NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

बैतडीका दुई स्थानीय तह प्रमुख प्रशासकीय अधिकृत विहीन, कामकाज ठप्प

दशरथचन्द (बैतडी) । प्रमुख प्रशासकीय अधिकृत नहुँदा जिल्लाका दुई स्थानीय तहमा आर्थिक–प्रशासनिक कामकाज ठप्प भएको छ । जिल्लाको सुर्नया र पञ्चेश्वर गाउँपालिका महिनौँदेखि प्रमुख प्रशासकीय अधिकृत विहीन छन् ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले यी दुईवटै स्थानीय तहमा प्रमुख प्रशासकीय अधिकृत पठाए पनि गाउँपालिकामा हाजिर नभई बाटोबाटै अन्यन्त्र सरुवा गरिदिएपछि गाउँपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएका हुन् ।

सुर्नया गाउँपालिका अध्यक्ष अमरबहादुर कुँवरले प्रमुख प्रशासकीय अधिकृत नहुँदा आर्थिक तथा प्रशासनिक काम रोकिएको जानकारी दिए। “पटकपटक मन्त्रालयलाई आग्रह गर्दा बल्लतल्ल पठाएको प्रमुख प्रशासकीय अधिकृत पनि बाटैबाट सरुवा गरिदिएछ । त्यो समस्या समाधान हुन सकेको छैन”, उनले भने ।

सुर्नयाका प्रमुख प्रशासकीय अधिकृत वसन्तबहादुर धानुकको निर्वाचन आयोगमा सरुवा गरिएको थियो । पछि गत पुस ६ गते मन्त्रालयले खगेन्द्र भारतीलाई प्रमुख प्रशासकीय अधिकृत पठाएको थियो । भारतीलाई पनि गाउँपालिकामा हाजिर नै नहुँदै जिल्ला निर्वाचन कार्यालय बैतडी सरुवा गरिएको थियो ।

यस्तै, कात्तिक अन्तिम साता मन्त्रालयले पञ्चेश्वर गाउँपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत दलबहादुर धामीको बैतडीकै मेलौली नगरपालिकामा सरुवा गरेको थियो । मन्त्रालयले पुस १४ गते वीरसिंह भण्डारीलाई यहाँ प्रमुख प्रशासकीय अधिकृतमा खटाए पनि हालसम्म हाजिर नभएको गाउँपालिका अध्यक्ष गोरखबहादुर चन्दले बताए।

आफू बिदामा रहेकाले हालसम्म मन्त्रालयले सरुवा गरेको जानकारी नपाएको पञ्चेश्वरमा खटाइएका प्रमुख प्रशासकीय अधिकृत भण्डारीको भनाइ छ ।

प्रमुख प्रशासकीय अधिकृत नहुँदा योजना कार्यान्वयन, सामाजिक सुरक्षा भत्ता र तलब निकासाका लागिसमेत समस्या भएको दुवै पालिकाले जनाएका छन् ।