सम्राट चौधरी बने बिहारको २४ औं मुख्यमन्त्री
काठमाडौँ – बिहारको मुख्य मन्त्रीमा सम्राट चौधरीले सपथ ग्रहण गरेका छन्। उनी बिहारको २४ औं मुख्यमन्त्री बनेका हुन्। उनी भारतीय जनता पार्टी (बीजेपी) को पहिलो मुख्यमन्त्री बनेका छन्।
उनीसँगै जनता दल यूनाइटेड (जेडीयू) का विजय कुमार चौधरी र बिजेंद्र प्रसाद यादवले पनि मन्त्री पदको शपथ लिए। यी दुवैलाइ उपमुख्यमन्त्री (डिप्टी सीएम) बनाइने जनाइएको छ। बीजेपीका धेरै नेताहरूले उनीहरूलाई उपमुख्यमन्त्रीको बधाईसमेत दिएका छन्। सपथ समारोहमा नितिश कुमार पनि उपस्थित रहेका थिए।
सम्राट चौधरी मुख्यमन्त्री बन्ने बाटो नीतीश कुमारको राजीनामापछि खुलेको हो। नीतीशले हालै राज्यसभाको शपथ लिएका छन्। यससँगै बिहारका मुख्यमन्त्रीका रूपमा नीतीश कुमारको २१ वर्ष लामो यात्रा समाप्त भएको छ। सन् २००० मा उनी ७ दिनका लागि मुख्यमन्त्री बनेका थिए, तर स्थायी रूपमा उनको कार्यकाल नोभेम्बर २००५ बाट सुरु भएको थियो।
विजय कुमार चौधरी सन् २००५ मा जेडीयूमा सामेल भएका थिए। सन् २०१० देखि उनी समस्तीपुरको सरायरंजन क्षेत्रबाट लगातार निर्वाचित हुँदै आएका छन्। उनी नीतीश मन्त्रिपरिषद्मा मन्त्रीसमेत भइसकेका छन् र नीतीशका विश्वासिला सहयोगी मानिन्छन्। अघिल्लो सरकारमा उनीसँग जलस्रोत, संसदीय कार्य, सूचना तथा जनसम्पर्क (आईपीआरडी) र भवन निर्माण गरी चार विभागको जिम्मेवारी थियो। उनले सन् १९८२ मा आफ्नो बुबाको निधनपछि राजनीतिमा प्रवेश गरेका थिए। उनका बुबा कांग्रेसका विधायक थिए। उनले सुरुमा कांग्रेसकै टिकटबाट दलसिंहसराय क्षेत्र जितेका थिए।
बिजेंद्र प्रसाद यादव सन् २००५ देखि निरन्तर बिहार सरकारमा मन्त्री रहँदै आएका छन्। उनी सुपौल क्षेत्रबाट निर्वाचित हुँदै आएका छन्। उनी नीतीश सरकारका सबैभन्दा जेष्ठ मन्त्री थिए र जयप्रकाश नारायणका सहयोगीसमेत रहिसकेका छन्। नीतीश सरकारमा उनले ऊर्जा र वित्त मन्त्रीको जिम्मेवारी सम्हालेका थिए, र बिहारमा विद्युत् अवस्थालाई सुधार गर्न उनको योगदान मानिन्छ।
सम्राट चौधरी कुशवाहा जातिबाट आएका हुन्, जुन पिछडिएको समुदायमा यादवपछि दोस्रो ठूलो जनसंख्या भएको समूह हो। जातिगत तथ्यांक अनुसार बिहारमा कुशवाहा जातिको जनसंख्या करिब ४.२ प्रतिशत छ।
पछिल्ला केही वर्षदेखि बीजेपीले राजदको ‘एमवाई’ (मुस्लिम-यादव) मतदाता समूहबाट ‘वाई’ अर्थात् यादव मतलाई आफ्नो पक्षमा ल्याउने प्रयास गरिरहेको छ। यादव समुदाय कुल जनसंख्याको करिब १४ प्रतिशत छ। सन् १९९० देखि २००५ सम्मको लालू-राबड़ी शासन (जसमा सम्राट चौधरी स्वयं पनि कहिलेकाहीँ संलग्न थिए) ले पनि बीजेपीलाई जातीय भोट तान्नका लागि बलिया छवि भएका नेता आकर्षण गर्नु पर्ने र उनीहरुलाइ महत्वपूर्ण जिम्मेवारीले मात्र यो सम्भवन हुने बुझेकाले पनि यस्तो निर्णय लिन प्रेरित गरेको मानिन्छ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया