४४ करोड लगानीमा सञ्चालित फार्मका सञ्चालक सम्पर्कमा आए, प्रशासनको चेतावनीपछि फर्किए फार्म

काठमाडौं । पर्साको ठोरी गाउँपालिका–५, सुवर्णपुरस्थित कलश क्याटल फार्मका सञ्चालकले आफूहरूबाट गल्ती कमजोरी भएको स्वीकार गर्दै गाईहरूको नियमित रेखदेख गर्ने प्रतिबद्धता जनाएका छन् ।
ठोरी गाउँपालिकाले आइतबार राखेको छलफलमा उपस्थित हुँदै उनीहरूले फार्मको जिम्मेवारी लिएर गाईहरूको रेखदेख गर्ने प्रतिबद्धता जनाएका हुन् ।
ठोरी गाउँपालिकाको न्यायिक समितिले फार्मका तीन सञ्चालक आइतबार आफूहरूको सम्पर्कमा आएको र आफूहरूको चेतावनीपछि जिम्मेवारी लिन तयार भएको जनाएको छ ।
न्यायिक समितिमा भएको छलफललगत्तै आइतबार नै फार्मका तीन सञ्चालक फार्ममा फर्किएका छन् ।
कलश क्याटल फार्मका सञ्चालकत्रय ईश्वरलाल जोशी, श्यामवदन यादव र गुरु भट्ट त्यहाँ रहेका २०१ गाई अलपत्र छाडेर सम्पर्कविहीन बनेपछि स्थानीयले उनीहरूउपर कारबाही माग गर्दै ठोरी गाउँपालिकाको न्यायिक समितिमा उजुरी दिएका थिए । त्यसपछि यसबारे अग्रसरता लिएको गाउँपालिकाले आइतबार सञ्चालकत्रयसहित, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका जिल्ला प्रमुखलगायतलाई समस्या समाधानका लागि छलफलमा बोलाएको थियो । पर्साका प्रमुख जिल्ला अधिकारी गणेश अर्याल, प्रहरी उपरीक्षक गौतम मिश्र, सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल, गाउँपालिका अध्यक्ष लालबहादुर श्रेष्ठ, उपाध्यक्ष गोकुली कुमारी रेग्मीलगायत सहभागी छलफलमा गाईहरू अलपत्र नपार्न सञ्चालकहरूलाई सचेत गराइएको थियो । छलफलका क्रममा गाईको रेखदेख गर्न चेतावनीयुक्त निर्देशन दिँदै अन्यथा फार्मका गाई किसानलाई वितरण गरिदिने र त्यसरी वितरित गाईको पालनपोषण खर्चसमेत सञ्चालकबाटै भराउने जानकारी गराइएको थियो । ठोरी गाउँपालिका छाडेर अन्यत्र सञ्चालकत्रयलाई अन्यत्र जान नदिने र प्रचलित कानूनअनुसार कारबाही प्रक्रिया अघि बढाउने चेतावनी पनि दिइएको थियो । त्यसपछि सञ्चालकहरू विवाद थाती राखेर फार्मको जिम्मेवारीमा फर्कन सहमत बनेका हुन् ।
फार्मका सञ्चालक श्यामवदन यादवले आफूहरूबाट कमजोरी भएको स्वीकार गर्दै फार्मलाई विगतकै अवस्थामा फर्काउने गरी आफूले जिम्मेवारी सम्हाल्ने प्रतिबद्धता जनाए ।
६ वर्षअघि सञ्चालन गरिएको एसियाकै दोस्रो ठूलो दाबी गरिएको फार्मको व्यवस्थापकीय जिम्मेवारी लामो समय श्यामवदनले सम्हालेका थिए । उनको कुशल व्यवस्थापकीय क्षमतामा फार्मले निकै राम्रो लय पक्डिएको पनि थियो । फार्मका कामदारहरूका अनुसार दैनिक १ हजार ५०० लिटरसम्म दूध उत्पादन भइरहेको थियो भने त्यहाँ कार्यरत कर्मचारीले पनि नियमित तलब पाइरहेका थिए ।
फार्मबाट उत्पादित दूध आफ्नै उद्योगमार्फत बिक्रीवितरण हुँदै आएकोमा ९ महिनाअघि फार्मको व्यवस्थापकीय जिम्मेवारी यादवबाट खोसेर ईश्वर जोशीले लिएका थिए । बैंकको स्वार्थमा आफूले सम्हालेको जिम्मेवारी जोशीलाई दिइएको आरोप यादवले लगाउँदै आएका छन् ।
बैंकबाट ३४ करोड ऋण लिएर सञ्चालन गरिएको फार्मको व्यवस्थापकीय जिम्मेवारीबाट यादव बाहिरिएको केही महिनापछि नै समस्या देखिएको थियो । त्यसपछि सञ्चालकहरू हेरालुलाई जिम्मा दिएर फार्ममा जानै छाडेका थिए ।
त्यहाँ कार्यरत कर्मचारीले पछिल्लो पाँच महिनादेखि तलबसमेत पाएका छैनन् भने गाईहरूसमेत दानापानी खानबाट वञ्चित भएका छन्।
ठोरी गाउँपालिका न्यायिक समितिका अनुसार, फार्मको गाईको दानापानी, कामदारको तलब र किसानको बक्यौता भुक्तानीका लागि सञ्चालकहरू ३० लाखको कोष खडा गर्न सहमत समेत भएका छन् । उक्त कोषमा तीनै जना सञ्चालकले बराबर १०–१० लाख रकम जम्मा गर्नेछन् ।
यसैबीच, फार्ममा रहेको एक गाईको मृत्यु भएको छ । दानापानी नपाएर कुपोषित अवस्थामा रहेको सुत्केरी गाईको आइतबार मृत्यु भएको हो ।
एसोसिएसन अफ भेटेरिनरी प्राक्टिसनरका डा. अविनाश ठाकुरले शनिबार आफूहरूले उपचार गरेकोमध्ये एउटा गाई मरेको जानकारी आएको बताए । फार्ममा रहेका अन्य गाई पनि उचित आहारको कमीले बिरामी अवस्थामा रहेको उनले जानकारी दिए ।
ठोरीको नमुना फार्म डुब्यो, सञ्चालक फरार, २०१ गाईको कन्तबिजोग – NepalWatch
ताजा अपडेट
-
वनमन्त्री शाही र भारतका वनमन्त्री यादवबीच भेटवार्ता
-
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ : रक्षामन्त्री राई
-
गाजामा हृदय रोग र क्यान्सरकको उपचार बन्द
-
एमालेले मदन-आश्रित स्मृति दिवस मनाउने
-
आउँदो बजेटमा शिक्षा र स्वास्थ्यलाई प्राथमिकता दिन सांसदहरूको माग
प्रतिक्रिया