सरकारी सेवासुविधा सामाजिक सेवामा प्रयोग गर्ने उपाध्यक्ष डोल्माको घोषणा
ललितपुर- अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा महाङ्काल गाउँपालिकाकी उपाध्यक्ष डोल्मामाया गोलेले आफूले राज्यबाट पाउने तलब–भत्ता नलिने र सरकारी सवारीसाधन सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन् । उपाध्यक्ष गोलेले महिला दिवसका अवसरमा सार्वजनिक सन्देश जारी गर्दै अबदेखि आफूले राज्यबाट पाउने मासिक तलब–भत्ता नलिने निर्णय गरेको बताइन् ।
उनका अनुसार उक्त रकम ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, महिला, किसान, शिक्षक, युवा तथा स्वास्थ्य स्वयंसेविकालगायत समुदायका आवश्यक क्षेत्रमा सहयोगका रूपमा खर्च गरिने छ । त्यसैगरी, आफूले प्रयोग गर्दै आएको सरकारी सवारीसाधनलाई पनि सामाजिक सेवामा प्रयोग गर्ने घोषणा गरेकी छन् । परिवारमा सहारा नभएका ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका अति विपन्न नागरिकलाई पालिका तथा वडा कार्यालयमा सेवा लिन आउन–जान सहज बनाउने उद्देश्यले सवारी उपलब्ध गराइने उनले जानकारी दिइन् ।
उनले भनिन्, ‘विशेषगरी मासिक वृद्धभत्ता लिन पालिका केन्द्रस्थित बैङ्कसम्म पुग्न कठिनाइ भोगिरहेका नागरिकलाई मैले प्रयोग गर्दै आएको सरकारी सवारीसाधन प्रयोग गर्दा थप सहज हुनेछ । यस्ता कुनै समस्या परेमा खुलेर भन्नुस् तपाईंको आपत्–विपत्, दुःख–पीडामा मसँगै रहनेछु ।’
महाङ्काल गाउँपालिका महिला तथा बालबालिका शाखाले सम्बन्धित वडाअध्यक्ष, जनप्रतिनिधि एवं सचिव र स्वास्थ्य स्वयंसेविकाहरूसँग समन्वय गरेर यो सेवा लिनसक्ने पनि उनले जानकारी दिइन् । उनका अनुसार यो सेवा गाउँपालिकाभित्रका नागरिकले मात्र उपयोग गर्न पाउने व्यवस्था गरिने छ । गोलेले नागरिकलाई सम्बोधन गर्दै आपत्–विपत् र दुःखमा सधैँ साथ रहने प्रतिबद्धता व्यक्त गर्दै आफ्नो निर्णय जनसेवा र सामाजिक उत्तरदायित्वप्रतिको प्रतिबद्धताका रूपमा रहेको बताइन् ।
ताजा अपडेट
-
प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता
-
ग्राहकका लागि निःशुल्क ‘एयरब्याग सेफ्टी रिकल’ सेवा सञ्चालन गर्दै होण्डा
-
सुनको मूल्य ५ हजार ४०० रुपैयाँले बढ्यो
-
प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक
-
प्रधानमन्त्री शाहले हस्तकला महासंघका प्रतिनिधिसँग छलफल गर्ने


प्रतिक्रिया