जेन्जी आन्दोलनः आक्रोश, आशा र नागरिक जिम्मेवारी
नेपालको आधुनिक इतिहासमा, विभिन्न समयमा विभिन्न आन्दोलनहरूले समाजलाई नयाँ दिशा दिएका छन् । चाहे त्यो २००७ सालको क्रान्ति होस्, २०४६ सालको जनआन्दोलन होस् वा २०६२/६३ को जनआन्दोलन होस्, प्रत्येक आन्दोलनले नेपाली समाजमा एउटा ठूलो परिवर्तन ल्याएका छन् । तर, २०८२ साल भदौ २३ र २४ गते काठमाडौंका सडकमा देखिएको जेन्जी आन्दोलन यी सबैभन्दा फरक थियो । यो कुनै राजनीतिक दलको नेतृत्वमा भएको थिएन, न त यसको कुनै केन्द्रीय कमान्ड नै थियो । यो आन्दोलनको सुरूवात युवाहरूको, विशेषगरी जेनेरेसन जी (जेन्जी) को, स्वतःस्फूर्त आक्रोश र निराशाको परिणाममा आधारित रहेर भएको थियो ।
यो आन्दोलनले नेपाली समाजको सुशासनको अवस्था, प्रशासनिक सेवाको गुणस्तर, र सामाजिक तथा राजनीतिक संरचनामा गहिरो खाडल छ भन्ने उजागर छ । यो लेखमा हामी जेन्जी आन्दोलनका पृष्ठभूमि, यसका सकारात्मक तथा नकारात्मक पक्षहरू, यसले उठाएका प्रशासनिक सुधारका मुद्दाहरू, र व्यक्ति, परिवार, समाज र राष्ट्रप्रतिको जिम्मेवारीका बारेमा विस्तृत रूपमा चर्चा गर्ने कोशिष गर्नेछौँ ।
क) आन्दोलनको पृष्ठभूमिः किन भयो जेन्जी आन्दोलन ?
जेन्जी आन्दोलन अचानक भएको घटना थिएन, बरु वर्षौंदेखि जम्मा भएको असन्तुष्टि, बेथिति र युवाहरूको सपनामाथि निरन्तर भएको प्रहारको विस्फोट थियो । यसका पछाडि धेरै कारणहरू छन्, जसलाई बुझ्न सके मात्र यो आन्दोलनको महत्त्व र यसले दिएका सन्देशहरू स्पष्ट हुन्छन् ।
- निराशा र अवसरको अभाव
नेपाल सन् २०११ को जनगणना अनुसार सन् २०११ बाट ४० वर्षका लागि युवा जनसङ्ख्या धेरै हुने समयमा पर्दछ । युवा जनसङ्ख्या धेरै हुनु भनेको जनशक्ति धेरै हुनु पनि हो । यो समयमा नेपालमा उच्च शिक्षा हासिल गरेका लाखौं युवाहरू छन् भन्न सकिन्छ, तर उनीहरूले आफ्नो शिक्षा र क्षमताअनुसारको रोजगारी प्राप्त गर्न सकेका छैनन् । यसमा उनिहरूको काम प्रतिको लगनसिलताको अभाव पनि हुन सक्दछ (घरमा सानो सानो काम नगर्ने तर विदेशमा गएर गर्ने प्रबृति : खाडी देशमा गएर गरिने काम, कोरिया गएर कृर्षि क्षेत्रमा गरिने काम ………….. ) भने राज्यले उनीहरूका लागि पर्याप्त अवसरहरू सिर्जना गर्न नसकेको पनि हुन सक्दछ । धेरै सञ्चार माध्यामका समाचार तथा सुचनाअनुसार देशमा बेरोजगारीको समस्या विकराल छ, जसले गर्दा धेरै युवाहरू विदेशिन बाध्य छन् । विदेश जाने प्रक्रिया पनि सहज छैन, दलालहरूको चंगुलमा परेर धेरैले ठूलो रकम गुमाउँछन् । स्वदेशमा कुनै काम गर्न खोज्दा पनि विभिन्न प्रशासनिक झन्झट र भ्रष्टाचारको सामना गर्नुपर्छ । यसले युवाहरूमा आफ्नो देशमै केही गर्न सकिन्न भन्ने चरम निराशा पैदा गरेको छ ।
