वीरगञ्ज भन्सार : भारतबाट आयात चार खर्ब ३४ अर्ब, निर्यात ८७ अर्ब
वीरगञ्ज – चालु आर्थिक वर्षको ११ महिनामा छिमेकी मुलुक भारत हुँदै वीरगञ्ज नाकामा चार खर्ब ३४ अर्ब २६ करोड रुपैयाँ मूल्य बराबरको वस्तु तथा सामान नेपाल भित्रिएका छन् । यो नाका हुँदै कुल आयातको ७६ दशमलव ८० प्रतिशत हिस्सा भारतबाट आयातित सामानको रहेको छ ।
वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार यो नाका हुँदै आयात–निर्यातको सबैभन्दा धेरै हिस्सा छिमेकी मुलुक भारतसँग हुने गरेको छ । यो नाका हुँदै हुने वैदेशिक व्यापार भारतसँग धेरै जोडिएको छ । यो नाकामा भारतपछि धेरै वस्तु तथा सामान भित्रिने मुलुकमा अर्जेन्टिना पर्दछ । चालु आवको ११ महिनामा अर्जेन्टिनाबाट ४६ अर्ब ७४ करोड मूल्यका वस्तु तथा सामान यहाँ भित्रिएका छन् । सो मुलुकबाट भित्रिएका सामानको हिस्सा भने आठ दशमलव २७ प्रतिशत छ ।
त्यस्तै, छिमेकी मुलुक चीनबाट सोही अवधिमा २८ अर्ब ८६ करोडको वस्तु तथा सामान यहाँ भित्रिएका छन् । चीनबाट आयात हुनेको हिस्सा भने एक दशमलव २२ प्रतिशत छ । चालु आवको ११ महिनामा ५० वटा मुलुकबाट वीरगञ्ज नाकामा पाँच खर्ब ६५ अर्ब ४२ करोड मूल्यका वस्तु तथा सामान आयात भएका छन् ।
त्यसैगरी, वीरगञ्ज नाकाबाट चालु आवको ११ महिनामा ९१ अर्ब ५१ करोड मूल्यका वस्तु तथा सामान विदेशी मुलुकमा निर्यात भएको छ । यो नाका हुँदै ११ महिनामा ८६ अर्ब ९७ करोडका वस्तु तथा सामान भारत निर्यात भएको छ ।
भारत निर्यातको हिस्सा भने ९५ दशमलव ०५ प्रतिशत छ । यो नाका हुँदै सोही अवधिमा धेरै निर्यात हुने दोस्रो मुलुक अमेरिका रहेको छ । जहाँ कुल निर्यातको दुई दशमलव ३८ प्रतिशत अर्थात् दुई अर्ब १८ करोड मूल्य पर्ने वस्तु तथा सामान निर्यात भएको छ ।
त्यस्तै, अफगानिस्तानमा पनि यो नाका हुँदै सोही अवधिमा ६८ करोडको वस्तु तथा सामान निर्यात भएको छ ।
ताजा अपडेट
-
मौसममा पश्चिमी प्रणाली सक्रिय, वर्षा साथै यी ठाउँमा अचाक्ली गर्मी बढ्ने
-
नेपालगन्ज भन्सारः दश महिनामा लक्ष्यको ६८ प्रतिशत राजस्व सङ्कलन
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?
-
अनौपचारिक क्षेत्रमा श्रमिक : ६६.२% श्रमिकले पूरा ज्याला नै पाएनन्


प्रतिक्रिया