एमालेमा प्रतिशोधको राजनीति, ईश्वर प्यानलका नेतालाई ओलीले दिएनन् टिकट
काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको महाधिवेशनमा आफूविरुद्ध खडा भएका नेतामाथि प्रतिशोध साधेका छन् । आगामी फागुन २१ का लागि तय प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा ईश्वर पोखरेल प्यानलका नेताहरूलाई छुटाएर उनले अनुदार रवैया देखाएका हुन् ।
ओलीको हालीमुहाली रहेको नेकपा (एमाले)ले शनिबार प्रतिनिधिसभाको प्रत्यक्षतर्फको १४० उम्मेदवार टुंगो लगाएको छ । जसमा ईश्वर पोखरेल प्यानलबाट गत महाधिवेशनमा प्रतिस्पर्धा गरेका तथा यो प्यानललाई साथ दिएका एकाधबाहेकलाई प्रतिनिधिसभा निर्वाचनको उम्मेदवार बनाइएको छैन ।
गत महाधिवेशनमा ओलीविरुद्ध अध्यक्षमा खडा भएका ईश्वर पोखरेल नै टिकटबाट वञ्चित भएका छन् । पोखरेल लामो समयदेखि काठमाडौंबाट उम्मेदवार बन्दै आइरहेका थिए ।
नेकपा एमालेको गत महाधिवेशनमा महासचिवका प्रत्यासी सुरेन्द्र पाण्डेमाथि पनि ओलीले प्रतिशोध साँधेका छन् । पाण्डे प्रतिनिधिसभा सदस्य उम्मेदवारका आकांक्षी भए पनि ओलीको हालहुकुम चल्ने एमालेले उनलाई टिकट दिएन ।
त्यस्तै, ईश्वर प्यानलबाट सचिव पदमा उम्मेदवारी दिएर पराजित बनेका विनोद ढकाल, गोकुल बाँस्कोटा, कृष्णगोपाल श्रेष्ठ, कर्ण थापा, ठाकुर गैरे, रचना खड्काले पनि टिकट पाएनन् । यीमध्ये गोकुल बास्कोटा काभ्रे–२ र ठाकुर गैरे पाल्पा–२ बाट गत प्रतिनिधिसभा निर्वाचनमा निर्वाचित भएका थिए ।
ईश्वर प्यानलबाट उपाध्यक्षमा विजयी गोकर्ण विष्टले भने टिकट पाएका छन् । उनलाई ओलीले गुल्मी–१ को टिकट दिएका हुन् । ईश्वर प्यानलबाटै उपमहासचिवमा विजयी योगेश भट्टराई भने टिकटबाट वञ्चित भएका छन् । गत प्रतिनिधिसभा निर्वाचनमा ताप्लेजुङबाट विजयी भट्टराई यस पटक पनि पुरानै क्षेत्रबाट उम्मेदवारका आकांक्षी थिए ।
ओलीले महाधिवेशनको इगो प्रतिनिधिसभा निर्वाचनको टिकट वितरणमा गरेपछि ईश्वर पोखरेल समूह रुष्ट बनेको छ ।


प्रतिक्रिया