फ्याक्ट्री फार्मिङ गर्नु यसकारण गलत छ
जब हामी नेपालमा खेतीपातीको कुरा गर्छौं, आँगनमा कुखुरा खोस्रिरहेको, पहाडमा बाख्रा चरिरहेको र गाउँको हिलोमा सुँगुर हिँडिरहेको दृश्य आउँछ । पुस्तौंदेखि, पशुपन्छी साना किसानका खेतीको हिस्सा भएका छन् जुन बाली र वनसँग सन्तुलनमा चलेका छन् । तर यो दृश्य अहिले हराउँदैछ ।
यसको साटो फ्याक्ट्री फार्मिङ – पशुपन्छीलाई औद्योगिक खोरमा र पिंजरामा ठूलो संख्यामा थुन्ने प्रणाली नेपालमा फैलिँदैछ । काठमाडौं उपत्यकामा अण्डा दिने कुखुराका लागि ब्याट्री पिंजराहरू बढ्दै छन् । सहरी नजिक सुँगुरका खोरहरू देखिन थालेका छन् । सतहमा हेर्दा, अण्डा, मासु र दक्षता बढेका कारण यो विकास जस्तो देखिएपनि यसभित्र ददर्नाक वास्तविकता लुकेको छ ।
प्रदूषण र जलवायु क्षति
औद्योगिक फार्ममा हजारौं पशुपन्छीलाई एउटै ठाउँमा राखिन्छ । तिनीहरूको फोहोर जस्तै मल, पिसाब, प्वाँख आदि आफैं विलाएर जाने हैन । यो फोहर यो नदीमा मिसिन्छ र यसले भूमिगत पानी दूषित गर्छ र स्वच्छ हावा पनि बिगार्छ । अमोनियाको दुर्गन्ध अप्रिय मात्रै होइन; यसले कामदारहरू र त्यसको आसपास बस्ने व्यक्तिहरुमा श्वासप्रश्वाससम्बन्धी रोग निम्त्याउँछ ।
विश्वभर, औद्योगिक पशुपालन १४.५% हरितगृह ग्यास उत्सर्जनको लागि जिम्मेवार छ । यो संख्या सबैजसो यातायातले निष्कासन गर्ने भन्दा पनि बढी हो । मलबाट निस्कने मिथेन र मलखादबाट निस्कने नाइट्रस अक्साइडले जलवायु परिवर्तनलाई बढावा दिन्छ । सोयाबीन र मकैको दाना आयात गरेर, नेपालले अप्रत्यक्ष रूपमा विदेशमा वन विनाशलाई योगदान पुर्याइरहेको छ । एक समय सामुदायिक वन कार्यक्रमले विश्वलाई नेतृत्व दिने देशले अब आफ्नै जलवायु प्रतिबद्धतालाई कमजोर पार्ने जोखिम मोल्दैछ ।
अर्को महामारीको प्रजनन स्थल
फ्याक्ट्री फार्महरू रोगका इन्क्युबेटर पनि हुन् । तनावमा रहेका, आनुवंशिक रूपमा समान पशुपन्छीले भरिएका खोरहरू बर्ड फ्लु र स्वाइन फ्लुका लागि उत्तम प्रजनन स्थल हुन् । पशुपन्छीलाई जीवित राख्न, एन्टिबायोटिक उपचारको रूपमा होइन, नियमित बीमाको रूपमा प्रयोग गरिन्छ । यो दुरुपयोगले मानिसले भर पर्ने औषधिहरूप्रति प्रतिरोधी ब्याक्टेरिया सिर्जना गर्छ । जसकारण रोग लागिहाले उपचार गर्दा एन्टिबायोटिकले पनि काम नगर्ने अवस्था आउन सक्छ ।
यस्तो किसिमको सूक्ष्मजैविक प्रतिरोधले सन् २०५० सम्ममा वार्षिक १ करोड मानिसको ज्यान लिन सक्ने भनेर विश्व स्वास्थ्य संगठनले नै चेतावनी दिइसकेको छ । कमजोर स्वास्थ्य प्रणाली र खुला सीमाना भएको नेपालले यस्तो खतरालाई आफैं निम्तो दिँदा ठूलो मूल्य चुकाउनुपर्ने हुन्छ ।
वास्तविक पीडितहरु
हामीले पशुपन्छीको पीडालाई बेवास्ता गर्न सक्दैनौं । ब्याट्री पिंजरामा रहेको कुखुराले पखेटा फिंजाउन सक्दैन । जेस्टेशन क्रेटमा रहेको सुँगुरले घुम्न सक्दैन । उनीहरुलाई गरिने पीडादायी शल्यक्रियाहरू पीडानाशक बिना गरिन्छ । फ्याक्ट्री फार्मिङले जीवित प्राणीहरूलाई उत्पादन एकाइमा परिणत गर्छ । हामीले छोड्न चाहेको विरासत यही हो त ?
