प्रतिनिधिसभा बैठक : दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग
काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् ।
प्रतिनिधिसभाको आजको बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए । काभ्रेभञ्ज्याङमा आज भएको बस दुर्घटनाको विषय पनि उनले संसद्मा उठाए । यस्तै ज्येष्ठ नागरिकका लागि राष्ट्रिय परिचयपत्र बाध्यकारी नबनाउन र सम्बन्धित पालिकाबाटै राष्ट्रिय परिचयपत्र बनाउन मिल्ने व्यवस्था गर्न सांसद खतिवडाले संसद्मार्फत सरकारसँग माग गरे ।
यस्तै सांसद देवेन्द्र पौडेलले विभिन्न सडक दुर्घटनामा परेकाको निःशुल्क उपचार गर्न माग गरे । दुर्घटनामा कमी ल्याउन सडक सुरक्षा प्रभावकारी बनाउने र ट्राफिक नियमको पालनामा कडाइ गर्नुपर्ने उनको सुझाव छ । राति दुर्घटना हुँदा घाइतेको उद्धार गर्न राज्यसँग ‘नाइटभिजन’ हेलिकोप्टर नहुनु दुःखद भएको सांसद पौडेलको भनाइ छ ।
सांसद ज्ञानबहादुर शाहीले सरकारले अधिकांश स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत खटाउन नसकेको र कतिपय पालिकाका कर्मचारीले तलब पाउन नसकेको विषय संसद्मा उठाए । चालु आर्थिक वर्ष २०८१/८२ को बजेटमार्फत स्थानीय तहका लागि विनियोजन भएको वित्तीय समानीकरण अनुदान अर्धवार्षिक समीक्षापछि कटौती गरिएकामा उनले आपत्ति जनाए।
सांसद अनिता देवीले कर्मचारीलाई जनप्रतिनिधिले सहयोग नगरेको विषय संसद्मा उठाइन् । त्यस्तै, पाथीभरा क्षेत्रमा भएको विवादलाई समाधान गर्न सरकारले भूमिका खेल्नुपर्ने उनले बताइन्। सांसद लालवीर चौधरीले जङ्गली जनावरको आक्रमणबाट ज्यान गुमाउने र घाइते हुनेको सङ्ख्या दिनानुदिन बढिरहेको उल्लेख गर्दै उक्त समस्या समाधानका लागि पहल गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराए । राष्ट्रिय निकुञ्ज, वन क्षेत्र र भारतीय सीमा क्षेत्रमा जङ्गली जनावरको आक्रमण बढेको उनले बताए।
सांसद डा अमरेशकुमार सिंहले विभिन्न धार्मिक सम्प्रदायबीच वैमनस्यता उत्पन्न हुने र सामाजिक सद्भाव बिग्रिने गरी सामाजिक सञ्जालमा आउने अभिव्यक्तिमाथि निगरानी र नियन्त्रण आवश्यक रहेको बताए ।
ताजा अपडेट
-
सम्झौताअघि इरानको रोक्का सम्पत्ति रिहा नगर्ने राष्ट्रपति ट्रम्पको दाबी
-
प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रति मतदाता खर्च घट्दो
-
‘ब्यारेकजस्तै घर’, एकै परिवारका दर्जन सदस्य सुरक्षाकर्मी
-
स्वास्थ्य बिमा भुक्तानी सहज बन्दै, सरकारले एक सातामै २१७ अस्पताललाई पठायो १ अर्ब
-
नेपालमा म्यारिअट इन्टरनेसनल र सीजी हस्पिटालिटीबीच साझेदारी, दुई अल्ट्रा लक्जरी होटेल निर्माण हुने


प्रतिक्रिया