NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

प्रत्यक्ष र समानुपातिक जोड्दा रास्वपा दुई तिहाइ नजिक

काठमाडौं । प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीको नतिजा जोड्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्रतिनिधिसभामा दुई तिहाइ नजिक पुग्ने सम्भावना देखिएको छ।

हालसम्म प्रत्यक्षतर्फ रास्वपाले १०२ सिट जितिसकेको छ भने २३ स्थानमा अग्रता कायम राखेको छ। यी दुवै जोड्दा उसले करिब १२५ सिट जित्ने अवस्था देखिएको छ। बाँकी ९ स्थानको नतिजा आउन बाँकी भए पनि अधिकांश क्षेत्रमा परिणाममा ठूलो फेरबदल हुने सम्भावना कम देखिन्छ।

समानुपातिकतर्फ करिब २५ लाख मत गणना भइसकेको छ। हालसम्म रास्वपाले करिब १२ लाख ६५ हजार मत पाएको छ, जुन झण्डै ५१ प्रतिशत हो।

नेपाली कांग्रेसले करिब ४ लाख २७ हजार मत (करिब १७ प्रतिशत) प्राप्त गरेको छ भने एमालेले करिब ३ लाख ४० हजार अर्थात झण्डै १३.५ प्रतिशत मत पाएको छ।

यसैगरी नेकपा र राप्रपाले ३ प्रतिशतको थ्रेसहोल्ड पार गरेका छन्। श्रम संस्कृतिसहित केही दल भने थ्रेसहोल्ड पार गर्न नसकेको अवस्थामा छन्।

हालको मत अनुपात कायम रहेमा समानुपातिक प्रणालीबाट रास्वपाले करिब ६१ सिट पाउने अनुमान गरिएको छ। कांग्रेसले करिब २१, एमालेले १६, नेकपाले ८ र राप्रपाले ४ सिट पाउने सम्भावना देखिएको छ। थ्रेसहोल्ड र अन्य गणनाका कारण सिट संख्यामा सामान्य हेरफेर हुनसक्नेछ।

२७५ सदस्यीय प्रतिनिधिसभामा दुई तिहाइ बहुमतका लागि १८४ सिट आवश्यक हुन्छ। हालको अनुमान अनुसार प्रत्यक्षबाट १२५ र समानुपातिकबाट ६१ सिट पाउँदा रास्वपा दुई तिहाइ नजिक पुग्ने देखिएको छ।

प्रतिनिधिसभामा दुई तिहाइ बहुमतको विशेष महत्व हुन्छ। संविधान संशोधन र संवैधानिक पदाधिकारीविरुद्ध महाभियोग प्रस्ताव पारित गर्न यस्तो बहुमत आवश्यक पर्छ। यद्यपि, यी निर्णयका लागि राष्ट्रिय सभामा पनि दुई तिहाइ समर्थन आवश्यक हुन्छ।