समुदायमा प्रभाव
फ्याक्ट्री फार्महरूले मानिसहरूलाई पनि हानि पु¥याउँछन् । प्रदूषणले यस्ता फार्म नजिक बस्ने निम्न आय भएका परिवारहरूलाई असमान रूपमा असर गर्छ । नेपालको ग्रामीण अर्थतन्त्रको मेरुदण्ड मानिने साना किसानहरु औद्योगिक प्रतिस्पर्धीहरूका कारण धकेलिन्छन् । किसानहरू आयातित दाना र विदेशी कृषि व्यवसाय मोडेलमा निर्भर हुँदै जाँदा खाद्य सार्वभौमसत्ता घट्दै जान्छ ।
अबको सम्भावना
राम्रो कुरा के हो भने, नेपालसँग अझै सुध्रिने विकल्प छ । अन्य देशहरू पनि फ्याक्ट्री फार्मिङबाट टाढिँदै छन् । स्वीडेनले १९८८ मा ब्याट्री पिंजरा प्रतिबन्ध लगायो । जर्मनीले सुँगुरको क्रेट हटाउँदैछ र मानवीय विकल्पहरूमा अर्बौं लगानी गर्दैछ । सिंगापुर कल्टिभेटेड मासु अनुमोदन गर्ने पहिलो देश बन्यो । चीनले पनि आफ्ना नागरिकहरूलाई मासु खपत आधामा कटौती गर्न आग्रह गरेको छ ।
यस्ता छन् नेपालले लिन सक्ने फरक बाटो
- कृषि पारिस्थितिकीसँग मेल खाने पिंजरा–मुक्त प्रणालीलाई बढावा दिने,
- स्वास्थ्य संकट निम्त्याउनु अघि नै नियमित एन्टिबायोटिक प्रयोगमा प्रतिबन्ध लगाउने,
- वन विनाशसँग जोडिएको सोयाबीन आयात गर्नुको सट्टा स्थानीय दाना स्रोतहरूमा लगानी गर्ने,
- उच्च–कल्याणकारी उत्पादनहरूको सामान्यीकरणको लागि उपभोक्ता सचेतनालाई समर्थन गर्ने,
झट्ट हेर्दा फ्याक्ट्री फार्मिङ दक्ष देखिन सक्छ, तर यो झुटो अर्थतन्त्र हो । किनभने यसले निम्त्याउने प्रदूषित नदीहरू, नयाँ महामारीहरू, एन्टिबायोटिक प्रतिरोध र पशुको पीडा लुकेका लागतहरू छोटो अवधिको नाफाभन्दा धेरै मूल्य चुकाउनुपर्ने किसिमका छन् ।
यहाँ राजनीतिको प्रभाव हरेक ठाउँमा रहन्छ । पिंजरा–मुक्त अण्डा रोजेर, मासु खपत घटाएर र स्थानीय किसानहरूलाई समर्थन गरेर, हामी चाहेको खाद्य प्रणालीको पक्षमा वकालत गर्न सक्छौं । यसको महत्वलाई नीति निर्माताहरुले पनि समयमै बुझेर कदम चाल्नुपर्छ ।
अहिले नेपाल दोबाटोमा छ । एउटा बाटोले प्रदूषण, महामारी र निर्भरतातर्फ लैजान्छ । अर्कोले दिगोपन, लचिलोपनसँगै पशु, मानिस र पृथ्वीको मर्यादातर्फ लैजान्छ । कुन बाटो रोज्ने हो, छनौट हाम्रै हातमा छ ।
(राना पशु अधिकारकर्मी हुन् ।)
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया