NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

महसुर उपसचिव : बसाइँ अस्ट्रेलियामा, हाजिर नेपालमा

काठमाडौं । सरकारी जागिर खान आफ्नो पोस्टिङ रहेको सम्बन्धित कार्यालयमै उपस्थित हुनुपर्छ । तर  उपसचिवस्तरका एक सरकारी कर्मचारीले भने अस्ट्रेलिया बसेरै नेपालको जागिर खाइरहेको फेला परेको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको पशु सेवा विभागमा कार्यरत उपसचिवस्तरका वरिष्ठ पशु चिकित्सक डा. नवीन उपाध्याय घिमिरे अस्ट्रेलियामा रहेकै बखत नेपालमा हाजिर भएको भेटिएपछि अनौठो रहस्य बाहिर आएको हो ।

घिमिरे गत चैत २८ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै अस्ट्रेलिया प्रस्थान गरेका थिए । कर्मचारी संकेत नम्बर १९४४९२ रहेका घिमिरे तत्पश्चात विभागमा उपस्थित भएको त्यहाँ कार्यरत कुनै पनि कर्मचारीले देखेका छैनन् । तर विभागको म्यानुअल हाजिरी रेकर्डमा २९ असार ०८२ देखि ९ साउन ०८२ सम्म १३ दिन उनी हाजिर भएको भेटिएको छ । उनको १३ दिनको हाजिरमा हस्ताक्षर समेत फरक-फरक रहेको स्रोतले जनाएको छ । डा. घिमिरे कार्यालयमा उपस्थित भएको कसैले नदेख्नु र म्यानुअल हाजिर कपीमा हस्ताक्षरसमेत फरक-फरक हुनुले त्यहाँ कार्यरत कर्मचारीले उनको हाजिरी गरिदिएको हुनसक्ने आशंका गरिएको छ ।

पशु सेवा विभागका प्रशासन शाखा प्रमुख समेत रहेका उपसचिव चिरञ्जीवी गिरीले यसबारे छानबिन भइरहेको नेपालवाचलाई जानकारी दिए । ‘यसबारे अहिले हामी अध्ययन तथा छानबिनको काम गरिरहेका छौं । यो सकिएपछि मात्रै यसबारे थप बताउन सकिएला,’ उनले भने ।

नेपालवाचको सम्पर्कमा आएका पशु सेवा विभागका महानिर्देशक डा. रामनन्दन तिवारीले भने यसबारे कुनै प्रतिक्रिया दिन चाहेनन् । बरु प्रशासन शाखामा सम्पर्क गर्नु भन्दै पन्छिए । ‘यसबारे एक सातापछि मात्र बताउन सक्छु, अहिले केही नबोलौं । थप केही जानकारी चाहिएको भए प्रशासन शाखामा सम्पर्क गर्नु,’ उनले भने ।

स्रोतका अनुसार, गत वैशाख २ गतेदेखि असार २७ गतेसम्मको डा. घिमिरेको हाजिर रेकर्ड खाली छ । सुरुको हाजिरी रेकर्ड खाली भए पनि साउन ११ देखि भदौ १ गतेसम्मको घर बिदा र बिरामी बिदा उनले इमेलमार्फत महानिर्देशक तिवारीलाई पठाएका थिए । जुन स्वीकृत भइसकेको बताइएको छ । सुरुको बिदा हालसम्म स्वीकृत नगराएका उनले भदौ २ देखि हालसम्मको बिदा पनि लिएका छैनन् । जुन ९० दिनभन्दा बढी हुन आउँछ ।

तिवारीको भूमिका शंकास्पद

पशु सेवा विभागमा अहिले विद्युतीय हाजिरी छ । तर केही समय अघिसम्म पनि त्यहाँ म्यानुअल हाजिरी कपी थियो । त्यसैको फाइदा उठाउँदै डा. घिमिरे कीर्ते हाजिरी गराउन सफल भएको बताइन्छ ।

महानिर्देशकको सचिवालयमा हुने हाजिरी कपीमा अस्ट्रेलियामा रहेका कर्मचारी हाजिर भएकोे देखिएपछि महानिर्देशकतर्फ समेत प्रश्न सोझिएको छ । विभागमा कार्यरत कर्मचारी महानिर्देशक तिवारी र सचिवालयमा कार्यरत कर्मचारीको मिलेमतोमा मात्र यो काम हुनसक्ने भएकाले महानिर्देशक र सचिवालयमा कार्यरत कर्मचारीमाथि छानबिन हुनुपर्ने बताउँछन् । ‘कीर्ते हाजिरी गर्ने उपसचिवमाथि त कारबाही हुनुपर्छ नै, उनलाई त्यो अवसर प्रदान गर्नेमाथि पनि अनुसन्धान हुनुपर्छ,’ विभागका एक पशु चिकित्सकले भने ।

निजामती सेवा ऐन, २०४९ मा कुनै पनि निजामती कर्मचारी बिनाजानकारी ९० दिनभन्दा बढी समय कार्यालयमा अनुपस्थित रहेमा पूरा गरेर सेवाबाट हटाउन सकिने व्यवस्था छ। डा. घिमिरे कार्यालयमा गैरहाजिर रहेको ९० दिनभन्दा बढी समय भइसकेको छ । तर विभागले अहिलेसम्म उनीमाथिको कारबाही प्रक्रिया अघि बढाएको छैन, बरु उनको हाजिरी मिलाइदिने खेलोमेलोमा लागेको आरोप त्यहाँका कर्मचारी लगाउँछन् । यसले पनि डा. घिमिरे कीर्ते हाजिरी प्रकरणमा महानिर्देशकको भूमिकालाई थप संशयको घेरामा राखेको छ ।

केही समयदेखि अस्ट्रेलियामा स–परिवार बस्दै आएका घिमिरेले त्यहाँ रेस्टुरेन्ट सञ्चालन गर्ने गरेका छन् । नेपालको चर्चित सेकुवा कर्नर बाजेको सेकुवाको शाखा सञ्चालन गरेका उनले सामाजिक सञ्जालमार्फत नियमित त्यसको विज्ञापन गर्ने गरेका छन् । डा. घिमिरेसँग नेपालवाचले सम्पर्कको प्रयास गरे पनि स्थापित हुन सकेन ।

सतर्कतामा उजुरी

यसैबीच, विभागमा कार्यरत कर्मचारीले सतर्कता केन्द्रमा उजुरी गरेका छन् । उजुरीमा कीर्ते हाजिर प्रकरणको छानबिन गरेर दोषीमाथि कारबाही गर्न माग गरिएको छ ।

केन्द्रले पनि यसबारे उजुरी आएको र छानबिन प्रक्रिया अघि बढाइएको जनाएको छ ।