नुवाकोट–२ मा रोचक प्रतिस्पर्धा, विरासत जोगाउने दाउमा कांग्रेस, लहर पर्खिंदै रास्वपा
काठमाडौं । आगामी फागुन २१ का लागि निर्धारित प्रतिनिधिसभा निर्वाचनको मिति नजिकिँदै जाँदा नुवाकोटको क्षेत्र नम्बर २ मा चुनावी गतिविधि बढेको छ । यो क्षेत्रबाट चुनावी मैदानमा उत्रिएका उम्मेदवारहरू अहिले नतिजा आफ्नो पक्षमा पार्न मतदाताको घरदैलो चहारिरहेका छन् ।
यो क्षेत्रमा नेपाली कांग्रेसले जगदीश नरसिंह केसी, नेकपा (एमाले) ले केशव पाण्डे, नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले हीरानाथ खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले डा. अच्युतम लामिछाने र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले झनक प्याकुरेललाई मैदानमा उतारेको छ । यसबाहेकका अन्य दलहरूले पनि यो क्षेत्रमा उम्मेदवार खडा गरेका छन् । सबै गरेर कुल १२ उम्मेदवार यो क्षेत्रको चुनावी दौडमा छन् ।
एक दर्जन उम्मेदवार यो क्षेत्रका जनताको बीचमा पुगे पनि मुख्य प्रतिस्पर्धा नेपाली कांग्रेस, रास्वपा र नेकपा एमालेबीच नै हुने अनुमान गरिएको छ । ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनको परिणामले पनि उल्लिखित तीन दलबीचमै कडा प्रतिस्पर्धा हुने देखाउँछ । यद्यपि, ०७९ को निर्वाचन र अहिले राष्ट्रिय राजनीतिदेखि, मतदाताको मनाेविज्ञानसम्म बदलाव आएकाले परिणाम कसको पोल्टामा पर्छ भनेर अनुमान लगाउन सकिने अवस्था छैन ।
गत प्रतिनिधिसभा निर्वाचनमा यो क्षेत्रबाट कांग्रेसका अर्जुननरसिंह केसी सानदार मतका साथ विजयी भएका थिए । केसीले २८ हजार १०७ मतका साथ जित दर्ज गराउँदा दोस्रो स्थान बनाएका रास्वपाका सुमनविक्रम पाण्डे १६ हजार ४७७ मतमै रोकिएका थिए । यद्यपि, केसीले पाएकाे मत माअाेवादीसहितकाे हाे । किनभने, ०७९ मा कांग्रेस र माओवादीबीच याे क्षेत्रमा चुनावी तालमेल भएकाे थियाे ।
एमालेका नारायणप्रसाद खतिवडा तेस्रो हुँदा राप्रपाका झनक प्याकुरेल निकै कमजोर मतका साथ चौथो स्थानमा खुम्चिएका थिए । खतिवडा र प्याकुरेलले क्रमशः १५ हजार ५६१ र १ हजार ५७१ मत पाएका थिए ।
समानुपातिकतर्फ पनि यो क्षेत्रमा कांग्रेसले नै सबैभन्दा बढी मत पाएको थियो । कांग्रेसले २० हजार ८५ मत पाउँदा प्रत्यक्षतर्फ दोस्रो भएको रास्वपा तेस्रोमा र एमाले दोस्रो पोजिसनमा उक्लिएको थियो । यो क्षेत्रमा समानुपातिकतर्फ एमालेले १५ हजार २४८ मत हासिल गर्दा रास्वपाले १० हजार ८३४ मत बटुलेकाे थियो । तत्कालीन नेकपा माओवादी पनि ०७९ काे चुनावमा यो क्षेत्रबाट सम्मानजनक भोट बटुल्न सफल भएको देखिन्छ । उसले १० हजार ४३४ मत पाएको थियो । राप्रपाले समानुपातिकतर्फ पाएको मत ४ हजार ४०४ छ।
