वारपारतिर कांग्रेस विवाद, केही दिनभित्रै ठूलो घटनाक्रम विकास हुने संकेत
काठमाडौं । केन्द्रीय महाधिवेशन २१ फागुनको निर्वाचनअघि कि पछि भन्ने विषयमा कांग्रेसभित्रको विवाद अब वारपारको चरणमा प्रवेश गरेको छ ।
संस्थापन पक्षले नियमित महाधिवेशन वा विशेष महाधिवेशन दुवैमा स्पष्ट निर्णय नलिँदा विशेष महाधिवेशन पक्षधरले निर्णायक दबाब सिर्जना गर्न विशेष भेला नै बोलाएका छन् । केन्द्रीय समितिले मिति नतोके विशेष महाधिवेशन पक्षधर आफैं निर्णय लिने तयारीमा छन् ।
कांग्रेस उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति बनाएर घरमै बसेका सभापति शेरबहादुर देउवाले आफ्नै हस्ताक्षरमा आयोगमा दल दर्ता गरेपछि विवाद थप जटिल बनेको छ । त्यसपछि महामन्त्री गगन थापाले विशेष महाधिवेशनबाहेक विकल्प नरहेको र नयाँ सभापतिले नै कांग्रेसका उम्मेदवाका नाममा हस्ताक्षर गर्ने दाबी गरेका छन् ।
सोमबार सामाजिक सञ्जालमा लेख्दै थापाले विशेष महाधिवेशनको विकल्प नरहेको बताएका छन् । ‘अब विधानबमोजिम समयभित्रै विशेष महाधिवेशन हुन्छ । त्यहीँबाट नयाँ सभापतिको निर्वाचन हुन्छ । नयाँ सभापतिको हस्ताक्षरसहित निर्णय सच्चिएर निर्वाचन आयोगमा जान्छ । नयाँ नीति र नेतृत्वसहित त्यहीँ हस्ताक्षरणमा पार्टी चुनाव लड्छ । यही कारण हामीले निर्वाचनअगाडि नै महाधिवेशन भनेको हो । अब विशेष महाधिवेशनको विकल्प छैन,’ उनले लेखेका छन् ।
महाधिवेशनको मिति निर्धारणमा शीर्ष नेताहरूबीच सहमति नजुट्दा देउवा पुनः सक्रिय हुँदै गएका छन् भने महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्मा विशेष महाधिवेशनको अडानमा छन् । यी विषयले ११ मंसरका केन्द्रय कार्यसमिति बैठकअघि कांग्रेसभित्र ठूलो घटनाक्रम विकसित हुने देखिएको छ । संस्थापन पक्ष विशेष महाधिवेशनका लागि तयार नभए कांग्रेस विवाद कहाँ पुुगेर टुंगिन्छ भन्ने तस्बिर प्रष्ट भएको छैन । तर महामन्त्रीद्वय हरेक जोखिम कदम चाल्ने मनस्थितिमा रहेको कांग्रेसका कतिपय नेता बताउँछन् ।
केन्द्रीय कार्यसमितिको २८ असोजको बैठकमा सभापति देउवाले वरिष्ठतम उपसभापति खड्कालाई कार्यवाहक सभापति दिएर सिंगापुर गएयता खड्काको अध्यक्षतामा बैठक बस्दै आएको छ । तर, आइतबार कार्यवाहक सभापतिलाई बाइपास गरेर देउवाको हस्ताक्षरमा पार्टी दर्ताको निवेदन निर्वाचन आयोगमा बुुझाएपछि कांग्रेस संस्थापन पक्षबीचमै विवाद देखिएको छ । नेताहरूका अनुसार व्यक्तिगत रूपमा कार्यवाहक सभापति खडुका पनि सन्तुुष्ट छैनन् । तर उनले निकटस्थहरूसँग समेत यसबारे खुलेर बोलेका छैनन् ।
बिहीबार भेट्न गएका केन्द्रीय सदस्यहरूलाई देउवाले आफूले नेतृत्व खड्कालाई दिएकाले उनी र महामन्त्रीहरूसँग कुराकानी गर्न भनेका थिए । सामूहिक रूपमा गएका नेताहरूसँग उनले कार्यवाहक सभापतिसँग कुरा गर्न सुुझाव दिए पनि एक्लाएक्लै गएका नेताहरूलाई भने महाधिवेशनसम्म सक्रिय रहने बताउने गरेका छन् ।
नियमित महाधिवेशनमार्फत देउवाको सम्मानजनक बहिर्गमन गराउनुपर्नेमा पार्टीका पूर्वपदाधिकारीको समूहले विशेष महाधिवेशनतर्फ धकेलेको र देउवाले अब अपमानजनक बहिर्गमनको बाटो खोलेको ती केन्द्रीय सदस्यको आरोप छ, नयाँ पत्रिका दैनिकमा खबर छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया