भारतद्वारा पाकिस्तानमा हमला, कम्तीमा ३० जनाको मृत्यु
ट्रम्पले गरे निन्दा, संयमित हुन राष्ट्रसंघको आग्रह

काठमाडौं । लामो समयदेखि शत्रुतापूर्ण सम्बन्धमा रहेका भारत र पाकिस्तान फेरि एक पटक आमनेसामने भएका छन् । यसक्रममा भारतले पाकिस्तानको भूमिमा सैन्य आक्रमण गरेको छ । यद्यपि, भारतले यो आक्रमणलाई पाकिस्तानविरुद्ध नभएर त्यहाँका आतंकवादी लक्षित गर्दै गरिएको जिकिर गरेको छ ।
भारतले पाकिस्तानका पाँच विभिन्न स्थान र उसद्वारा नियन्त्रित कश्मिर क्षेत्रमा मिसाइल आक्रमण गरेको हो । पहलगाममा आक्रमणको १५ दिनपछि भारतले मिसाइल प्रहार गरेर जवाफ फर्काएको हो ।
भारतीय सञ्चारमाध्यमहरूले पाकिस्तानका विभिन्न ९ स्थानमा आतंकवादीलाई लक्ष्य गर्दै भारतीय सेनाले आक्रमण गरेको उल्लेख गरेका छन् । समाचारअनुसार, पाकिस्तानको मुजफ्फराबाद, बाघ, गुलपुर, कोटली, भीमबेर, सियालकोट, मुरिदके, चक अमरु र बहावलपुरमा आक्रमण गरिएको हो । यद्यपि, पाकिस्तानले भने आफ्नो देशको पाँच स्थानमा भारतले आक्रमण गरेको बताएको छ । आक्रमणमा ३० जनाको ज्यान गएको बताइएको छ । जसमा महिला र बालबालिकाहरू पनि छन् ।
भारतीय सेनाले यो आक्रमणलाई ‘अपरेशन सिन्दुर’को नाम दिएको छ ।
‘यस अपरेशनमा पाकिस्तान र पाकिस्तानद्वारा कब्जा गरिएको कश्मिरमा रहेका आतंकवादी संरचनालाई निशाना बनाइएको छ, जहाँबाट भारतमाथि आतंकवादी हमलाको योजना बनाएर कार्यान्वयनमा ल्याइएको थियो,’ भारतले आक्रमणपछि भनेको छ । यद्यपि, पाकिस्तानले भने सर्वसाधारण मानिसहरूको बस्तीमा भारतले आक्रमण गरेको बताएको छ । उसले अन्तर्राष्ट्रिय मिडियालाई स्थलगत अध्ययन गरेर यसबारे रिपोर्टिङ गरिदिन पनि अनुरोध गरेको छ ।
‘भारतले दाबी गरेको छ कि आतंकवादीहरूलाई निशाना गरेर आक्रमण गरिएको हो । म अन्तर्राष्ट्रिय मिडियालाई आग्रह गर्छु कि ती सबै स्थानहरू आफैं आएर हेर्नुहोस् । ती आतंकवादी अखडा थिए वा नागरिक बस्ती,’ पाकिस्तानका रक्षामन्त्रीले भनेका छन् ।
भारतीय सेनाले सामाजिक सञ्जाल एक्समा पाकिस्तानले युद्धविराम उल्लंघन गरेकाले भारतले आक्रमणमार्फत त्यसको जवाफ फर्काएको उल्लेख गरेको छ ।
उचित जवाफ फर्काउँछौं: पाकिस्तान
भारतले आतंकवादी गतिविधिलाई लक्ष्य गर्दै आक्रमण गरेको बताए पनि पाकिस्तानी सरकारले यसप्रति आक्रोस व्यक्त गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्री शहबाज सरिफले भारतले लगाएको आरोपलाई मिथ्याको संज्ञा दिँदै मिसाइल आक्रमणलाई कायरता भनेका छन् । साथै उनले यसको उचित जवाफ दिने चेतावनी पनि भारतलाई दिएका छन् ।
‘भारतले पाकिस्तानमाथि कायरतापूर्वक आक्रमण गरेको छ । पाकिस्तानलाई यस युद्धकार्यको कडा जवाफ जवाफ दिइँदैछ,’ उनले सामाजिक सञ्जालमार्फत भनेका छन् । उनले भारतमाथि आक्रमण गर्ने अधिकार पाकिस्तानसँग रहेको पनि बताएका छन् ।
पाकिस्तान र यसको सेनालाई दुश्मनसँग गर्नुपर्ने व्यवहारबारे थाहा भएको र कुनै पनि हालतमा शत्रुको उद्देश्य पूरा हुन नदिने उनले बताए ।
विश्वका विभिन्न मुलुकहरूले भारतद्वारा पाकिस्तानमाथि गरिएको आक्रमणको निन्दा गरेका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय आक्रमणलाई लाजमर्दो भनेका छन् । ‘यो लाजमर्दो छ । यस्तो लडाइँ चाँडै सकियोस्,’ उनले यसबारे संक्षिप्त प्रतिक्रिया दिँदै भनेका छन् ।
संयुक्त राष्ट्रका महासचिव एन्टोनियो गुटेरेसले आफ्ना प्रवक्तामार्फत दुवै देशलाई संयमित रहन आग्रह गरेका छन् ।
प्रतिक्रिया