NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै

काठमाडौं । ‘यो हामी राउटेले बनाएको भाँडो हो, यसको नाम कोशी (आरी) हो । तपाईँहरूले जे खानेकुरा पनि राख्न सक्नुहुन्छ । असाध्यै राम्रो छ । मूल्य एक हजार मात्र’, सुदूरपश्चिमका दीपक राउटेले भने ।

राष्ट्रिय सभागृहमा आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले आजदेखि सुरु गरेको आयोजना गरेको आदिवासी जनजाति ज्ञान सम्मेलनमा राउटेहरूले आफूले बनाएका भाँडा बिक्रीका लागि राखेका छन् ।

उनीहरूको चाहना धेरैभन्दा धेरै भाँडा बिक्री भए हुन्थ्यो तर उनीसँग भाँडा किन्नेहरूभन्दा पनि उहाँहरूसँगै बसेर फोटो खिचाउनेको भीड बढी थियो ।

आगन्तुकहरू तपाईँ कहाँको राउटे ?, तपाईँको नाम के हो ? तपाईँले लगाउने लुगा केले बनेको हो ? यस्तै अनौठा प्रश्नहरू सोध्दै थिए ।

सम्मेलनमा सुदूरपश्चिमका चार जना राउटेहरूले ७० वटा कोशी (काठको भाँडो) बिक्री गर्नका लागि ल्याएको दीपकले बताए ।

दीपक यसअघि पनि काठमाडौँ सहर आइसकेका छन् । उनले सुदूरपश्चिममा भाँडा बनाएर गाउँमा चामल, मकै र धानको साटो बेच्छन् ।

तर, काठमाडौँमा धान र मकै बोकेर फेरि घरसम्म पुग्न सास्ती हुने हुँदा भाँडा बेचेको सट्टा रुपैयाँ नै दिए हुन्थ्यो भन्ने आशा दीपकको रहेको छ ।

उनका अनुसार राउटे परम्पराअनुसार रुपैयाँ छुनुहुँदैन भन्ने मान्यता छ । ‘सहरमा भने रुपैयाँ न लिई सम्भावन नहुने रहेछ’, दीपक भन्छन्, ‘अब पैसा न छोए कसरी बाँचिन्छ ?’ दीपकले जङ्गलमा बस्ने राउटेले सहरिया जीवनसँग अलिकता आत्तिने गरेको अनुभव सुनाए । यहाँको भिडभाड, अनि कोलाहलदेखि आफ्नो समुदायका मान्छे घुलमिल हुन निकै कठिन भएको बताए । उनले सहरमा घुमेको अनुभव सुनाउँदै भने, ‘सहरका मान्छे धेरै बोल्छ । हामीलाई झर्को लाग्छ ।’

सम्मेलनमा राउटे समुदायलगायत विभिन्न जनजाति समुदायको कला संस्कृति, परिकार, रहनसहन र खानपान झल्किने जीवनशैलीसमेत प्रदर्शनमा राखिएको छ ।

जसमा संयुक्त राष्ट्र सङ्घको कृषि तथा खाद्य सङ्गठन (एफएओ) नेपालले परम्परागत खाद्यको प्रवर्धन गर्न खाद्य प्रदर्शन गरेको थियो ।

कोदो, फापर, मकै, गहुँजस्ता अन्नबालीको नमूना प्रदर्शनमा राखेर स्वस्थ्यवद्र्धक र पौष्टिक आहार खानपान गर्ने सन्देश दिन खोजिएको एफएओ नेपालका कार्यक्रम प्रमुख मधुकुमार विश्वकर्माले बताए ।