- राजनीतिक अस्थिरता र नेतृत्वप्रतिको वितृष्णा
पछिल्ला केही वर्षमा नेपालको राजनीति निकै अस्थिर बनेको छ । सरकारहरू बारम्बार परिवर्तन भइरहेका छन् । यसले नेपालमा राजनीतिक दलहरू देशको विकास र जनहितभन्दा आफ्नै स्वार्थ र कुर्सीको खेलमा व्यस्त छन् भन्ने भाष्य स्थापित गरेको छ । विभिन्न सञ्चार माध्याम र विज्ञहरूकाअनुसार पुराना पुस्ताका नेताहरूले देशलाई अगाडि बढाउन सक्दैनन् भन्ने सञ्चार युवाहरूमा व्याप्त भएको सूचना प्रबाहा भइरहेको छ । उनीहरूले देशका नेताहरूमाथि विश्वास गुमाइसकेका छन् र आफूहरूलाई धोका दिइएको महसुस गर्छन् । तर युवाहरूमा पनि राजनीतिमा होमिएर पुस्ताहस्तान्तरणका कार्यमा सक्रिय हुने भन्दा ठिक भएन भन्ने जमात ठुलो छ ।
- भ्रष्टाचार र कुशासन
नेपालमा भ्रष्टाचार एउटा सामाजिक रोग बनेको प्रचारप्रसार व्यापक भएको छ । स–साना कामदेखि ठूला विकास परियोजनाहरूमा पनि भ्रष्टाचार व्याप्त छ भनिन्छ । यसले गर्दा सार्वजनिक सेवाहरू कमजोर बनेका छन् र आम नागरिकले सास्ती भोग्नुपरेको छ । युवाहरूले आफ्नो करबाट संकलन भएको रकम यसरी दुरुपयोग भएको सञ्चार हुनुले उनिहरू आक्रोशित हुनु स्वाभाविक हो । भ्रष्टाचारका कारण देशको विकासमा बाधा पुगेको छ र यसले नागरिकको जीवनस्तरमा नकारात्मक असर पारेको छ भन्ने पक्षले नागरिकमा गहिरो जरा गाडेको छ ।
- सामाजिक सञ्जालको भूमिका
जेन्जी आन्दोलनको एक महत्त्वपूर्ण विशेषता यसको सामाजिक सञ्जालमा आधारित संगठन थियो । यसमा कुनै औपचारिक नेता थिएन । टिकटोक, फेसबुक र ट्विटरजस्ता प्लेटफर्महरूबाट यसको सन्देश फैलियो । युवाहरूले आफ्ना भावनाहरू, निराशा र आक्रोशलाई ती माध्यमबाट अभिव्यक्त गरे । यही भर्चुअल एकताले अन्ततः भौतिक आन्दोलनको रूप लियो । सामाजिक सञ्जालले युवाहरूलाई एकअर्कासँग जोड्ने र छिटोछरितो रूपमा सूचना आदानप्रदान गर्ने अवसर प्रदान ग-यो, जसले आन्दोलनलाई देशव्यापी बनाउन मद्दत ग-यो । यसबाट ठिक भयो या गलत भयो भावी अध्ययनले पुष्टि गर्दै जालान ।
ख) नेपाली समाजको चित्रणः सकारात्मक र नकारात्मक पक्ष
जेन्जी आन्दोलनले नेपाली समाजका दुवै सकारात्मक र नकारात्मक पाटालाई उजागर गरेको छ ।
- सकारात्मक पक्षहरू :
जागृत युवा पुस्ता : यो आन्दोलनले नेपालको युवा पुस्ता निष्क्रिय छैन, बरु उनीहरू देशको अवस्थाप्रति गम्भीर छन् भन्ने देखाएको छ । उनीहरूले सही मुद्दा उठाएर शान्तिपूर्ण तरिकाले आवाज उठाउन सक्छन् भन्ने प्रमाणित भएको छ ।
