काठमाडौं – अर्थ मन्त्रालयले पछिल्लो एक दशकमा नेपालको वैदेशिक सहायताको संरचनामा उल्लेखनीय परिवर्तन आएको जनाएको छ। मन्त्रालयद्वारा सार्वजनिक गरिएको अर्थतन्त्रको वर्तमान स्थितिपत्रअनुसार वैदेशिक सहायतामा ऋणको हिस्सा तीव्र रूपमा बढ्दै गएको छ भने अनुदानको हिस्सा निरन्तर घटिरहेको छ।
आर्थिक वर्ष २०८१/८२ मा कुल वैदेशिक सहायतामध्ये ऋणको हिस्सा ८१.१ प्रतिशत पुगेको छ, जबकि अनुदानको हिस्सा १८.९ प्रतिशतमा सीमित भएको छ। यसलाई आर्थिक वर्ष २०७१/७२ सँग तुलना गर्दा त्यतिबेला ऋणको हिस्सा ५७.४ प्रतिशत र अनुदान ४२.६ प्रतिशत रहेको थियो।
मन्त्रालयका अनुसार पछिल्ला वर्षहरूमा समग्र वैदेशिक सहायता परिचालनसमेत घट्दो क्रममा छ। पछिल्लो १० वर्षमा कुल बजेटमा वैदेशिक सहायताको औसत योगदान २१.५ प्रतिशत रहेकामा आर्थिक वर्ष २०८२/८३ मा यो घटेर १४.६ प्रतिशतमा झरेको छ।
वैदेशिक सहयोग घट्नुका प्रमुख कारणहरूमा परियोजनाको कार्यान्वयनमा ढिलाइ, समयमै सोधभर्ना नहुनु तथा नगद व्यवस्थापनमा समस्या रहेको मन्त्रालयले जनाएको छ। यी चुनौतीहरूले वैदेशिक सहायतामा निर्भरता घटाउँदै अर्थतन्त्रमा थप दबाब सिर्जना गरेको निष्कर्ष निकालिएको छ।
प्रतिक्रिया