पाल्पा–२ को निर्णयमा ओली यु–टर्न, अन्ततः ठाकुरले पाए टिकट
काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार चयनको अन्तिम घडीमा नेकपा एमालेले पाल्पा क्षेत्र नम्बर २ मा निकै नाटकीय निर्णय लिएको छ। सुरुमा उम्मेदवारको दौडबाट बाहिरिएका प्रभावशाली नेता ठाकुर गैरेले अन्ततः पार्टीको टिकट हात पार्न सफल भएका छन्।
सोमबार बिहानसम्म एमाले अध्यक्ष केपी शर्मा ओली रामबहादुर राउतलाई उम्मेदवार बनाउने मनस्थितिमा थिए । तर ओली आफ्नो पूर्ववत् निर्णय परिवर्तन गर्दै गैरेलाई टिकट दिने निर्णयमा पुगेका छन् ।
एमाले स्रोतका अनुसार, प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल गैरेको आधिकारिक टिकट बोकेर पाल्पा प्रस्थान गरेका छन् ।
यो क्षेत्रको चुनावी टिकटलाई लिएर एमालेभित्र निकै ठूलो रस्साकस्सी चलेको थियो। सुरुमा उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई यहाँबाट उठाउने चर्चा चले पनि उनी रूपन्देही–२ मै केन्द्रित भएपछि टिकटको विषय पेचिलो बनेको थियो । आइतबारसम्म अध्यक्ष केपी शर्मा ओली निकट मानिने रामबहादुर राउतले टिकट पाउने निश्चित भएको थियो। तर, अघिल्लो निर्वाचनमा जित हासिल गरेका लोकप्रिय नेता गैरेलाई पाखा लगाइएको भन्दै पार्टीभित्र र बाहिर चर्को विरोध भएपछि नेतृत्व दबाबमा परेको थियो।
सम्भावित अन्तर्घात र चुनावी जोखिमलाई मध्यनजर गर्दै एमालेले आफ्नो निर्णय परिवर्तन गरेको बताइएको छ । पाल्पा–२ मा गैरेको पुनरागमनसँगै यहाँको चुनावी प्रतिस्पर्धा थप रोचक हुने देखिएको छ।


प्रतिक्रिया