NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २० गते

मध्यपूर्व युद्ध : तेलपछि अब यी कुरामा पर्नेछ असर  

एजेन्सी । मध्यपूर्वमा जारी युद्धका कारण कच्चा तेल मात्रै होइन विश्व बजारमा अन्य धेरै वस्तुको मूल्य पनि बढ्ने संकेत देखिएको छ।

एजेन्सीका अनुसार अमेरिका र इजरायलले इरानविरुद्ध युद्ध सुरु गरेको २४ दिन भइसकेको छ र यसको असर अब विश्व अर्थतन्त्रमा स्पष्ट देखिन थालेको छ।

मार्च ९ मा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य २०२२ यताकै पहिलो पटक प्रति ब्यारेल १०० डलरभन्दा माथि पुगेको छ। युद्ध सुरु हुनुभन्दा अघिल्लो दिन अर्थात फेब्रुअरी २७ मा भने तेलको मूल्य करिब ७० डलरको हाराहारीमा थियो। पछिल्ला दिनहरूमा तेल ट्याङ्करहरूमा भएका आक्रमण र स्ट्रेट होर्मुजमा आएको अवरोधका कारण मूल्य तीव्र रूपमा बढेको हो।

इरानले विश्वको करिब २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो समुद्री मार्गलाई लगभग अवरुद्ध बनाएको छ र त्यहाँबाट आवतजावत गर्ने जहाजहरूलाई चेतावनी दिइरहेको छ। यदि द्वन्द्व लम्बिँदै गयो भने यसको असर तेल बाहेक अन्य क्षेत्रहरूमा पनि पर्ने निश्चित छ।

विशेषगरी खाडी क्षेत्रका देशहरू ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स  विश्वका प्रमुख मल निर्यातकर्ता हुन्। यी देशहरूबाट हुने निर्यात प्रभावित हुँदा विश्व खाद्य उत्पादनमा असर पर्ने देखिएको छ। विश्लेषकहरूका अनुसार, यदि युद्ध १ देखि ३ महिना लामो भयो भने खाद्यान्नको मूल्य बढ्न थाल्नेछ। मलको अभावका कारण उत्पादन घट्न सक्ने र त्यसले खाद्य संकट निम्त्याउन सक्ने चेतावनी दिइएको छ। यसको सबैभन्दा ठूलो असर गरिब देशहरूमा पर्नेछ।

यसैगरी, युद्धले औषधि आपूर्तिमा पनि असर पार्ने देखिएको छ। दुबई विश्व औषधि वितरणको एक प्रमुख केन्द्र हो। भारतबाट निर्यात हुने धेरै औषधिहरू यहीँबाट खाडी, अफ्रिका र युरोपतर्फ पठाइन्छन्।  युद्धका कारण औद्योगिक उत्पादनका लागि आवश्यक कच्चा पदार्थ र रसायनहरूको आपूर्ति पनि प्रभावित भएको छ।

विशेषगरी सल्फर र आल्मुनियम जस्ता पदार्थहरूमा असर परेको छ।  साउदी अरब,  संयुक्त अरब इमिरेट्स, कतार , कुवेत र इरानसहित खाडीका देशहरू प्रमुख सल्फर निर्यातकर्ता हुन्, र विश्वको करिब २४ प्रतिशत सल्फर उत्पादन यही क्षेत्रबाट आउँछ।  सल्फर मल उत्पादनका साथै तामा र निकेल जस्ता धातु निकाल्न प्रयोग हुन्छ, जुन पछि उपकरण, सवारी साधन, सेमिकन्डक्टर, ब्याट्री र स्टेनलेस स्टील बनाउन प्रयोग गरिन्छ।

यसको प्रभाव अहिले नै देखिन थालेको छ। इन्डोनेशियाका निकेल उत्पादकहरूले उत्पादन घटाउने घोषणा गरिसकेका छन्। इन्डोनेशिया विश्वको ५० प्रतिशतभन्दा बढी निकेल उत्पादन गर्ने देश हो, र त्यहाँ प्रयोग हुने करिब ७५ प्रतिशत सल्फर खाडी देशहरूबाट आउने गर्छ।।

सल्फरबाट बन्ने सल्फ्यूरिक एसिड सेमिकन्डक्टर र चिप्स उत्पादनमा अत्यन्तै महत्वपूर्ण हुन्छ। यसको आपूर्ति प्रभावित भएमा स्मार्टफोन, कम्प्युटर, सवारी साधन लगायत विभिन्न इलेक्ट्रोनिक उपकरणहरूको उत्पादनमा असर पर्नेछ।

(बीबीसी हिन्दीबाट याे सामाग्री तयार पारिएकाे हाे )

ताजा अपडेट

नेपालवाच विशेष