एघारौँ महाधिवेशनका लागि एमालेले आज देशैभरि प्रतिनिधि छनोट गर्दै
काठमाडौँ। एघारौँ महाधिवेशनका लागि नेकपा एमालेले आज देशैभरी प्रतिनिधि छनोट गर्दैछ । मंसिर २७-२९ गतेमा काठमाडौँमा हुने पार्टीको महाधिवेशनका लागि प्रतिनिधिहरू छनोट गर्न लागिएको हो।
एमाले केन्द्रीय कार्यालयका अनुसार ११ मंसिरमा सबै निर्वाचन क्षेत्रमा प्रतिनिधि निर्वाचनका लागि उम्मेदवारी मनोनयन भएको छ । केही निर्वाचन क्षेत्रमा ११ मंसिरमै सहमति जुटेको छ । सहमति नजुटेका क्षेत्रहरूमा आज बिहान ८ बजेदेखि निर्वाचन हुँदैछ ।
निर्वाचनको समयमा अधिकांश क्षेत्रमा दिउँसो २ बजेसम्म राखिएको छ । विभिन्न जिल्लाहरूले अनुकूलता अनुसार मतदानको समय तय गरेको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।
गौतमका अनुसार संघीय निर्वाचन क्षेत्रबाट खुला,महिला,दलित तथा युवाहरू सहित करिब २ हजार प्रतिनिधि छनोट हुँदैछन् । यस्तै प्रवास,जनसंगठन र विभागहरूबाट करिब १ सय प्रतिनिधि छनोट हुनेछन् । एमाले महाधिवेशनमा करिब २२ सय मनोनीत प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधि छनोटका लागि केन्द्रीय संगठन विभागले सिफारिस गरेको प्रस्तावलाई पार्टी सचिवालयले यस अघि पनि पास गरेर मातहतका कमिटीमा पठाइसकेको छ ।
एमालेको १५ कात्तिकमा बसेको केन्द्रीय सचिवालय बैठकले गरेको निर्णय अनुसार प्रतिनिधिसभा निर्वाचन क्षेत्रलाई आधार मानी प्रति १२०० सदस्य खुला दुई र महिला एक निर्वाचित गर्नुपर्ने छ । यसरी प्रतिनिधि छान्दा एक जना ४० वर्ष भन्दा कम उमेरका युवा अनिवार्य हुनुपर्ने छ।
दलितका लागि प्रति पाँच सय सदस्य एक प्रतिनिधि निर्वाचित गर्नुपर्ने विधि राखिएको छ। ट्रेड युनियनमा प्रदेशबाट सात जना प्रतिनिधि रहनेछन् । जनसंगठनबाट प्रतिजन संगठन पाँच जनाको प्रतिनिधित्व रहने छ। महासंघीय ढाँचामा रहेका जनसंगठनबाट भने सात जना प्रतिनिधि रहनेछन् ।
विभाग र कार्यालयबाट एक एक जना प्रतिनिधि रहनेछन् । प्रवासबाट महादेश अनुसार पाँच जना प्रतिनिधि रहने छन् ।
केन्द्रीय कमिटीबाट ३५४ जना स्वतः प्रतिनिधि हुनेछन् । त्यस्तै अनुशासन आयोगबाट २९, लेखा आयोगबाट ३०, निर्वाचन आयोगबाट २५, सल्लाहकार परिषद् बाट २५ जना प्रतिनिधि रहनेछन्।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया