ्चालकत्रयको आन्तरिक कलहका कारण फार्ममा रहेका गाईहरू अलपत्र परेको बताए ।

‘सञ्चालकहरू जिम्मेवारीबाट पन्छिएर सम्पर्कविहीन हुँदा फार्ममा रहेका गाईहरू आहारा र पानीसम्म नपाएर मर्ने अवस्थामा पुगेका छन्,’ उनले भने ।

सञ्चालकहरूको दायित्वबाट विमुख बनेर सम्पर्कविहीन बनेपछि त्यहाँ पालिएका गाईहरूले पाँच दिनदेखि पानीसमेत खान पाएका छैनन् । यसअघि नियमित पानी उपलब्ध भइरहेकोमा बिजुलीको बिल नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले लाइन काटिदिएपछि त्यसको समेत आपूर्ति बन्द भएको हो । यद्यपि, अहिले भने प्रदेश सरकार र स्थानीय सरकारको पहलमा विद्युत्को लाइन जोड्न लगाएर पानीको आपूर्ति गरिएको छ ।

फार्मका हेरालुहरूका अनुसार आहारा र पानीको अभावमा कतिपय गाई उठ्नै नसक्नेगरी थलिएका छन् । फार्ममा दुहुना, गर्भवती, भर्खरै ब्याएका, बाच्छाबाच्छीलगायत २०१ गाई छन् । सुत्केरी गाई उठ्न नसकेपछि बाच्छाबाच्छीलाई दूध खुवाउन समस्या भएको हेरालुको भनाइ छ ।

सञ्चालकको आपसी मनमुटावका कारण फार्ममा रहेका गाई समस्यामा परेको जानकारी पाएपछि सहायता उपलब्ध गराउन फार्ममा पुगेका एसोसिएसन अफ भेटेरिनरी प्राक्टिस्नरका डा. अविनाश ठाकुरले आवश्यक मात्रामा आहारा तथा पानी नपाउँदा त्यहाँ रहेका गाईहरू विभिन्न रोग र कुपोषणको चपेटामा परेको बताए । अत्यन्त दयनीय अवस्थामा रहेका फार्मका गाईहरू भोक, तिर्खा र रोगका कारण मरिरहेको उनको भनाइ छ ।

बिरामी, कमजोर र गर्भवती अवस्थामा रहेका त्यहाँका गाईहरूको विशेष हेरचाह गर्नुपर्ने खाँचो रहे पनि त्यसतर्फ चासो नगएको उनले गुनासो गरे ।

‘फार्ममा रहेका गाईलाई आवश्यक मात्रामा आहारा तथा पानी उपलब्ध नहुँदा कुपोषण, विभिन्न रोगहरू लागेको छ,’ डा. ठाकुरले भेट टाइम्ससँग भने, ‘दयनीय अवस्थामा रहेका, कमजोर, बिरामी र गर्भवती गाईलाई विशेष हेरचाहको आवश्यकता छ । तर दुर्भाग्य उपचारको कुनै व्यवस्था छैन ।’

फार्ममा ५ हेरालु रहे पनि सञ्चालकले उनीहरूलाई समेत केही महिनादेखि तलब दिएका छैनन् । फार्मका सञ्चालकले गाईका लागि आवश्यक आहारा उपलब्ध नगराउँदा नसोचेको अवस्था आएको हेरालुहरूले बताएका छन् । यसबारे जानकारी गराउन सञ्चालकलाई टेलिफोन गर्दा सम्पर्कमा नआउने गरेको उनीहरूको भनाइ छ ।

व्यवस्थापक परिवर्तनपछि समस्या

६ वर्षअघि सञ्चालन आएको फार्मको व्यवस्थापनको जिम्मेवारी ९ महिनाअघिसम्म इन्जिनियर श्याम वदन यादवले सम्हाल्दै आएका थिए । त्यतिबेलासम्म भेटेरिनरी चिकित्सक, प्राविधिकलगायत सबै प्रबन्ध गरिएको थियो । त्यहाँ कार्यरत सबैले नियमित तलब पाइरहेका थिए । हेरालुहरूका अनुसार, उनको कार्यकालमा फार्मले दैनिक १ हजार ५०० लिटरसम्म दूध बिक्री गरिरहेको थियो ।

९ महिनाअघि फार्ममा व्यवस्थापकीय हेरफेर भयो । यादवले गरिआएको व्यवस्थापकीय कार्य ईश्वर जोशीले लिए । जानकारहरूका अनुसार, यादव बाहिरिएपछि नै फार्मको दुर्दशा सुरु भएको हो ।

फार्म सञ्चालनका लागि नबिल बैंक र ज्योति विकास बैंकले ३४ करोड लगानी गरेकोमा व्याजसहित ४४ करोड पुगेको छ । फार्मको थाप्लामा रहेको यही ऋण नै पछिल्लो परिस्थितिको कारक रहेको जानकारहरू बताउँछन् ।

हस्तक्षेप गर्ने तयारीमा प्रदेश र स्थानीय सरकार

सञ्चालकको झगडाले फार्ममा रहेका गाई अलपत्र परेपछि मधेस प्रदेश सरकार र ठोरी गाउँपालिकाले हस्तक्षेपको तयारी अघि बढाएका छन् ।

मधेस प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री जनार्दश सिंह क्षेत्रीले सञ्चालकलाई छलफलमा बोलाइएको जानकारी दिँदै समस्या समाधान नभए फार्मका गाई किसानलाई पाल्न दिइने बताए ।

ठोरी गाउँपालिकाका अध्यक्ष लालबहादुर श्रेष्ठले पनि स्थानीय तहले हस्तक्षेप गरेरै भए पनि फार्ममा रहेका गाईलाई मर्न नदिने बताए । सञ्चालकलाई मिलाउनेतिर आफूहरूको पहिलो जोड हुने र त्यो सम्भव नभए किसानलाई पाल्न दिएर भए पनि समस्याको निकास निकालिने उनले बताए ।

सहयोगी मनद्वारा सहायता

सञ्चालक नै फरार भएपछि अलपत्र परेका गाईलाई विभिन्न संघ, संस्था तथा व्यक्तिहरूले आहारा तथा औषधि उपचारमा सहायता गरिरहेका छन् ।

एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनरले फार्ममा रहेका बिरामी गाईको उपचार गरेको छ । एसोसिएसनका डा. दिनेश तिवारी, डा. अविनाश ठाकुर र डा. सुवास झाको प्रत्यक्ष पहलमा घाइते तथा गर्भवती पशुहरूको उपचार गरिएको हो ।

यसक्रममा उभिन नसक्ने अवस्थाका गाईको लिफ्टरको सहायताले उपचार गरिएको थियो ।

एसोसिएसनका डा. ठाकुरले ठोरी गाउँपालिकाको समन्वय, भेटेरिनरी म्यानकाइन्डको प्रायोजन र अनिल कुमार पटेलको औषधि व्यवस्थापनमा फार्मका बिरामी पशुको उपचार गरिएको जानकारी दिए ।

एसोसिएसनले उपचारका अतिरिक्त गाईहरूका लागि आवश्यक आहार, भिटामिन, खनिज पदार्थ तथा सलाइनको व्यवस्था पनि गरेको छ । कुखुरा व्यवसायी लखु साह तेली र रमायोध्या कुमार कलवारले गाईहरूका लागि खाद्य सामग्रीको व्यवस्थापन गरिदिएको डा. ठाकुरले जानकारी दिए ।

तस्बिर सौजन्य : डा. अविनाश ठाकुर