NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

सुनको मूल्य तोलामा ६ हजार ५ सयले घट्यो ,कतिमा हुँदैछ कारोबार?

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्यमा सोमबार उल्लेखनीय गिरावट देखिएको छ। साताको दोस्रो कारोबार दिन सुनको भाउ एकैदिन प्रतितोला ६ हजार ५ सय रुपैयाँले घट्दै २ लाख ७५ हजार ५ सय रुपैयाँमा झरेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन पनि सुनको मूल्य १२ हजार ५ सय रुपैयाँले घटेको थियो। यसरी हेर्दा, पछिल्लो एक सातामै सुनको भाउ कुल ३४ हजार रुपैयाँले घटिसकेको छ। गत साताको सोमबार भने सुन प्रतितोला ३ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। त्यस्तै, यसअघि माघ १५ गते सुनको मूल्य ३ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो, जुन हालसम्मकै उच्च स्तर हो।

अन्तर्राष्ट्रिय बजारको प्रभावका कारण पनि सुनको मूल्यमा दबाब परेको विश्लेषण गरिएको छ। पश्चिम एसियामा बढ्दो तनावका कारण तेलको मूल्य बढ्दा अमेरिकी डलरको माग उच्च भएको छ। डलरको आपूर्ति व्यवस्थापन गर्न विभिन्न देशहरूले सुन बिक्री बढाउँदा यसको मूल्यमा गिरावट आएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूले जनाएका छन्।

त्यसैगरी, विश्वव्यापी रूपमा महँगी बढ्दै जाँदा ब्याजदर वृद्धि हुने सम्भावना बढेको छ, जसले सुन र चाँदीजस्ता बहुमूल्य धातुमा लगानी आकर्षण घटाउँदै मूल्यमा थप असर पारेको छ।

उता, चाँदीको मूल्य पनि सोमबार घटेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ५४० रुपैयाँ रहेको चाँदी ११५ रुपैयाँले घटेर ४ हजार ४२५ रुपैयाँमा कारोबार भइरहेको छ।

ताजा अपडेट

नेपालवाच विशेष