NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ २ गते

केपी ओली कपको फाइनलमा आयोजक एमाले आफैंले कुट्यो दर्शक (भिडियोसहित)

काठमाडौं । कुनै पनि कार्यक्रमका आयोजकको काम कार्यक्रमलाई व्यवस्थित र मर्यादित बनाउनु हो । उपस्थितहरूलाई सहयोग र सहायता उपलब्ध गराउन कतिपय कार्यक्रममा आयोजकले स्वयंसेवक समेत खटाएका हुन्छन् । आयोजक आफैंले आमन्त्रित व्यक्ति तथा दर्शकलाई कुटपिट गर्ने कुरा त अझ कल्पनासम्म पनि गर्न सकिँदैन ।

प्रधानमन्त्री केपी शर्मा ओलीको नाममा एमाले निकट युवा संघ नेपालले आयोजना गरेको केपी ओली कप फुटबलको फाइनलमा भने आयोजक आफैंले अशोभनीय हर्कत देखाउँदै दर्शकमाथि कुटपिट गरेका छन् ।

दशरथ रंगशाला त्रिपुरेश्वरमा सोमबार भएको फाइनल खेलमा युवा संघका कार्यकर्ताले प्यराफिटमा रहेका दर्शकमाथि गालीगलौज गर्दै कुटपिट गरेका हुन् ।

मच्छिन्द्र र आर्मी क्लबबीचको फाइनल खेल हेर्न पुगेका एक दर्शकले त्यसक्रममा प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओलीविरुद्ध नाराबाजी गरेका थिए । लगत्तै खेलको व्यवस्थापनमा खटिएका युवा संघका एक दुई कार्यकर्ताले ती युवकलाई गालीगलौज गर्दै आक्रमण गरेका हुन् ।

रातो खाता लगाएका युवा संघका दुई कार्यकर्ता युवकमाथि लाइलागेपछि दर्शकले ‘केही भन्न नहुने हो…’ भन्दै प्रतिवाद गरेको भिडियोमा देख्न सकिन्छ । तथापि, आक्रमणमा उत्रिएका युवा संघका कार्यकर्ता रोकिँदैनन् र ती युवकको कठालोमा समात्न पुग्छन् । अन्य दर्शकको सहयोगमा युवक फुत्किएर केही पर पुग्छन् । तर युवा संघका कार्यकर्ताको रिस मत्थर हुँदैन, बरु उनी रेलिङ नाघेर ती युवा नजिकै पुग्छन् र किक प्रहार गर्छन् । दर्शकले अगाडि, पछाडि दुवैबाट छेकेपछि भने बल्ल उनी हच्किन्छन् ।

यी घटना भइरहँदा नजिकै प्रहरी भए पनि हस्तक्षेप गरेको देखिँदैन । दर्शकलाई आक्रमण गर्ने युवा संघका कार्यकर्ता हच्किएपछि बल्ल पुगेको प्रहरी युवा संघका ती कार्यकर्तालाई केही नगरी उल्टै नाराबाजी गर्ने युवातिर लम्किएको भिडियो देख्न सकिन्छ ।

संविधानले सार्वजनिक व्यक्तिको विरोध र समर्थन गर्ने हक नागरिकलाई दिए पनि एमाले कार्यकर्ताले ज्यादति गरेको भन्दै सामाजिक सञ्जालमा यसको चर्को विरोध भइरहेको छ ।

यसबारे जानकारी लिन राष्ट्रिय युवा संघ नेपालका अध्यक्ष क्षितिज थेवेसँग सम्पर्क गर्दा स्थापित हुन सकेन ।

 

ताजा अपडेट

नेपालवाच विशेष