ट्रम्पले रोके युक्रेनलाई उपलब्ध गराउँदै आएको सैन्य सहायता

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्र्म्पले रुसविरुद्धको युद्धमा युक्रेनलाई उपलब्ध गराउँदै आएको सैन्य सहायता रोकेका छन् ।
ह्वाइटहाउसमा युक्रेनका समकक्षी भोलोदोमिर जेलेन्स्कीसँग नोकझोकपूर्ण संवाद भएको चार दिनपछि ट्रम्पले सबै सैन्य सहायता रोक्ने अपेक्षित कदम उठाएका हुन् ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार, यस्ताे घाेषणापछि युक्रेनतर्फ पठाइएका तर त्यहाँ पुगिनसकेका सामग्रीसमेत बाटैमा रोकिएका छन् ।
ह्वाइटहाउसका अधिकारीलाई उद्धृत गर्दै बिबिसीले युक्रेनलाई उपलब्ध गराउँदै आएको सैन्य सहायता अमेरिकाले रोकेको जनाएको छ । रुससँग जारी युक्रेन युद्ध हल गर्नमा आफूहरूको सैन्य सहायताले योगदान पुर्याइरहेको छ वा छैन भन्ने कुराको समीक्षा गर्न सहायता रोक्ने निर्णय लिइएको ती अधिकारीको भनाइ छ ।
‘हामी हाम्रो सहयोग रोकेर समीक्षा गर्दैछौं, यो समस्याको समाधानमा मद्दत गरिरहेको छ कि छैन भनेर हेर्न,’ ती अधिकारीको भनाइ छ ।
ह्याइटहाउसका अधिकारीले युक्रेन शान्तिका लागि तयार नभएसम्म यस्तो सहायता उपलब्ध नहुने पनि स्पष्ट पारेका छन् ।
अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सबै प्रकारका सैन्य सहायता रोक्ने निर्णयले शान्ति वार्ताको ढोका खोलेको बताएका छन् ।
रुसविरुद्धको युद्धमा युक्रेनलाई सबैभन्दा बढी सहायता उपलब्ध गराउने मुलुक अमेरिका हो । युद्ध सुरु भएदेखि नै उसले आर्थिकसहित हातहतियार तथा विभिन्न उपकरण सहायता गर्दै आइरहेको थियाे ।
ह्वाइटहाउसमा भएको नोकझोकपूर्ण संवादलगत्तै सहायता रोक्ने अमेरिकी घोषणाले युक्रेनलाई अप्ठ्यारोमा पारेको छ । यद्यपि, बेलायतका प्रधानमन्त्री स्टार्मरले रुस–युक्रेन युद्धका लागि चारबुँदे प्रस्ताव अघि सारेका छन् । तर त्यसका लागि पनि अमेरिकी सहयोग आवश्यक पर्नेछ । युरोपेली नेताहरूले अमेरिकाको सहयोगबिना शान्ति स्थापनाको ग्यारेन्टी गर्न नसकिने जनाइसकेका छन् । बेलायतमा हालै सम्पन्न बैठकमा युरोपेली नेताले अमेरिकालाई विश्वासमा लिएर काम गर्नुपर्ने खाँचो औंल्याएका हुन् । यस्ताे स्थितिमा याे प्रकरण कसरी अघि बढ्छ, यसै भन्न सकिने अवस्था छैन ।
प्रतिक्रिया