स्वतःस्फूर्तता र इमान्दारिता: यो आन्दोलनमा कुनै राजनीतिक स्वार्थ थिएन । युवाहरूले निस्वार्थ रूपमा देशका समस्या समाधान होस् भन्ने चाहेका थिए । यसले नेपाली समाजमा अझै पनि इमान्दारिता र देशप्रेम जीवित छ भन्ने देखाउँछ ।
डिजिटल साक्षरता : सामाजिक सञ्जालको प्रभावकारी प्रयोगले युवाहरू कति डिजिटल साक्षर छन् भन्ने स्पष्ट भएको छ । उनीहरूले सूचना र विचारलाई छिटो र प्रभावकारी ढंगले फैलाउन सक्छन् ।
भविष्यप्रतिको आशा : जेन्जी आन्दोलनले निराशा मात्र होइन, आशा पनि जगाएको छ । यसले यदि युवाहरू एकजुट भए भने ठूलो परिवर्तन सम्भव छ भन्ने सन्देश दिएको छ । यो आन्दोलनले भविष्यको नेपालको नेतृत्व युवाहरूले नै गर्नेछन् भन्ने संकेत गरेको छ ।
- नकारात्मक पक्षहरू :
आफ्नै देशप्रतिको निराशा : जेन्जी आन्दोलनको एउटा प्रमुख नकारात्मक पक्ष यसले युवाहरूमा व्याप्त देशप्रतिको चरम निराशालाई देखाएको छ । आफ्नो भविष्य नेपालमा छैन भन्ने विश्वासका कारण धेरै युवाहरू विदेशिने सपना बोकेर हिँडेका छन् ।
विभाजनको जोखिम : केही अराजक तत्वहरूले आन्दोलनलाई आफ्नो स्वार्थका लागि प्रयोग गर्ने प्रयास गरेका थिए भन्ने पनि सञ्चार भएको छ । यदि समयमै यसको सही व्यवस्थापन नभए यो आन्दोलनले समाजमा थप विभाजन ल्याउन सक्ने जोखिम पनि बढ्ने छ ।
पुराना पुस्तासँगको खाडल : यो आन्दोलनले पुरानो र नयाँ पुस्ताको सोचाइमा ठूलो खाडल रहेको देखाएको छ । पुराना नेताहरू र सामाजिक संरचनाले युवाहरूको भावनालाई बुझ्न सकेका छैनन् भन्ने भाष्य स्थापित हुदैछ ।
ग) आन्दोलनमा घुसपैठ र सम्पत्तिमा क्षतिः के यसले समाज सुधार हुन्छ?
जेन्जी आन्दोलनको मूल मुद्दा सुशासन, छिटोछरितो सेवा र भ्रष्टाचारको अन्त्य भए पनि भदौ २३ र २४ गते जुन अवस्था बन्यो, त्यो युवाहरूको नियन्त्रणमा थिएन । यसले केही गम्भीर प्रश्नहरू जन्माएको छ ।
- बाह्य घुसपैठ र सुनियोजित षड्यन्त्रको आशंका
के यो आन्दोलनमा कुनै बाह्य पक्षको सुनियोजित घुसपैठ त थिएन ? यो प्रश्नको दुई दृष्टिकोणबाट विश्लेषण गर्न सकिन्छ ।
स्वतस्फूर्तता : धेरैजसो युवाहरू आफ्नो निराशा र आक्रोश पोख्न इमानदारीपूर्वक सडकमा आएका थिए । उनीहरूको मूल उद्देश्य सरकारलाई सच्चिन दबाब दिनु थियो । यसमा कुनै विदेशी शक्ति वा राजनीतिक दलको प्रत्यक्ष संलग्नता भएको प्रमाण हाल सम्म छैन ।