निर्वाचन आयोगका अनुसार, यो क्षेत्रमा यसपाला १ लाख २३ हजार ९३९ मतदाता रहेका छन् जुन ०७९ मा सम्पन्न निर्वाचनको भन्दा ३ हजार ४८५ ले बढी हो । कुल मतदातामध्ये पुरुषको संख्या ६३ हजार ३६५ र महिला मतदाताको संख्या ६० हजार ११५ छ । उमेरका हिसाबले यहाँ १८ देखि २५ वर्षका मतदाता ११ हजार ६६३, २६देखि ४० का ४५ हजार ९४९, ४१ देखि ६० वर्षका ३९ हजार ५५० र ६१ वर्षभन्दा माथिका २६३९८ छन् ।
विरासत जोगाउने ध्याउन्नमा कांग्रेस
नुवाकोट क्षेत्र नं. २ मा नेपाली कांग्रेसको उपस्थिति बलियो देखिँदै आएको छ । गत निर्वाचनमा पनि यहाँ कांग्रेसकै अर्जुननरसिंह केसीले सानदार जित दर्ता गराएका थिए । ०६४ यताको चुनावी परिणाम नियाल्ने हो भने दुईबाहेकका सबै निर्वाचनमा कांग्रेस नै विजयी भएको छ । ०६४ मा माओवादीका र ०७४ मा एमालेका उम्मेदवार यो क्षेत्रबाट विजयी बनेका थिए । त्यसैले अघिल्लो पालि आफ्नो पोल्टामा परेको नुवाकोट–२ लाई उम्कन नदिने गरी कांग्रेस उम्मेदवारले प्रचारप्रसारलाई तीव्र बनाएका छन् । आफ्नो दाजुले यो क्षेत्रबाट प्रतिनिधित्व गर्दै राष्ट्रिय राजनीतिमा उचाइ हासिल गरेकाले केसी परिवारका लागि थपमा यो प्रतिष्ठाको विषयसमेत बनेको छ । नुवाकोटको कांग्रेस राजनीतिमा लामो समयदेखि केसी र महत परिवारको वंशवाद कायम रहेको छ । रामशरण महतले अघिल्लै निर्वाचनदेखि र अर्जुननरसिंह केसीले यो निर्वाचनबाट विश्राम लिए पनि प्रतिनिधिसभा निर्वाचनको टिकट उनीहरूकै पारिवारिक सदस्यले हत्याएका छन् । नवाकोट–२ मा कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाका विश्वास पात्र प्रकाशशरण महत योपालि उम्मेदवार बनेका छन् ।
आफ्नो परम्परागत मतदाता र पार्टी संगठनलाई कांग्रेसले आफ्नो जितको प्रमुख आधारका रूपमा प्रस्तुत गरेको छ । यो क्षेत्रको विकास निर्माणमा पार्टीका नेताको योगदान रहेकाले त्यसको मूल्यांकन मतदाताले गरिदिने छन् भन्ने आशा जगदीशले गरेकाे देखिन्छ । प्रायः अर्जुननरिसंह र महत खेमामा विभाजित हुने नुवाकोट कांग्रेसमा याे समूहकाे सधैंजसो दुस्मनीपूर्ण सम्बन्ध रहने गरेको छ । पार्टी एउटै भए पनि एकले अर्को पक्षलाई हराउन गर्ने जालझेल र तिकडम नुवाकोटका लागि कुनै नयाँ विषय होइन । तर यो पाला इतिहासमै पहिलो पटक नुवाकाेटमा महत र केसी पक्षबीच मिलाप भएको छ ।
सरकार सञ्चालनमा पुराना दलको असफलताले नागरिक तहमा चुलिएको असन्तुष्टि र त्यसकै जगमा बढेको नयाँप्रतिको आकर्षण जगदीशका लागि सबैभन्दा ठूलो चुनौती हुने देखिन्छ । गत प्रतिनिधिसभा निर्वाचनमा बिना संगठन प्रतिस्पर्धामा उत्रिएको रास्वपाले ल्याएको मत परिणामले पनि देशभर चलेको परिवर्तनको हावा नुवाकोट–२ मा नचल्ला भन्न सकिँदैन । देशभर चलेको रास्वपाको लहर रोक्न केसी सफल भए र कांग्रेसीहरूमा अहिले देखिएको एकतालाई मतमा कन्भर्ट गर्न सके दाजुका कारण जिल्ला तहमा खुम्चन पुुगेको उनको राजनीतिक यात्रा केन्द्रतिर माडिनेछ ।
चुनौती पन्छाउँदै पाण्डे
