आजदेखि खुल्दै सेयर बजार
काठमाडौं-जेनजी आन्दोलनका कारण गत भदौ २४ गतेदेखि बन्द रहेको सेयर बजार आजदेखि पुनः नियमित रुपमा सञ्चालनमा आउने भएको छ ।
नेपाल धितोपत्र बोर्डले भदौ ३१ गते जारी गरेको निर्देशनअनुसार नेप्सेले आजदेखि नियमित कारोबार सुचारु गर्ने जनाएको हो । यसअघि बोर्डले असोज १ गतेदेखि बजार सुचारु गर्न निर्देशन दिएको भएपनि त्यसदिन सरकारले जेनजी आन्दोलनका सहिदहरुको सम्मानका लागि राष्ट्रिय शोक दिवस घोषणा गरेकाले कारोबार हुन सकेन । त्यसैले आजबाट बजार सञ्चालनमा आउने भएको हो । गत भदौ २३ गते अन्तिमपटक सेयर कारोबार भएको थियो, त्यसदिन नेप्से परिसूचक १.३२ प्रतिशत अर्थात् ३५.९९ अंक गिरेर २,६७२.२५ विन्दुमा बन्द भएको थियो ।
बजार बन्द भएको लामो समयपछि कारोबार खुल्दा लगानीकर्तामा उत्साह देखिएको छ । धेरैले सेयर बजार खुल्नुपर्ने भन्दै दबाब समेत दिएका थिए । तर, लगानीकर्ताहरुमा उतिकै अन्यौल पनि छ । बजार फेरि घट्ने त होइन भन्ने डर, प्रायः नवीन र साना लगानीकर्तामा बढी देखिएको छ । बजार बन्द हुँदा ठूला–साना सबै किसिमका लगानीकर्ताहरुलाई आर्थिक घाटा भएको छ । विशेष गरी नियमित रुपमा कारोबार गर्ने ट्रेडरहरु यसबाट प्रभावित भएका छन् ।


प्रतिक्रिया