NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ४ गते

किवी खेतीबाट वार्षिक ६ लाख कमाउँछन् गुल्मीका यमबहादुर

गुल्मी– सत्यवति गाउँपालिका–८ भार्सेका यमबहादुर थापा यति बेला व्यावसायिक रुपमा किवीखेती गरेर राम्रो आम्दानी गर्न थालेका छन् ।

परम्परागत रूपमा कोदो र मकै उत्पादन हुँदै आएको उनको बारी यति बेला किवीका बोटले ढपक्कै ढाकेको छ । उनले किवीखेती गरेर वार्षिक छ लाख रुपैयाँ भन्दा बढी आम्दानी गर्दै आएका छन् ।

थापा कृषक मात्र नभएर जनप्रतिनिधि पनि हुन् । सत्यवती–८ का सदस्य थापाले गत ११ वर्षदेखि किवीखेती गर्न सुरु गरेका हुन् । उनले आठ रोपनी जग्गामा किवीखेती गर्दै आएका छन् । उनको बारीमा यलिसन, हेवार्ड, रेड, गोल्डेन, ब्रुनो, मोन्टी र रेड गरी छ जातका किवीका बिरुवा छन् ।

जलवायु र भौगोलिक संरचनाको हिसाबले भार्षे किवीखेतीका लागि उपयुक्त ठाउँ मानिन्छ । उनले गत वर्ष चार लाखको किवी र दुई लाखको किवीका बिरुवा बिक्री गरेको बताए । तीन वर्षबाटै किवीले उत्पादन दिन थालेपछि थापालाई किवी खेती गर्ने उत्प्रेरणा जागेको हो ।

एउटै बोटमा ५० देखि एक क्वीन्टलसम्म किवीफल्ने गरेको छ । उनको बारीमा अहिले एक सय ५० किवीका बोट रहेका छन् । सुरुमा थापाले तार, पाइप र खम्बा बनाउनका लागि रु आठ लाख खर्चेर व्यावसायिक रूपमा किवीखेती गर्न सुरु गरेका हुन् ।

‘त्यही लगानीले अहिलेसम्म काम गरेको छ, यो बहुवर्षीय भएका कारण एक पटक लगाएपछि ५० वर्षसम्म आम्दानी लिन सकिन्छ, त्यसैले यसैमा रमाएको छु’, उनले भने । किवीमा अन्य जातका फलफूलमा भन्दा रोग खासै नलाग्ने भएको उनले बताए । ‘वर्षमा दुई पटक हाँगा काटछाँट गर्नुपर्छ, गोठे मल मात्र प्रयोग गर्दै आएको छु, त्यसैअनुसार उत्पादन पनि राम्रो हुँदै गएको छ’, थापाले भने ।

उनले उत्पादन गरेको किवी बजारमा दुई सय रुपैयाँदेखि तीन सय रुपैयाँसम्ममा बिक्री हुने गर्दछ । भार्षेको किवी स्थानीय बजारदेखि पाल्पा र बुटवलसम्म पुग्ने गरेको छ ।

उनले किवीलाई प्रशोधन गरेर वाइन बनाउन सुरु गरेका छन् । किवीलाई बजारको खासै समस्या नभएको थापाले बताए । थापाले पाँच वर्षदेखि किवीको नर्सरीसमेत गर्दै आएका छन् । उनको नर्सरीमा यति बेला आठ हजार किवीका नयाँ बिरुवा रहेका छन् । एउटा बिरुवालाई एक सय ५० देखि दुई सय रुपैयाँ पर्दछ ।

गाउँपालिकाले भार्षेलाई किवीको पकेट क्षेत्र घोषणा गरी कृषकलाई उत्प्रेरित गर्दै आएको छ । किवीखेती विस्तारका लागि पालिकाबाट प्राविधिक सहयोगदेखि आवश्यकताअनुसारको तालिम, टनेल, नर्सरी तथा बिरुवामा अनुदान उपलब्ध गराउँदै आएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कमलप्रसाद भुसालले बताए ।

किवीका अन्य जातमा सबैभन्दा राम्रो गोल्डेन र रेड किवीराम्रो मानिन्छ । यसको मूल्य अन्य जातको किवीको भन्दा एक सय रुपैयाँ बढी पर्दछ । भार्षेमा पाँच वटा किवीसमूहमा ८० कृषक आबद्ध छन् । यस क्षेत्रमा एक कृषकले १० बोटदेखि एक सय ५० बोटसम्म किवी लगाएका छन् । भार्षेमा हाल ४० हेक्टर क्षेत्रफलमा किसानले व्यावसायिक रूपमा किवीखेती गर्दै आइरहेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष