NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

खाद्य परिकार यमरी युनेस्कोको अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियामा

 

काठमाडौँ – नेवार समुदायको परम्परागत, मौलिक एवं सांस्कृतिक खाद्य परिकार यमरीलाई संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक संस्कृतिक सङ्गठन (युनेस्को)को अभौतिक सांस्कृतिक सम्पदामा सूचीकृत प्रक्रियाबारे छलफल अघि बढेको छ।

काठमाडौं महानगरपालिकाको सम्पदा तथा पर्यटन समितिका पदाधिकारी र समुदायका प्रतिनिधिबीचको छलफलमा यस्तो प्रक्रिया अघि बढाइएको समितिका संयोजक आशामान सङ्गतले जानकारी दिए।

‘हरेक शुभकार्यसँग जोडिएको यमरीको महत्त्व र पहिचानलाई राष्ट्रियकरण गर्दै अभौतिक युनेस्कोको अभौतिक सम्पदा विधामा सूचीकृत गराउनु अन्तर्राष्ट्रियकरणको प्रक्रिया हो। यसले नेपालकै पहिचान वृद्धि हुन्छ,’ छलफलमा समितिका संयोजक आशामान सङ्गतले भने, ‘यमरी बनाउने परम्परा खाद्य परिकारमात्र होइन। प्रकृति, कृषि पेसा, धार्मिक, सांस्कृतिक तथा सामाजिक पक्षसँग गहिरो सम्बन्ध राख्छ।’

यसले सम्पदाको एकीकृत विकासमा टेवा दिन्छ। समितिले अमूर्त सांस्कृतिक सम्पदाको पहिचान, अध्ययन, अभिलेखन, विकास र प्रवर्द्धनलाई पहिलो प्राथमिक कार्यक्रममा राखेर काम गरिरहेको उनको भनाइ थियो।

त्यस क्रममा समितिका सदस्य एवं वडा १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, सूचीकृत हुने प्रक्रियालाई निर्धारित समयभित्रै सक्नुपर्नेमा जोड दिए। ‘कामपाका पुराना सहरी क्षेत्रका चोकचोकमा, गुठीगुठीमा, हरेक संस्कार र परम्परामा अमूर्त सम्पदा छन्,’ उनले भने। उनले यस्ता सम्पदाको गरिमा प्रवर्द्धनमा सबै मिलेर काम गर्नुपर्ने बताए।

यमरीको गरिमालाई स्थानीयस्तरमा पनि प्रवर्द्धन गर्न अभिमुखीकरण र प्रशिक्षण सञ्चालन गरिनुपर्ने महर्जनले बताए। छलफल र अन्तर्क्रियालाई नियमितता दिइने, त्यस्ता कार्यक्रममा समुदायका अगुवाहरूको सुझाव र प्रतिक्रियालाई ग्रहण गरिने सम्पदा तथा पर्यटन विभागका प्रमुख कुमारी राईको भनाइ छ।

छलफलमा ज्यापू महागुथि नेपा, नेपाल तण्डुकार समाज, बज्राचार्य संरक्षण क्लब, कारञ्जित समाज, स्यस्यः समाज, रञ्जितकार समाज नेपाल, चित्रकार (पूँ) समाज, केन्द्रीय मानन्धर सङ्घ, कपाली समाज, उदय समाज, नेपाल माली समाज, कसाः तध गुथि, ताम्राकार समाज, राजकर्णिकार समाज, रजक समुदाय विकास सङ्घ, द्योला समाज सङ्घ, नेपाल खड्गी सेवा समिति, नकःमि समाज सेवा पुचः, नेपाल नापित समाजका पदाधिकारी तथा प्रतिनिधिहरूले धारणा राखेका थिए।

अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी महासन्धि २००३ मा भएको हो। नेपाल सन् २०१० मा पक्ष राष्ट्र भएको हो। यसअन्तर्गत आफ्नो देशभित्र रहेका अभौतिक सांस्कृतिक सम्पदाहरूको सूची तयार पार्नु, अनुसन्धान गर्नु, सुरक्षा, संरक्षण र प्रवर्द्धन तथा परम्परालाई निरन्तरता दिनु महत्त्वपूर्ण कामहरू हुन्। रासस