घुसपैठको सम्भावना : कुनै पनि ठूलो आन्दोलनमा मौका छोपी अराजकता फैलाउने, सार्वजनिक तथा निजी सम्पत्तिमा क्षति पु¥याउने र आन्दोलनलाई बदनाम गराउने तत्वहरू प्रवेश गर्न सक्छन् । यो कुनै बाह्य शक्तिले गरेको सुनियोजित घुसपैठ वा आन्दोलनको भीड र अव्यवस्थाको फाइदा उठाउने स्वार्थी समूहहरू हुन सक्छन् । यसले आन्दोलनको गरिमालाई धुमिल पारिदिन्छ । यस पक्षमा गहिरो अध्ययन गरि आम नागरिकलाई स्पष्ट पार्नु जिम्मेवार पक्षको दायित्व हुन्छ ।
- व्यक्तिगत तथा राष्ट्रिय सम्पत्ति ध्वस्त पारेर समाज सुधार
व्यक्तिगत तथा राष्ट्रिय सम्पत्ति ध्वस्त पारेर समाज सुधार कहिल्यै हुँदैन । शान्तिपूर्ण विरोधले सरकार र जनता दुवैमा नैतिक दबाब सिर्जना गर्छ, जबकि तोडफोड र हिंसाले आन्दोलनकारीलाई नै बदनाम गर्छ र मूल मुद्दा ओझेलमा पार्छ । जेन्जी आन्दोलनको सन्दर्भमा, युवाहरूको आक्रोश स्वाभाविक भए पनि तोडफोडको बाटो गलत थियो । समाजको सुधार व्यक्तिगत वा राष्ट्रिय सम्पत्तिमा क्षति पु¥याएर होइन, बरु सचेतना, दबाब र रचनात्मक परिवर्तनको माध्यमबाट मात्र सम्भव छ ।
- समस्याको जडः नेता, नागरिक र कर्मचारीको साझा कमजोरी
धेरैजसो मानिसले देशको दुर्दशाको सम्पूर्ण दोष पुराना नेता र राजनीतिक दललाई मात्र दिन्छन् । यो आंशिक सत्य भए पनि सम्पूर्ण सत्य होइन । समस्याको जड बहुआयामिक छ, र यसका लागि नेता, नागरिक र कर्मचारी सबै जिम्मेवार छन् ।
नेता र राजनीतिक दलको भूमिका ः राजनीतिक नेतृत्वमा रहेको अपारदर्शिता, भ्रष्टाचार, दूरदृष्टिको अभाव र अस्थिरता देशको मुख्य समस्या हो । चुनावमा अत्यधिक खर्च, राजनीतिक नियुक्तिहरूमा नातावाद र कृपावादले नागरिकमा विश्वास गुमाएको छ ।
कर्मचारीको आचरणः सरकारी कार्यालयहरूमा काममा ढिलासुस्ती, कर्मचारीको लापरबाही र सेवाग्राहीलाई दुःख दिने प्रवृत्तिले सुशासनको जगलाई कमजोर बनाएको छ । विभिन्न माध्यामका सूचनाअनुसार थोरै तलबमा काम गर्ने भन्दै सेवाग्राहीबाट घुस लिने, फाइल अड्काएर राख्ने र दलालीलाई प्रश्रय दिने कर्मचारीहरूको आचरणले जनतालाई निराश बनाएको छ भन्ने भाष्य व्याप्त रहेको छ ।
नागरिकको सोच : हामी नागरिकहरू पनि पूर्ण रूपमा जिम्मेवार छैनौं । हामीले नेताको योग्यता र अनुभवलाई भन्दा व्यक्तिगत लाभलाई प्राथमिकता दिएको देखिन्छ । भ्रष्टाचारको चर्को विरोध गर्ने तर स–साना काममा पनि आफैँ दलाली गर्ने, घुस दिने वा गलत तरिका अपनाउने प्रवृत्ति समाजमा व्याप्त छ । तसर्थ समस्याको मूल कारण केवल पुराना नेता वा पार्टी मात्र होइनन्, बरु राजनीतिक नेतृत्व, नागरिक र कर्मचारी वर्गको संयुक्त कमजोरी हो । जब खराब आचरण भएका केही व्यक्तिहरूले पूरा प्रणालीलाई नै ध्वस्त बनाउँछन्, त्यसको मूल्य सबैले चुकाउनुपर्छ । यसकारण, राजनीतिक नेतृत्वले आफूलाई सुधार्नु जति आवश्यक छ, नागरिक र कर्मचारीले पनि आ–आफ्नो ठाउँबाट जिम्मेवार र इमान्दार बन्नु उत्तिकै जरुरी छ ।
