NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ १ गते

पूर्वराजाको स्वागत कार्यक्रममा आउन प्रधानमन्त्रीलाई ज्ञानेन्द्र शाहीको निम्ता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का संसदीय दलका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागतार्थ आइतबार आयोजना गरिएको कार्यक्रममा सहभागी हुन आग्रह गरेका छन् ।

जनताको इच्छा र आकांक्षालाई बन्देज नगर्न आग्रह गर्दै शाहीले प्रधानमन्त्रीलाई स्वागत कार्यक्रममा सहभागी हुन निम्ता दिएका हुन् ।

‘जनताको इच्छा र आकाङ्क्षालाई बन्देज गर्ने चेष्टा सरकारले नगरोस्। सम्माननीय प्रधानमन्त्रीज्यूलाई नै आज काठमाडौ एयरपोर्टमा गएर राजाको स्वागत गर्न हार्दिक अपिल र अनुरोध गर्दछ,’ शाहीले सामाजिक सञ्जालमा लेखेका छन् ।

पूर्वराजालाई स्वागत गर्न प्रधानमन्त्रीले लघुताभाष पाल्न नहुने उल्लेख गर्दै उनले कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्दा नेपालका राजालाई किन नहुने भन्ने प्रश्न समेत गरेका छन् ।

‘कतारका राजालाई प्रधानमन्त्रीज्यूले स्वागत गर्न हुने । नेपालका राजालाई स्वागत गर्न किन नहुने,’ शाहीको तर्क छ, ‘राजा सबैका साझा हुन् प्रधानमन्त्री र राष्ट्रपतिका पनि राजा हुन् ।’

गणतन्त्रमा प्रवेश गरेको १६ वर्षमा देश हरितन्नम भएको उल्लेख गर्दै उनले यसलाई ट्रयाकमा काम राजसंस्थाले मात्र गर्न सक्ने दाबी गरे ।
देशभित्र राजावादीहरूको सक्रियता ह्वात्तै बढेको छ । गत बुधबार मात्र राजाको समर्थनमा राजधानीमा बाइक –याली आयोजना गरेका राजावादीले आइतबार पोखराबाट काठमाडौं फर्कंन लागेका पूर्वराजा ज्ञानेन्द्र शाहीको पक्षमा प्रदर्शन गर्दैछन् ।

ताजा अपडेट

नेपालवाच विशेष