काठमाडौं – २०८२ साल फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनबाट कुल ३४ दशमलव ९ प्रतिशत महिला निर्वाचित भएका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा ६ वटा राजनीतिक दलबाट ९६ जना महिला सांसद चुनिएका हुन्।
निर्वाचन परिणामअनुसार प्रत्यक्षतर्फ भने महिलाको सहभागिता न्यून देखिएको छ। जम्मा १४ जना महिला मात्र प्रत्यक्ष निर्वाचन प्रणालीबाट निर्वाचित भएका छन्, जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका १३ जना र नेपाली कांग्रेसका १ जना रहेका छन्।
बाँकी ८२ जना महिला समानुपातिक प्रणालीमार्फत प्रतिनिधिसभामा पुगेका छन्। राष्ट्रिय स्वतन्त्र पार्टीबाट सबैभन्दा बढी ४८ जना महिला समानुपातिकतर्फ चयन भएका छन्। तीमध्ये आदिवासी जनजाति क्लस्टरबाट १३, खसआर्य तथा पिछडिएको क्षेत्रबाट १६, दलितबाट ७, थारुबाट २ र मधेसीबाट १० जना समावेश छन्।
नेपाली कांग्रेसले समानुपातिकतर्फ २० सिटमध्ये १५ जना महिलालाई प्रतिनिधित्व गराएको छ। तीमध्ये आदिवासी जनजाति ४, खसआर्य ४, थारु १, दलित ३, मधेसी २ र मुस्लिम १ जना रहेका छन्।
नेकपा एमालेले १६ समानुपातिक सिटमध्ये १० जना महिला पठाएको छ। यसमा आदिवासी जनजाति २, खसआर्य तथा अन्य समूह १, दलित २, मधेसी २ र मुस्लिम १ जना समावेश छन्।
त्यस्तै, नेपाली कम्युनिस्ट पार्टीले ९ सिटमध्ये ४ जना महिला समावेश गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीका ४ सिटमध्ये २ जना महिला रहेका छन्। श्रम संस्कृति पार्टीले ४ सिटमध्ये ३ जना महिला पठाएको छ।
संविधानअनुसार प्रतिनिधिसभामा कम्तीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गरिएको छ। यद्यपि राजनीतिक दलहरूले प्रत्यक्ष निर्वाचनमा महिलालाई पर्याप्त प्राथमिकता नदिँदा समानुपातिक प्रणालीमार्फत कोटा पूरा गर्नुपर्ने अवस्था देखिएको छ।


प्रतिक्रिया