NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

प्रधानमन्त्री कार्कीद्वारा जंगी अड्डाको निरीक्षण, निर्वाचन सुरक्षा तयारीबारे लिइन् जानकारी

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपाली सेनाको मुख्यालय जंगी अड्डाको निरीक्षण भ्रमण गरी निर्वाचन सुरक्षा तयारीबारे जानकारी लिएकी छन्।

यसक्रममा नेपाली सेनाले हालको सुरक्षा अवस्था, प्रमुख चुनौती र आगामी योजनाबारे ब्रिफिङ गरेको थियो। साथै निर्वाचन सुरक्षामा सेना परिचालनको योजना र ढाँचाबारे पनि प्रस्तुतीकरण दिइएको थियो।

प्रधानमन्त्री कार्कीले आन्दोलनपश्चात् गठित सरकारलाई मुलुकमा शान्ति सुरक्षा बहाल गराई यही फागुन २१ गते प्रतिनिधि सभा सदस्य निर्वाचन सम्पन्न गर्ने राष्ट्रिय अभिभारा रहेको बताउँदै निर्वाचनलाई स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न नेपाली सेनालाई प्राप्त जिम्मेवारी सफलतापूर्वक पूरा गर्ने विश्वास व्यक्त गरिन्।

निर्वाचनका सन्दर्भमा प्रधानमन्त्री कार्कीले दिएका मुख्य निर्देशन :

❖ जनतालाई सुरक्षाको प्रत्याभूति दिन, प्रहरी कारबाहीलाई सहजीकरण, सहयोग र सुरक्षित गर्न तथा सबै राजनीतिक दलका राजनीतिक गतिविधिहरूलाई बिना अवरोध सञ्चालन गर्ने वातावरण सिर्जना गर्न स्पष्ट कार्य योजनासहित अघि बढ्न म निर्देशन दिन्छु।

❖ मैले यसअघि पनि भन्दै आएको छु कि आगामी चुनावमा एक थोपा पनि रगत बग्नु हुँदैन र एक जना पनि घाइते हुनुहुँदैन। यसअघिका चुनावको समेत अनुभव र आसन्न चुनावका विविध आयामबाट विश्लेषण गरी सुरक्षा संवेदनशीलताका आधारमा सबै सुरक्षा निकायहरूसँगको समन्वयात्मक र त्रुटिरहित ढंगले काम गर्न म निर्देशन दिन्छु।

❖ जेनजी आन्दोलनको क्रममा लुटिएका र हराएका हातहतियारको खोजी तया नियन्त्रणमा लिन प्रहरीलगायत सुरक्षा निकायसँग सहकार्य गरी स्थिति सामान्य पार्ने र फरार अपराधी पक्रन प्रहरीलाई सहयोग गर्न पनि कुनै कसर बाँकी नराखी खट्नुहोस्।

कार्यक्रममा गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा, मुख्यसचिव सुमनराज अर्याल, प्रधान सेनापति अशोकराज सिग्देल लगायतको उपस्थिति थियो।

ताजा अपडेट

नेपालवाच विशेष