NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

यूएईस्थित नेपाली दूतावासको अनुरोध– एयरलाइन्ससँग यकिन गरेर मात्र विमानस्थल जानू

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई) स्थित नेपाली दूतावासले त्यहाँबाट नेपाल फर्कन लागेका नेपालीलाई विमानस्थल जानुअघि एयरलाइन्ससँग यकिन गरेर मात्र जान भनेको छ । नेपाली दूतावासले बिहीबार (फागुन २१) एक सूचना जारी गर्दै सो अनुरोध गरेको हो ।

इरानले यूएई लगायतका मध्यपूर्व तथा खाडी राष्ट्रमा रहेका अमेरिकी सैन्य बेसहरूमा आक्रमण गरेपछि केही दिनयता उडानहरू अवरुद्ध भएका छन् ।

यसै क्रममा यूएईबाट केही उडान काठमाडौं हुन लागेपछि दूतावासले सूचना जारी गर्दै यकिन गरेर मात्र विमानस्थाल जान भनेको हो ।

यूएईको अबुधाबीस्थित जायद अन्तर्राष्ट्रिय विमानस्थल, दुबई इन्टरनेसनल विमानस्थल (डीएक्सबी) र सारजाह अन्तर्राष्ट्रिय विमानस्थलबाट बिहीबार र शुक्रबार केही उडान हुने तालिका रहेको दूतावासले जनाएको छ ।

“तसर्थः ट्रान्जिटमा रहेका तथा टिकट लिइसक्नु भएका महानुभावहरूले सम्बन्धित एयरलाइन्ससँग आफ्नो उडान स्थिति जाँच गर्नुहुन अनुरोध छ,” दूतावासले भनेको छ ।

दूतावासले सम्बन्धित एयरलाइन्सहरूले उडानअघि जानकारी दिएपछि मात्र विमानस्थल जान अनुरोध गरेको छ । समयमै एयरपोर्ट जानुअघि एयरलाइन्सलाई फोन गरी एकिन गरेर मात्र जान पनि दूतावासले अनुरोध गरेको छ ।