NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८२ असार ९ गते

चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाको परीक्षण उत्पादन सुरु

म्याग्दीको रघुगङ्गा गाउँपालिकामा निर्माण भएको ३७.५ मेगावाट क्षमताको चिमखोला-मङ्गले-राहुघाट जलविद्युत् आयोजनाले परीक्षण उत्पादन थालेको छ ।

तुदी पावर कम्पनी लिमिटेड प्रवर्द्धक रहेको आयोजनाको बाँध, डिसेन्डर (पानी थिग्य्राउने पोखरी) र सुरुङलगायत भौतिक संरचनाको परीक्षण सकेर विद्युत् उत्पादन सुरु गरेको हो । तुदी पावरका प्रतिनिधि इन्द्र ढकालले परीक्षण सफल भएपछि आयोजनाको विद्युत् केन्द्रीय प्रसारण लाइनमा जोडिने बताए । अबको १५ दिनमा परीक्षण सकिने उनले बताए ।

रघुगङ्गा गाउँपालिका-८ बन्दीमा बाँध र नजिकै एक सय १० मिटर लामो, आठ मिटर अग्लो र ३० मिटर चौडाइको पानी थिग्य्राउने पोखरी निर्माण भएको छ । बाँधबाट पाँच किलोमिटर ३०० मिटर लामो सुरुङबाट ल्याइएको पानी रघुगङ्गा-७ चिमखोलाको बगरस्थित विद्युत्‌गृहमा खसाल्न नौ सय ५० मिटर पेनस्टक पाइप लाइन बनाइएको आवासीय इञ्जिनियर प्रकाश तिमिल्सिनाले बताए ।

विद्युत्‌गृहबाट सुरुङको आउटलेटको उचाइ तीन सय ६० मिटर छ । २०७७ मंसिरदेखि निर्माण सुरु भएको आयोजनाको सिभिल ठेकेदार रामेछाप शेर्पा र साउथ एसियन इन्फ्रास्ट्रक्चर प्रालि हो । चार ठाउँबाट सुरुङ खनिएको थियो ।

माछापुच्छ्रे र बिएमइडब्लु नेपाल हाइड्रोमेकानिकल तथा एभरेष्ट हाइड्रो इलेक्ट्रोमेकानिकल ठेकेदार हुन् । विद्युत्‌गृहबाट रघुगङ्गा गाउँपालिका-३ तिल्केनीचौरस्थित राहुघाट जलविद्युत् आयोजनाको विद्युत्‌गृह रिसरमा निर्माण भएको स्वीचयार्डसम्म १४ किलोमिटर दूरीको दुई सय २० केभी क्षमताको प्रसारण लाइन निर्माण भएको छ ।

प्रसारण लाइनका ४९ वटा टावर रहेका छन् । आयोजनाबाट उत्पादित विद्युत् दुई सय २० केभी क्षमताको दाना-कुश्मा प्रसारण लाइनमा ‘लुप इन, लुप आउट’ (लिलो) माध्यमबाट जोडिने भएको छ । चिमखोला-मङ्गले-राहुघाटसहित तुदी पावर नै प्रवर्द्धक रहेको ४८ दशमलव पाँच मेगावाट क्षमताको अपर राहुघाट जलविद्युत् आयोजनाको लागत १४ अर्ब रुपैयाँ रहेको छ ।

अपर राहुघाट पनि निर्माणको अन्तिम चरणमा छ । चिमखोला-मङ्गले-राहुघाट राहुघाट बेसिनमा निर्माण सम्पन्न भएको पहिलो जलविद्युत् आयोजना हो । राहुघाट नदीमा ४० मेगावाटको राहुघाट, २१ दशमलव तीन मेगावाटको ठूलोखोला र २२ दशमलव तीन मेगावाटको माथिल्लो ठूलोखोला जलविद्युत् आयोजना निर्माण सम्पन्न हुने चरणमा छन् ।

 

ताजा अपडेट

नेपालवाच विशेष