घ) प्रशासनिक सेवामा सुधारः विधि, पारदर्शिता र छिटोछरितोपना
जेन्जी आन्दोलनले उठाएको एक प्रमुख मुद्दा प्रशासनिक सेवामा सुधार थियो । नागरिकले सार्वजनिक सेवा लिन जाँदा भोग्नुपर्ने सास्ती, ढिलासुस्ती र भ्रष्टाचारको अन्त्य नभएसम्म देशमा सुशासन सम्भव छैन । यसका लागि निम्न सुधारहरू अपरिहार्य छन्ः
- विधिमा आधारित प्रणाली:
प्रशासनिक सेवालाई कुनै व्यक्तिको स्वार्थ वा मनपरीमा होइन, विधि र कानुनमा आधारित बनाउनुपर्छ । हरेक कामका लागि स्पष्ट नियम र प्रक्रिया हुनुपर्छ ।
सेवाग्राही चार्टर : प्रत्येक सरकारी कार्यालयमा सेवाग्राहीले पाउने सेवा, त्यसका लागि लाग्ने समय र आवश्यक कागजातहरूको स्पष्ट सूची (सेवाग्राही चार्टर) राख्न सकिन्छ ।
कर्मचारीको जवाफदेहिता: काममा ढिलासुस्ती गर्ने वा सेवा दिन आनाकानी गर्ने कर्मचारीलाई जिम्मेवार बनाउन कडा कानुनी प्रावधानहरू लागू गर्नुपर्छ ।
- छिटोछरितो सेवा :
सरकारी सेवाहरू लिन जाँदा नागरिकले महिनौँ कुर्नुपर्ने अवस्थाको अन्त्य गर्नुपर्छ। यसका लागि प्रविधिको अधिकतम प्रयोग गर्न सकिन्छ ।
अनलाइन प्रणाली : नागरिकता, राहदानी, लाइसेन्सजस्ता सेवाहरूका लागि अनलाइन आवेदन र भुक्तानी प्रणालीलाई अनिवार्य बनाइनुपर्छ ।
एकल बिन्दु सेवा : नागरिकले कुनै पनि सेवा लिन जाँदा सबै प्रक्रिया एकै ठाउँबाट पूरा गर्न सक्ने गरी ’एकल बिन्दु सेवा’ प्रणालीको विकास गर्न सकिन्छ ।
- पारदर्शिता :
सरकारी काम र निर्णयहरू पारदर्शी हुनुपर्छ । यसले भ्रष्टाचार घटाउँछ र नागरिकको विश्वास बढाउँछ ।
सार्वजनिक सुनुवाइ : ठूला परियोजनाहरू वा नीति निर्माण गर्दा सार्वजनिक सुनुवाइको व्यवस्था गर्नुपर्छ, ताकि नागरिकहरूले आफ्ना विचार राख्न सकून् ।
सूचनाको हकको पूर्ण कार्यान्वयन : सूचनाको हकलाई कडाइका साथ लागू गरी नागरिकले मागेको सूचना समयमै उपलब्ध गराउनुपर्छ ।
ङ) व्यक्ति, परिवार, समाज र राष्ट्रः माया गर्ने आचरण र नागरिकका जिम्मेवारी
जेन्जी आन्दोलनले केवल प्रशासनिक वा राजनीतिक परिवर्तनको माग मात्र गरेन, यसले व्यक्ति, परिवार, समाज र राष्ट्रको सम्बन्धमा पनि गहिरो प्रश्न उठाएको छ । एउटा नागरिकले आफू, आफ्नो परिवार, समाज र देशलाई माया गर्ने आचरण कसरी निर्माण गर्ने ?
