NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

‘दलले यी कुरामा ध्यान दिए स्थानीय तहमा भ्रष्टाचार कम हुन्छ’

ख्तियार दुरूपयोग अनुसन्धान आयोगका रिपोर्टहरूमा स्थानीय तहको सुशासन अवस्थाबारे उल्लेख गरिएको छ । आयोगबाट जारी प्रतिवेदनहरूले गम्भीर सवाल मात्र खडा गरेका छैनन्,  अवस्था चिन्ताजनक रहेको पनि देखाएको छ । तसर्थ छलफल, बहस गरेर समाधानतर्फ लाग्नुको विकल्प हामीसँग छैन ।

खासमा जनप्रतिनिधिहरू जनताको सेवा गर्ने सेवाभावका साथ आएका हुन्छन् । यसअर्थ नियतवश अनियमितताको प्रश्न उठाउनु त्यति जायज र न्यायपूर्ण हुँदैन । र पनि सबैलाई एउटै डालोमा हालिहाल्न भने मिल्दैन । आवश्यक मात्रामा क्षमता विकास नहुँदा, कानूनी जटिलतालाई फुकाउने ल्याकत नहुँदा स्थानीय तहमा गलत काम भएका हुनसक्छन् । प्राविधिक विषयमा प्रष्टता नहुँदा पनि भ्रष्टाचारजन्य गतिविधि भएका छन् । पालिकाको जनशक्ति, नीतिगत तहमा गरिएका निर्णयको कार्यान्वयन, प्रमुख प्रशासकीय या अन्य प्राविधिकलगायत कर्मचारीको सेवा प्रवाह विधि पनि कहीँ न कहीँ यसमा जिम्मेवार छ ।

तर यसलाई एउटै कोणबाट मात्र हेरिनु हुँदैन । यसका अन्य आयामलाई पनि हामीले उसैगरी गम्भीरतापूर्वक नियाल्नु पर्छ ।

मेरो विचारमा अहिलेको प्रविधि, जनशक्ति र नीति निर्णयको अस्पष्टताले स्थानीय तहमा समस्या देखिएका छन् । जस्तो : सार्वजनिक खरिद ऐनले प्रक्रियामा छिरेर मात्र काम गर भन्छ । तर संघीय सरकार र प्रदेश सरकारले यसको हेक्का नराखी चैतको मसान्तमा मात्र सिलिङ पठाउँछन् । यो स्थितिमा कसरी बजेट कार्यान्वयन हुनसक्छ ? कानूनी जटिलता सँगसँगै व्यवहारजन्य घटनाले पनि भ्रष्टाचारजन्य गतिविधि मौलाएको मेरो ठम्याइ छ ।

अख्तियारमा कतिपय उजुरी रिसिइबीका कारण पर्ने गरेका छन् भने कतिपय विधि प्रक्रिया नमिलेका कारणले । यसरी राज्यको कुनै निकायमा उजुरी परेकै आधारमा स्थानीय तहमा धेरै भ्रष्टाचार भयो भनिहाल्न मिल्दैन । स्थानीय तहमा भ्रष्टाचारको सवालमा बहस गरिरहँदा हामीले यो महत्त्वपूर्ण पाटोलाई भुल्न मिल्दैन ।

अब के गर्ने त ?

अहिलेको हाम्रो निर्वाचन प्रणाली निकै महँगो छ । टिकट पनि त्यस्ता व्यक्तिले पाउँछन्, जोसँग पैसा हुन्छ । साधन, स्रोत, शक्ति हुन्छ । त्यसैले
स्थानीय तहमा सुशासन कायम गर्ने हो भने सबैभन्दा पहिले राजनीतिक दलहरूले चुनाव अगाडि नै मापदण्ड बनाएर योग्य व्यक्तिलाई मात्र टिकट दिने परिपाटी बसाल्नु पर्छ । पार्टीले उम्मेदवारको मापदण्ड निश्चित नगरेसम्म हामीले भ्रष्टाचारजन्य कसुरबारे जति बहस गरे पनि यो हल हुने देखिँदैन ।

जनप्रतिनिधिको टिकट कस्तो व्यक्तिलाई दिने त ? यहाँनिर स्वाभाविक अर्को प्रश्न उब्जन्छ । मेरो विचारमा उम्मेदवार बनाउनुअघि राज्य संरचना, त्यसको स्वरूपबारे प्रष्ट भए/नभएको, नीति–नियम, ऐन, कानून जाने/नजानेको नियाल्नु पर्छ । जनताप्रतिको सेवाभाव र समर्पण कस्तो छ, त्यो पनि हेरिनु पर्छ । मुलुकको व्यवस्था र संविधानबारे थाहा छैन भने त्यसबारे प्रशिक्षित गर्नुपर्छ ।