प्रदेशमा मन्त्रीसमेत बनिसकेका केशव पाण्डेलाई नेकपा एमालेले यस पटक प्रतिनिधिसभामा उम्मेदवार बनाएको छ । ओलीसँगको सम्बन्धका कारण नारायणप्रसाद खतिवडालाई पाखा लगाएर उम्मेदवार बन्न सफल पाण्डे पार्टीभित्रै आफ्नो उम्मेदवारीको औचित्य पुष्टि गर्नु पर्ने दबाबमा छन् । भलै ओलीकाे एमालेमा यस्ता विषय गाैण रहने गरेका छन् ।
अघिल्लो निर्वाचनमा नेकपा एमालेले समानुपातिकतर्फ यो क्षेत्रबाट १५ हजार २४८ मत पाएको थियो । पहिलो दल बनेको कांग्रेसले २० हजार ८५ मत ल्याएको थियो । यो क्षेत्रमा ३ हजार चानचुन मतदाता मात्र नयाँ थपिएकाले यसमा केही संख्या बढाएर परिणाम हत्याउने रणनीतिमा पाण्डे देखिन्छन् । नुवाकोटको राजनीतिमा लामो समयदेखि सक्रिय रहेको, प्रदेश मन्त्री छँदा विकास निर्माणका काम गरेकाले मतदाता आफूतिर आकर्षित हुने विश्वास पाण्डेको छ ।
गत भदौ २३ गते जेन–जी पुस्ताले गरेको आन्दोलनमा एमाले नेतृत्वको सरकारले दमन गरेको थियो । सामाजिक सञ्जालमाथिको प्रतिबन्ध हटाउनु पर्ने, भ्रष्टाचारको छानबिन हुनुपर्ने लगायत माग राखेर आन्दोलनमा उत्रिएका नवयुवाामथि भीड नियन्त्रणको सामान्य विधिसमेत अवलम्बन नगरी तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले गोली प्रहार गर्दा करिब २ दर्जनको मृत्यु भएको थियो । एमालेमाथि उक्त आन्दोलनमा दमन गरेको कलंकको टिको लाग्नु र तत्पशचात देशभर देखिएको परिवर्तनको लहरलाई समेत एमालेले निरन्तर ललकार्नु उनका लागि सबैभन्दा ठूलो चुनौती हुनेछ । नारायणप्रसाद खतिवडा समूह टिकट वितरणमा गरिएको बलजफ्तीलाई बिर्सेर पाण्डेको चुनावी प्रचारमा हिँडेको देखिएको छ । तर उनीहरूले अन्तर हृदयदेखि नै पाण्डेलाई सहयोग गर्लान् ? आशंका छ । त्यस्तै, रास्वपाप्रति देशभर देखिएको लहर पाण्डेको अर्को चुनौती हुनेछ । उक्त क्षेत्रमा अघिलो निर्वाचनमै नेकपा एमाले रास्वपाभन्दा तल परेकाले यो लहरलाई पर्गेल्नु उनका लागि त्यति सहज हुने देखिँदैन ।
पुनरागमनको दाउमा माओवादी
नुवाकोट क्षेत्र नं. २ मा ०६४ सालको संविधानसभा निर्वाचनमा माओवादीले जित निकालेको थियो । पोस्टबहादुर बोगटीले पहिलो संविधानसभा निर्वाचनमा माओवादीलाई विजयी गराए पनि त्यसयताका निर्वाचनमा माओवादीको उपस्थिति क्रमशः खस्किँदै गएको छ ।
यसपाला माओवादीले उक्त क्षेत्रमा जनयुुद्ध लडेका, शान्ति प्रक्रियामा आएपछि नुवाकोटमै रहेर संगठन निर्माण कार्य गरिरहेका हीरानाथ खतिवडालाई मैदानमा उतारेको छ । ०६४ यताको राजनीति माओवादीकै एजेण्डामा अघि बढेकाले उनले जसको नीति उसकै नेतृत्व भन्ने मुद्दालाई प्रमुख बनाएका छन् । पहिलो पटक प्रतिनिधिसभाका उम्मेदवार बनेका खतिवडा यो क्षेत्रमा प्रतिस्पर्धामै आउने देखिन्छ । राष्ट्रिय राजनीति र जिल्लाको विकास निर्माणमा माओवादीले भूमिका खेलेकाले पनि त्यसको मूल्यांकन गरेर मतदाताले मत खसाल्ने खतिवडाको विश्वास छ । तर गत निर्वाचनको परिणामलाई आधार मानेर विश्लेषण गर्दा जित निकाल्नका लागि भने उनले निकै कडा मिहिनेत गर्नुपर्ने देखिन्छ । ०७९ मा सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा उक्त क्षेत्रमा प्रत्यक्षतर्फ नेपाली कांग्रेसलाई सघाएको माओवादीले समानुपातिकतर्फ १० हजार मत ल्याएको थियो । जबकि, यो क्षेत्रमा कांग्रेसले उसलेभन्दा दोब्बर बढी २० हजार मत पाएको थियो ।
