गभर्नरको आश्वासन पाएर धोका खाएकाहरू
काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नरका लागि सत्तारुढ दल नेकपा (एमाले) र कांग्रेसबीच चलेको तानातानमा प्रा.डा. विश्वनाथ पौडेलले बाजी मारेका छन् ।
कांग्रेसका नेतासमेत रहेका, प्रतिनिधिसभा निर्वाचनमा चितवनबाट कांग्रेसको उम्मेदवार बनेर पराजित भएका पौडेल अर्थ मन्त्री विष्णु पौडेल संयोजकत्वको गभर्नर छनोट सिफारिस समिति सदस्य थिए । त्यसबाट राजीनामा गर्न लगाएर उनलाई गभर्नर बनाइएको हो । सिफारिस समितिका सदस्यलाई नै गभर्नर बनाइएपछि ‘लमीलाई नै बेहुला बनाइएको’ भन्दै आलोचना भइरहेको छ ।
डा. पौडेलको पोल्टामा गभर्नरको पद पर्दा सत्तासाझेदार दलबाट उक्त पदको आश्वासन पाएकाहरूले भने नमिठो धोका खाएका छन् । यसरी गोता खानेहरूमा राष्ट्र बैंकका अधिकारीदेखि बैंकका सिइओहरू छन् । राजीनामा दिएर स्वीकृत हुन बाँकी रहेकाहरू कार्यालय फर्किए पनि स्वीकृत भएकाहरू बिचल्लीमा परेका छन् ।
बैंकर ज्ञानेन्द्र ढुंगानाले गभर्नर पदका लागि दौड सुरु भएपछि नबिल बैंकको सिइओबाट राजीनामा दिएर त्यसमा आफूलाई सामेल गराएका थिए । स्रोतका अनुसार, ‘अबको गभर्नर तपाईं नै हो’ भन्ने आश्वासन पाएपछि उनले सिइओबाट राजीनामा दिने जोखिम उठाएका थिए । तर प्रारम्भमा गभर्नरका लागि चर्चा नै नभएका पौडेलले बाजी मार्दा ढुंगानाको नाम सिफारिससम्म भएन । प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच सहमति नजुटेपछि उनी दौडबाट पाखा लागेको बताइन्छ । ढुंगानाको अवस्था अहिले ‘चौटा खान गएकी बुढी, झोलमा डुबेर मरी’ भनेजस्तो भएको छ ।
गभर्नरको आश्वासन पूरा नहुँदा ढुंगानाजस्तै डा. प्रकाशकुमार श्रेष्ठ पनि निराश बनेका छन् । महाप्रसाद अधिकारीको कार्यकाल बाँकी छँदै पदबाट राजीनामा दिएर राष्ट्र बैंकका श्रेष्ठले गभर्नरको दौड आफूलाई उतारेका थिए । एमाले निकट श्रेष्ठले गभर्नरको ग्रिन सिग्नल पाएकाले राष्ट्र बैंकबाट स्वेच्छिक वहिर्गमन रोजेको चर्चा चलेको थियो । तर सत्तासाझेदारबीच उनको नाममा मतैक्यता हुन नसक्दा रिङ आउट भए ।
गभर्नरमा राष्ट्र बैंकमै कार्यरत गुणाकर भट्टको चर्चा सघन रूपमा चलेको थियो । आफू कार्यरत संस्थाको नेतृत्व गर्न उनले पदबाट राजीनामा पनि दिए । तर कायममुकायम गभर्नर नीलम ढुंगानाले राजीनामा स्वीकत नगरिदिँदा उनी पनि स्तब्ध बन्न पुगे । नीलमले षड्यन्त्रपूर्ण व्यवहार गर्दा एउटा अब्बल अधिकारी गभर्नर बन्नबाट वञ्चित भएको चर्चा बैंक तथा वित्तीय संस्थामा चलिरहेको छ ।
महाप्रसाद अधिकारीकाे पदावधि सकिएपछि राष्ट्र बैंककाे नेतृत्व सम्हालेकी नीलम ढुंगाना पनि गभर्नरकाे आकांक्षी थिइन् । राष्ट्र बैंकमा लामाे अनुभव हासिल गरेकी उनको त्याे दाबी जायज पनि थियाे । याेभन्दा पनि महत्त्वपूर्ण कुरा महिला गभर्नरकाे नयाँ इतिहास पनि उनकाे नाममा दर्ज हुन्थ्याे । सिफारिस समितिले गभर्नरमा उनकाे नाम सिफारिस त ग–यो तर सरकारले गभर्नर नै बनाउन भने चाहेन ।
पौडेललाई गभर्नर बनाउने निर्णय आलोचित
नियमानुसार गभर्नर अवकाशमा जानुभन्दा एक महिनाअघि नै नयाँ गभर्नरको नाम सिफारिस गरिसक्नुपर्ने प्रावधान छ ।
देशको सर्वोच्च यो म्रौद्रिक संस्थाको नेतृत्व चयन विगतमा समयमा नै हुने गरेको थियो । तर यस पटक निकै ढिलो गरेर अर्थ मन्त्री विष्णु पौडेलको संयोजकत्वमा सिफारिस समिति गठन गरियो । सिफारिस समिति गठन भए पनि यसले उद्देश्यअनुसार काम गर्न सकेन । यही कारण समिति सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले ‘कसैको रबर स्ट्याम्प नबन्ने’ भन्ने राजीनामा नै दिए । सिफारिस समितिमा कतिसम्म रमाइलो चल्यो भने विश्वनाथ पौडेल त्यहाँबाट बाहिरिएर आफैं गभर्नर बने ।
सत्तासाझेदार नेपाली कांग्रेसका सक्रिय सदस्यलाई केन्द्रीय बैंकको नेतृत्व सुम्पिएपछि यसको चौतर्फी आलोचना भएको छ । राष्ट्र बैंकभित्रै गभर्नर पदका लागि योग्य रहेकाहरू निराश बनेका छन् ।
ताजा अपडेट
-
मोदी मेरा घनिष्ठ मित्र हुन्, भारतसँग व्यापार सम्झौता छिट्टै हुने आशा छः ट्रम्प
-
राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी
-
मनसुन भारतको केरला आइपुग्यो, नेपाल कहिले आइपुग्छ ?
-
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोरसँग रास्वपा सभापति लामिछानेको भेट
-
कारागारबाट फरार दुई कैदी नौ महिनापछि पक्राउ


प्रतिक्रिया