NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २२ गते

कमला नदीमा अस्थायी ‘डाइभर्सन’ बनाइँदै

सिरहा– हुलाकी सडकअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा तत्कालका लागि आवतजावतलाई सहज बनाउन अस्थायी ‘डाइभर्सन’ निर्माण हुने भएको छ।

हुलाकी सडक निर्देशनालयअन्तर्गतको योजना कार्यालय जनकपुरले आइतबार डाइभर्सन सडक निर्माणका लागि ठेक्कासम्बन्धी सूचना प्रकाशित गरेको छ।

कार्यालयका प्रमुख कृष्णकुमार महतोका अनुसार एक करोड २४ लाख ८५ हजार रुपैयाँको लागतमा सिरहाको बसविट्टाघाट र कमला खोलालाई जोड्ने गरी ५५ मिटर लम्बाइ र १० मिटर चौडाइको अस्थायी ‘डाइभर्सन’ निर्माण गर्न लागिएको हो।

आकस्मिक कार्यअन्तर्गत आह्वान गरिएको ठेक्काअनुसार एक महिनाभित्र काम सम्पन्न गर्नुपर्नेछ।

यहाँ विगत १४ वर्षदेखि पक्की पुल निर्माणाधीन अवस्थामा छ। हाल स्थानीय युवाले बनाएको काठको पुल र नदीमा डुङ्गाको माध्यमबाट जोखिमपूर्ण यात्रा गर्न बाध्य हुनुपरेको छ।

यसैबीच यही मंसिर ५ गते भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले पुलको निरीक्षणका क्रममा तत्कालै अस्थायी प्रकृतिको डाइभर्सन बनाउने प्रतिबद्धता जनाएका थिए।

मन्त्री घिसिङको निर्देशनपछि पुल निर्माणको जिम्मेवारी लिएको लुम्बिनी बिल्डर्सका सञ्चालक विष्णुप्रसाद शर्माले मन्त्रीसमक्ष अधुरो पुल तीन महिनाभित्रै सम्पन्न गरेर सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका थिए।

विसं २०६८ जेठमा तीन वर्षमा सम्पन्न गर्ने गरी निर्माण सुरु भएको यो पुल १४ वर्ष बितिसक्दा पनि अधुरै छ। विसं २०७८ असार १७ गते कमलाको बाढीले भाँसिएको पुलको निर्माण सम्झौता हाल नवौँपटक म्याद थपको प्रक्रियामा छ।

डुङ्गाबाट नदी वारपार गर्दा ठूलो जोखिम बढेकाले पक्की पुल पुनर्निर्माण भएर सञ्चालनमा नआउञ्जेल डाइभर्सनले ठूलो राहत प्रदान गर्नेछ।

ताजा अपडेट

नेपालवाच विशेष