नौ महिनामा १७ खर्बभन्दा बढी वैदेशिक व्यापार, घाटा १२ खर्ब नाघ्यो
काठमाडौँ । चालू आर्थिक वर्ष २०८२/०८३ को पहिलो नौ महिनामा नेपालले १७ खर्बभन्दा बढीको वैदेशिक व्यापार गरेको छ। भन्सार विभागका अनुसार साउनदेखि चैत्रसम्म कुल १७ खर्ब १३ अर्ब ४३ करोड रुपैयाँ बराबरको व्यापार भएको हो।
यो परिमाण अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १४.४० प्रतिशतले बढी हो। गत वर्ष सोही अवधिमा १४ खर्ब ९७ अर्ब ७२ करोड रुपैयाँ बराबरको वैदेशिक व्यापार भएको थियो।
यद्यपि, व्यापारसँगै घाटा पनि बढेको छ। चालू आवको नौ महिनामा नेपालले १२ खर्ब ६७ अर्ब ५६ करोड रुपैयाँ बराबरको व्यापार घाटा व्यहोरेको छ, जुन अघिल्लो वर्षको ११ खर्ब २१ अर्ब ३३ करोडको तुलनामा उल्लेख्य वृद्धि हो।
आयाततर्फ, उक्त अवधिमा १४ खर्ब ९० अर्ब ४९ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको छ, जुन गत वर्षको सोही अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो। अघिल्लो वर्ष सो अवधिमा १३ खर्ब ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको आयात भएको थियो।
निर्याततर्फ भने सुधार देखिएको छ। चालू आवको चैत्रसम्म २ खर्ब २२ अर्ब ९३ करोड रुपैयाँ बराबरको वस्तु तथा सेवा निर्यात भएको छ, जुन अघिल्लो वर्षको १ खर्ब ८८ अर्ब १९ करोडको तुलनामा १८.४६ प्रतिशतले वृद्धि हो।


प्रतिक्रिया