जितको खोजीमा रास्वपा
रास्वपाले नुवाकोट–२ मा उम्मेदवार बनाएको डा. अच्युतम लामिछाने यस पटक इतिहास रच्ने दाउमा छन् । कमजोर संगठनकै बीच पहिलो निर्वाचनमा उक्त क्षेत्रमा दोस्रो पोजिसन बनाउन सफल भएकाले लामिछाने परिवर्तन पक्षधरको मत बटुलेर जित निकाल्ने रणनीतिमा छन् ।
रास्वपाको बागमती प्रदेश सभापतिसमेत रहेका लामिछानेको सबैभन्दा सबल पक्ष रास्वपाको पक्षमा देखिएको देशव्यापी उभार हो । जुन नुवाकोट २ मा अघिल्लो पालि नै देखिएको थियो । गत विर्नाचनमा माओवादीसँग गठबन्धन गरेको कांग्रेसले यो क्षेत्रमा समानुपातिकतर्फ २० हजार मत पाउँदा रास्वपाका सुमनविक्रम पाण्डेले प्रत्यक्षतर्फ १६ हजार ४७७ मत ल्याएका थिए । लामिछाने अघिल्लोमा उल्लेख्य मत थपेर फागुन २१ मा हुने निर्वाचनमार्फत संसदीय यात्रा तय गर्ने दाउमा देखिन्छन् ।
नुवाकोट–२ बाट लामिछानेले जित निकाल्न असम्भव नभए पनि सहज भने छैन । उनको सबैभन्दा ठूलो चुनौती पुराना दल कांग्रेस र एमालेको संगठन र परम्परागत मतदाता हुन् । रास्वपाले अघिल्लो पटक नुवाकोट–२ मा उठाएको सुमनविक्रम पाण्डे पनि उनका लागि भारी हुने खतरा छ । किनभने, नुवाकोट–२ बाट दोस्रो पटक रास्वपाको उम्मेदवार बन्न चाहेका पाण्डे त्यसबाट विमुख भएपछि रुष्ट छन् । आफूले लगाएको बाली उठाउन अर्कै आएपछि नुवाकोटमा रास्वपाको संगठन निर्माणमा भूमिका खेलेका पाण्डेले कुलमान घिसिङको पार्टी र स्वतन्त्रमध्ये कुनै एकबाट उम्मेदवारी दिने चर्चा चलेको थियो । उनले कहीँ कतैबाट उम्मेदवारी नदिँदा रास्वपालाई केही राहत त मिलेकाे छ तर उनले लामिछानेलाई जिताउने उदारता भने देखाउन सकेका छैनन् । यश पटक टिकटका कारण पाण्डे बिच्किएकाले त्यसको असर लामिछानेलाई पर्ने लख काटिएको छ । यद्यपि, रास्वपा पंक्ति अघिल्लो चुनावमा पाण्डेले संगठनकाे बलमा भन्दा परिवर्तन र असन्तुष्टिको जगमा सम्मानजनक मत पाएकाले योपालि पनि त्यो मत रास्वपाकै पक्षमा पर्ने, त्यसमा तलबितल नहुने ठान्छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको तर्फबाट चुनावी मैदानमा उत्रिएका झनक प्याकुरेल सम्मानजनक उपस्थिति जनाउने रणनीतिमा छन् । राप्रपाका प्रकाशचन्द्र लोहनीले नुवाकोटको विकासको मूल नै फुटाएको र धेरै पटक निर्वाचन नै जितेकाले परम्परागत मतदाताको मन जितेर उनले सम्मानजनक मत बटुुल्ने प्रयास गरिरहेका छन्।
यसरी हेर्दा नुवाकोटमा यस पटक नेपाली कांग्रेस, रास्वपा र एमालेबीच त्रिपक्षीय भिडन्त हुने देखिन्छ । तर तीन वटै दलको उपस्थिति बलियो भएकाले यसकै पक्षमा नतिजा आउँछ भनेर अहिले नै अनुमान गर्न भने कठिन छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया