असार बित्न लाग्दा पनि परेन पानी, खेतमै सुक्यो धानको ब्याड
सुनसरी । समयमै वर्षा नहुँदा यहाँका किसानले राखेको धान ब्याडमै सुक्न थालेको छ । असार बित्नै लाग्दा समेत पर्याप्त पानी नपर्दा र सिँचाइ सुविधा अभावले धान रोपाइँ हुन नसकेको हो ।
आकाशे पानीको भरमा रहेका बराहक्षेत्र नगरपालिका–६ श्रीलङ्का टापु चिलैया र गरैया क्षेत्रका किसानले रोपेको धानको रोपो नै सुक्न थालेको छ । स्थानीय कृषक सन्तोष चन्द्रवंशीले भने, ‘यो वर्ष पानी पर्ने आशा त थियो, तर चाहिएको बेला पानी परेन । हामी आकाश हेरेर बसेका छौँ, धानको रोपो सुक्न थालेको छ ।’ उनकाअनुसार विद्युत् आपूर्तिसबै क्षेत्रमा नपुगेकाले पम्पसेटमार्फत सिँचाइ गर्न सकिएको छैन । वराहक्षेत्र नगरपालिकाले श्रीलङ्का टापुका किसानलाई ४३ थान विद्युतीय मोटर, ६० थान डेलिभरी पाइप र १५५ थान त्रिपाल अनुदानमा वितरण गरेको छ ।
रामधुनी नगरपालिकाका किसान रामभुवन रायले आफूले दुई बिघाहमा रोपाइँ गर्दै आएकोमा अहिलेसम्म आधा खेतमा पनि रोपाइँ गर्न नसकेको बताए । वर्षामा भर पर्ने उनीहरुजस्ता किसानलाई यही अवस्था रहिरहेमा धान बाली नै गुम्ने खतरा रहेको उनको भनाइ छ । कोशी गाउँपालिका–७ की किसान सरस्वती मियाँले जेठमै ब्याड तयार पारे पनि पानी नपरेपछि सुक्न थालेको बताइन् । धरान उपमहानगरपालिका–६ का किसान बुद्धिमान तामाङका अनुसार कुलोमा पानी नआएपछि रोपाइँ गर्न सकिएको छैन । ‘पोहोर साल यही समयसम्म रोपाइँ सकिएको थियो, तर यसपाली तीन भागमा एक भाग पनि रोपाइँ सकिएको छैन’, तामाङले भने ।
सुनसरीमा हाल ४८ हजार ९ हेक्टर क्षेत्रफलमा धान रोपाइँ हुँदै आएको छ । कृषि ज्ञान केन्द्र सुनसरीका प्रमुख निल कमल सिंहका अनुसार, गत वर्ष असारको अन्त्यसम्म जिल्लामा करिब ५० प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । तर यस वर्ष सोही अवधिमा ३२ प्रतिशत मात्र रोपाइ भएको छ । किसानले समयमै सिँचाइको व्यवस्थाका साथै मल, बिउ र अन्य कृषि उपकरणमा अनुदान माग गरिरहेका छन् । केही किसानले निजी स्रोतबाट सिँचाइको व्यवस्था मिलाउने प्रयास गरे पनि सबैका लागि त्यो सम्भव नहुने भन्दै सरकारी तहबाट राहतको माग गरेका हुन् ।
ताजा अपडेट
-
दूध अभावमा तीन महिनादेखि चितवन मिल्क बन्द
-
तेक्वान्दो खेलाडी वैभवीलाई चीनमा स्वर्णसहित दुई पदक
-
शिक्षामन्त्री प्रधानको राजीनामापछि कक्रोच आन्दोलन फिर्ता
-
प्रदेश सरकार संचालनका विषयमा एमाले र नेकपाबीच तीन बुँदे सहमति
-
मुगुमा घरमाथि पहिरो खस्दा तीन वर्षीय बालकको मृत्यु, बाबुआमा घाइते


प्रतिक्रिया