आफूलाई माया गर्ने : यो आचरणको सुरुवात आफैंबाट हुन्छ । व्यक्तिले पहिला आफ्नो व्यक्तित्व विकास र आत्म–सम्मानको लागि काम गर्नुपर्छ । जब व्यक्तिमा आत्मविश्वास र सकारात्मक सोच हुन्छ, तब उसले अरूलाई पनि सम्मान गर्न सक्छ ।
परिवारलाई माया गर्ने : परिवार नै समाजको आधारशिला हो । परिवारमा आपसी सम्मान, सहयोग र सद्भाव हुनुपर्छ । बालबालिकालाई नैतिक शिक्षा दिनुपर्छ ।
समाजलाई माया गर्ने : समाज भनेको हामी बसोबास गर्ने परिवेश हो । समाजलाई माया गर्नका लागि हामीले सामाजिक जिम्मेवारी बुझ्नुपर्छ । नागरिक कर्तव्य पूरा गर्ने, सहिष्णुता र सद्भाव कायम राख्ने, र सहयोगको भावना विकास गर्नुपर्छ ।
राष्ट्रलाई माया गर्ने : देशप्रेम भनेको नारा लगाउनु मात्र होइन । यो देशको लागि केही गरेर देखाउनु हो । राजनीतिक सहभागिता बढाउने, नैतिकताको राजनीतिलाई प्रोत्साहन गर्ने, र देशभित्रै केही गर्ने भावना विकास गर्नुपर्छ ।
- नागरिकका जिम्मेवारीहरू :
सचेत नागरिक बन्ने : हामीले देशको अवस्थाबारे जानकार हुनुपर्छ र सही र गलत छुट्याउन सक्नुपर्छ ।
भोटको सदुपयोग गर्ने : चुनावमा कुनै लोभमा नपरी योग्य, इमान्दार र क्षमतावान व्यक्तिलाई भोट दिनुपर्छ ।
कानुनको पालना गर्ने : स–साना कुराहरूमा पनि कानुनको पालना गर्नुपर्छ ।
भ्रष्टाचार नगर्ने/गर्न नदिने : आफू पनि भ्रष्टाचारमा लिप्त नहुने र अरूले गरेको भ्रष्टाचारलाई विरोध गर्ने साहस गर्नुपर्छ ।
सामाजिक सम्पत्तिको रक्षा गर्ने : सार्वजनिक सम्पत्ति हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षण गर्ने र यसलाई व्यक्तिगत स्वार्थमा प्रयोग नगर्ने जिम्मेवारी सबै नागरिकको हो ।
ड्ड राष्ट्रलाई माया गर्ने नागरिक भएका देशले गरेका प्रगति :
राष्ट्रलाई माया गर्ने नागरिक भएका देशले द्रुत गतिमा प्रगति गरेका धेरै उदाहरण छन् ।
जापान : दोस्रो विश्वयुद्धमा ध्वस्त भएको जापान नागरिकहरूको सामूहिक प्रयासले विश्वकै शक्तिशाली राष्ट्र बन्यो। त्यहाँका नागरिकहरू कामप्रति अत्यन्तै इमान्दार र लगनशील हुन्छन्। उनीहरू आफ्नो देश र त्यहाँको कानुनलाई असाध्यै सम्मान गर्छन् । उनीहरूले आफूलाई होइन, राष्ट्रलाई प्राथमिकता दिन्छन् ।
सिंगापुर : ५० वर्षअघि सिंगापुर एउटा सानो र गरिब देश थियो । तर, त्यहाँका नेता ली क्वान युको दूरदृष्टि र नागरिकहरूको कडा परिश्रम तथा अनुशासनले गर्दा आज यो देश विश्वकै सबैभन्दा धनी र व्यवस्थित देशमध्ये एक बनेको छ । त्यहाँको सरकारले कडा कानुन र नागरिकले त्यसको पूर्ण पालना गर्ने आचरणले नै यो सम्भव भएको हो ।
नेपालमा पनि यस्तै किसिमको परिवर्तन ल्याउन सम्भव छ । तर, त्यसका लागि हामीले दोषारोपण मात्र नगरी आ–आफ्नो ठाउँबाट सकारात्मक परिवर्तनका लागि काम गर्नुपर्छ । जेन्जी आन्दोलनले यसको सुरुवात गरेको छ । अब, यो आन्दोलनले दिएको चेतनाअनुसार पाका नेता वा आफ्नो आस्था भन्दा फरक पाटीलाई दोषारोपण गरेर पानीमाथि ओभानु बन्नु भन्दा रचनात्मक दिशातर्फ लैजाने जिम्मेवारी नँया पुस्ता र सबै नेपाली नागरिकको काँधमा छ । अझ भनौ हामी सबैले घर, चिया पसल, कलेज, अफिस, वा टहलिने जुनसुकै ठाँउमा जसरी कुरा उठान गर्दछौ । देश वर्वाद भो विगारे । के हामीले आ–आफ्ना कर्तब्य, जम्मेवारी वा आफूले गर्नुपर्ने काम पूर्णरूपमा गरेका छौ त ? सोचौ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया