हिउँदेवर्षाले ल्यायो हुस्सु र कुहिरो, जनजीवनदेखि उडानसम्म प्रभावित
काठमाडौं । हिउँदेवर्षाले काठमाडौं उपत्यकासहित देशका विभिन्न भागको जनजीवन प्रभावित भएको छ । वर्षाले निम्त्याएको हुस्सु र कुहिरोले चिसो बढाएपछि जनजीवन प्रभावित भएको हो ।
मौसम पूर्वानुमान महाशाखाले वाष्पीकरणका बेला माथिल्लो वायुमण्डलको तापक्रम चिसो भएकाले पानीका साना साना कण तल धकेलिएर जमिनमै रोकिँदा हुस्सुकुहिरो लागेको जनाएको छ ।
वर्षासँगै हुस्सु र कुहिरो लाग्दा काठमाडौं उपत्यकासहित देशका अधिकांश भागमा चिसो बढेको छ ।
हुस्सु र कुहिरोका कारण हवाई उडानसमेत प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार बिहानदेखि उडान तथा अवतरण हुन सकेको छैन । त्यस्तै, भद्रपुर, जनकपुर, पोखरा, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत विमानस्थलको उडान प्रतिकूल मौसमका कारण प्रभावित भएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार, नेपालमा अहिले पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । यही मौसमी प्रणालीका कारण बिहीबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात र वर्षाको सम्भावना देखिएको छ । तराई भू–भागका धेरै स्थानहरूमा भने हुस्सु र कुहिरो रहनेछ। यी क्षेत्रमा अहिले पनि हुस्सु र कुहिरो लागिरहेका छन् ।
महाशाखाले बिहीबार बिहान जारी गरेको मौसमी बुलेटिनअनुसार आज राति पनि तराई भू–भागका केही स्थानहरूमा हुस्सु जारी नै रहनेछ । कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लाग्नेछ र बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने छ। कोशी, बागमती र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा भने रातिको समयमा हल्का हिमपात र वर्षाको सम्भावना औंल्याइएको छ ।
ताजा अपडेट
-
मुद्दा फर्छ्यौटमा ‘अब्बल’ न्यायाधीश आचार्य विशेष अदालतको अध्यक्ष नियुक्त
-
हदबन्दीभन्दा बढी जग्गाको देशव्यापी अनुगमन सुरु, ४० भन्दा बढी जिल्लामा फिल्डमै पुगिने
-
हस्तकला विकास बोर्ड गठनमा सरकार सकारात्मक छ: प्रधानमन्त्री
-
व्यवसायी शंकर अग्रवाल पक्राउ
-
यस्ता छन् मन्त्रिपरिषद बैठकका सात निर्णय


प्रतिक्रिया