NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

वीरगञ्ज नाकाबाट ६ खर्ब २५ अर्बको आयात, १ खर्ब १ अर्बको निर्यात

पर्सा । वीरगञ्ज नाका हुँदै गत आर्थिक वर्ष २०८१/०८२ मा रु. छ खर्ब २५ अर्ब ९७ करोड मूल्य पर्ने वस्तु तथा सामान आयात गरिएको छ ।

अघिल्लो आव २०८०/८१ को तुलनामा गत आवमा मूल्यको आधारमा १५ दशमलव १४ प्रतिशत अर्थात् रु. ८२ अर्ब ३० करोड मूल्य बढीका सामान आयात गरिएको हो ।

गत आवमा यो नाका हुँदै सबैभन्दा धेरै आयात हुनेमा पेट्रोलियम पदार्थ रहेको छ । पाँच थरिका पेट्रोलियम पदार्थ मात्रै रु. एक खर्ब ९१ अर्ब ८८ करोड रकमको आयात गरिएको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । दोस्रो धेरै आयात हुने वस्तुमा भटमासको कच्चा तेल रु. ५७ अर्ब ६८ करोडको रहेको छ ।

वीरगञ्ज भन्सार कार्यालय प्रमुख दीपक लामिछानेले गत आवमा आयात र निर्यातमा दुवैमा उल्लेखनीय वृद्धि भएको बताए । “गत आवमा आयात र निर्यात दुवैमा उल्लेखनीय सुधार भएको देखिन्छ”, उनले भने, “अर्थतन्त्र सहज हुँदै गएकाले पनि वृद्धि भएको हुनसक्छ ।”

 

गत आवमा मेसिनरी तथा तिनका पार्टपुर्जा रु. ३६ अर्ब ६३ करोड मूल्यका आयात गरिएका छन् । रु. ३४ अर्ब ४१ करोड मूल्य पर्ने फलाम तथा फलामबाट बनेका सामान आयात गरिएका हुन् । सोही अवधिमा रु. २८ अर्ब ५३ करोड मूल्य पर्ने सबै प्रकारका ‘एलोपेथिक’ औषधि आयात गरिएका छन् ।

गत आवमा आयात मात्रै नभएर निर्यातमा पनि बढोत्तरी भएको छ । रु. एक खर्ब एक अर्ब ८४ करोड मूल्य बराबरका वस्तु तथा सामान निर्यात गरिएको छ । अघिल्लो आवमा यो नाका हुँदै रु. ३१ अर्ब १४ करोड मूल्यका वस्तु तथा सामान निर्यात गरिएको थियो । सो आवको तुलनामा यो नाका हुँदै २२७ दशमलव ०९ प्रतिशत अर्थात् रु. ७० अर्ब ७० करोड मूल्य बराबरका बढी वस्तु तथा सामान निर्यात गरिएको छ ।

सबैभन्दा धेरै निर्यात हुने वस्तुमा भटमासको प्रशोधित तेल रहेको छ । गत आवमा रु. ६१ अर्ब ४५ करोड मूल्य पर्ने २९ करोड १४ लाख ९१ हजार ७५९ लिटर प्रशोधित भटमासको तेल निर्यात गरिएको हो ।

जबकी अघिल्लो आवमा रु. नौ करोड मूल्य पर्ने चार लाख ६४ हजार १३८ लिटर मात्रै निर्यात गरिएको थियो । त्यसैगरी गत आवमा रु. नौ अर्ब २६ करोड मूल्य पर्ने चार करोड १५ लाख नौ हजार २७३ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको छ । अघिल्लो आवमा रु. १० करोड मूल्य पर्ने पाँच लाख २७ हजार २९१ लिटर सूर्यमुखीको प्रशोधित तेल निर्यात गरिएको थियो ।

गत आवमा रु. सात अर्ब ६९ करोड मूल्य पर्ने आठ करोड एक लाख ३४ हजार २२७ लिटर फलफूलको जुस निर्यात गरिएको छ । अघिल्लो आवमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने आठ करोड ८० लाख १० हजार ६९० लिटर फलफूलको जुस निर्यात गरिएको थियो ।

गत आवमा रु. पाँच अर्ब ३७ करोड मूल्य पर्ने चार करोड ५२ लाख ५६ हजार ८१० किलोग्राम फलाम तथा फलामबाट बनेका सामग्री भारत निर्यात गरिएको छ । अघिल्लो आवको सोही अवधिमा रु. आठ अर्ब ५९ करोड मूल्य पर्ने सात करोड २६ लाख ३६ हजार २३१ किलोग्राम फलाम तथा फलामका सामग्री विदेशी मुलुक निर्यात गरिएको थियो ।