NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ जेठ ३ गते

तरुण दलको अधिवेशनमा खुकुरी प्रहार, घाइते ४ मध्ये २ को अवस्था गम्भीर

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन नेपाल तरुण दलको लमजुङ अधिवेशनमा खुकुरी प्रहार भएको छ । खुकुरी प्रहारबाट ४ जना घाइते भएकोमा २ को अवस्था गम्भीर छ ।

शनिबार जिल्ला अधिवेशनका क्रममा विवाद उत्पन्न हुँदा असन्तुष्ट पक्षले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट नगरपालिका–९ का वडाअध्यक्ष समेत रहेका तरुण दलका क्षेत्रीय सभापति खुसीजंग गुरुङ, नेपाली कांग्रेस, लमजुङका जिल्ला कार्यसमिति सदस्य किशोरजंग बस्नेत, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य सुदीप अधिकारी र नेपाल तरुण दलका सदस्य धन घले घाइते भएका छन् । घाइतेमध्ये खुसीजंग र सुवेदीको अवस्था गम्भीर छ । उनीहरूलाई थप उपचारका लागि चितवन रेफर गरिएको छ । स्रोतका अनुसार उनीहरूको टाउकोमा गम्भीर चोट लागेको छ ।

उक्त घटनामा घाइते अन्य दुई जनाको भने जिल्ला अस्पताल लमजुङमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बेसीसहर नगरपालिका–८ स्थित प्रगति टोल समूहको सभाहलमा आयोजना गरिएको अधिवेशनमा प्रतिनिधि छनोटमा रोक लगाइएको भन्दै गण्डकी प्रदेशका वन मन्त्रीसमेत रहेका भेषबहादुर पौडेलको समूहले विरोध गरेको थियो । त्यसपछि विरोधमा उत्रिनेहरूलाई अधिवेशनस्थलबाटै बाहिर पठाइएको थियो । लगत्तै गेटमा एक समूहले अन्धाधुन्ध खुकुरी प्रहार गरेको प्रत्यक्षदर्शीले जनाएका छन् । पौडेल समूहले संस्थापन पक्षको गलत कार्यशैलीको विरोध गर्दा ज्यान मार्ने मनसाय राखेर आफूहरूमाथि आक्रमण गरिएको जनाएको छ ।

अधिवेशनमा आपराधिक गतिविधि भए पनि प्रहरीले अहिलेसम्म त्यसमा संलग्नहरूलाई नियन्त्रणमा लिएको छैन । जिल्ला प्रहरी कार्यालय, लमजुङले जाहेरी प्रक्रिया अगाडि बढाएको जनाएको छ ।