त्यसो त, निर्वाचित भइसकेपछि पनि सिक्न नसकिने होइन । विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाले कार्यक्रम आयोजना गरेर सेवा क्षेत्रका गतिविधि, ऐन–नियमका विषयमा पढाएका हुन्छन् । तर जुन हिसाबले प्रशिक्षण हुनुपर्ने हो, त्यो भएको पाइँदैन ।

स्थानीय तहका हामी जनप्रतिनिधिको कार्यकाल पाँच वर्षको हो । यस्ता जनप्रतिनिधिसँग जनताका अपेक्षा भने धेरै नै हुने गर्छन् । पार्टीको नीति, सिद्धान्त, विचार र घोषणापत्रमा आधारित भएर कार्यतालिका बनाएको खण्डमा मात्र त्यसलाई भेट्न सकिन्छ । यो अति नै महत्वपूर्ण सवाल भए पनि राजनीतिक दलले ध्यान दिएको पाइँदैन । राजनीतिक दलले यसबारे बहस छलफल गर्न बियालो गर्न हुँदैन ।

महालेखा र अख्तियारसँगको अपेक्षा

महालेखापरीक्षकको कार्यालयको प्रतिवेदनमा बेरुजुको अंक बढ्दैमा भ्रष्टाचार भएको भनिहाल्न मिल्दैन । त्यही बेरुजु पनि कसरी बढ्यो, कसको पालामा बढ्यो ? पत्ता लगाउन अलिक गहिराइमै पुग्नुपर्ने हुन्छ । उदाहरणका लागि म प्रमुख रहेको नगरपालिकाको बेरुजुलाई नै लिन सकिन्छ । त्यहाँ म आउनु अगाडि ०७७/७८ देखिको बेरुजु फछ्र्योट भएको रहेनछ । यस्ता बेरुजुमा जनप्रतिनिधि मात्र नभएर कर्मचारी पनि जोडिएका हुन्छन् । तर यस्ता कुरालाई नहेरी सिधै जनप्रतिनिधिलाई मात्र लाञ्छित गर्ने गरिन्छ । मिडियामा समाचार आउँछ, फलानो स्थानीय तहको बेरुजु यति पुग्यो भनेर । सचेतनाको कमी भएकाले यस्ता समाचारबाट आमनागरिकरू पनि दिग्भ्रमित हुने गरेका छन् ।

अख्तियारमा उजुरी पर्दैमा व्यक्तिलाई दोषी करार गरिहाल्न मिल्दैन । छानबिन र अनुसन्धान अख्तियारले गरे पनि यसको अन्तिम न्यायिक परीक्षण अदालतमै हुने हो । तर अख्तियारले जनप्रतिनिधिको पद गइसक्दा पनि छानबिन नटुंग्याउने समस्या छ । नियतवश कसैको करिअर समाप्त गर्ने उद्देश्यले हालिएका यस्ता उजुरीले व्यक्तिलाई मर्का पर्ने भएकाले यसमा अख्तियार गम्भीर बन्नु पर्छ ।

अख्तियार र महालेखापरीक्षक कार्यालय स्थानीय तहका साझेदार निकाय हुन् । उनीहरूसँग सहकार्य गरेर जबसम्म अघि बढ्न सक्दैनौं तबसम्म स्थानीय तहबारेको प्रश्न र समस्या रहिरहन्छ । त्यसैले यसलाई बढावा दिनेतर्फ आगामी दिनमा सोच्नु उपयुक्त हुन्छ ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगले स्थानीय तहलाई जागरुक बनाउने प्रयास नथालेको होइन । उसले पालिकास्तरमा प्रशिक्षण कार्यक्रम गर्दै आइरहेको छ । तर त्यो खासै प्रभावकारी भने बन्न सकेको छैन । मात्र औपचारिकतामा सीमित छ । सम्बन्धित प्रदेश प्रमुख गएर प्रशिक्षण गर्ने डाटा देखाउने काम यसमा भएको छ । त्यसैले जनप्रतिनिधिलाई सिकाउने अख्तियारको प्रयासलाई आउँदा दिनमा अझै प्रभावकारी बनाउनु पर्छ ।

(नेपालवाचको नीतिप्रधान बहसमूलक कार्यक्रम पोलिसी डायलगमा बडिमालिका नगरपालिका, बाजुराका प्रमुख खड्काले राखेको भनाइ)

 

ताजा अपडेट

नेपालवाच विशेष