कुलमानका सुरुका सहयात्री, जो रास्वपामा मिसिएपछि फर्किएनन्
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकको भूमिकामा छँदा हासिल गरेको लोकप्रियता भजाउँदै राजनीतिमा होमिएका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ आफूले चालेका अपरिपक्व कदमका कारण सुरुमै अप्ठ्यारोमा परेका छन् । आधारभूत विषयमै सहमति नगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग एकता गरेर १२ दिनमा अलग हुँदा समानुपातिकतर्फ प्रतिस्पर्धा गर्नबाट उनका पार्टी विमुख भएको छ ।
रास्वपासँगको एकताबाट अलग हुँदा कुलमानले स्थापनाकालीन केही सहकर्मीको साथसमेत गुमाएका छन् । कुलमानसँगै उज्यालो नेपालबाट रास्वपामा गएका नेता एकता भंगपछि पुरानो घर नफर्की उतै बसेका हुन् ।
आफू नेपथ्यमा रहेर कुलमानले उज्यालो नेपाल पार्टी स्थापना गरेलगत्तै टिभी होस्ट् रीमा विश्वकर्मा यो पार्टीसँग जोडिएकी थिइन् । उज्यालो नेपाल पार्टीले आयोजना गरेका पत्रकार सम्मेलन लगायत कार्यक्रममा सुरुमा उनी नै प्रस्तोताका रूपमा देखापरेकी थिइन् । पुराना राजनीतिक दललाई लक्ष्य गर्दै उनले दिएका कतिपय अभिव्यक्तिमाथि सामाजिक सञ्जालमा चर्चा परिचर्चा समेत भएको थियो । तर तिनै रीमा उज्यालो नेपाल पार्टी एकता भंग गरेर रास्वपाबाट अलग हुँदा कुलमानसँग नफर्की रास्वपासँगै बसेकी छन् । उनी रास्वपाको तर्फबाट प्रतिनिधिसभाको समानुपातिकतर्फको उम्मेदवारसमेत हुन् ।
रीमाजस्तै डा. विशला भण्डारी, डा. घनश्याम पाण्डे, डा. तारा जोशी, डा. सागर ढकाल, डा. अभिषेक सिंह, निर्देश सिलवाल र सञ्जीव भट्टराई पनि रास्वपामै बसेका छन् । रास्वपाले समानुपातिक उम्मेदवार बनाएपछि तथा उज्यालो नेपालभन्दा बलियो भन्ने सम्भावना देखिएपछि उज्यालो नेपालबाट रास्वपामा पसेका कतिपय नेता उतै बसेका हुन् ।
निर्वाचन आयोगको निर्वाचन कार्यतालिकाका कारण समानुपातिकतर्फ उम्मेदवारी दिनबाट वञ्चित कुलमान नेतृत्वको उज्यालो नेपाल पार्टीले प्रत्यक्षतर्फ भने उम्मेदवारी दिने तयारी गरेको गरेको छ । समानुपातिकतर्फको उम्मेदवारी मनोनयन गर्ने समय माघ ४ गतेका लागि तोकिएको छ । फागुन २१ गतेका लागि तोकिएको प्रतिनिधिसभा निर्वाचनमा कुलमान आफैं काठमाडौंबाट प्रतिस्पर्धा गर्ने मनस्थितिमा छन् ।


प्रतिक्रिया