NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८३ जेठ २१ गते

‘आर्थिक सुधारको नेतृत्व लिन निजी क्षेत्र तयार छ’ -अध्यक्ष ढकाल

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक रूपान्तरणका लागि नयाँ चरणको सुधार आवश्यक रहेको उल्लेख गर्दै त्यसको नेतृत्व लिन निजी क्षेत्र तयार रहेको बताएका छन् । महासंघको ६०औँ वार्षिक साधारण सभाको उद्घाटन सत्रमा मन्तव्य राख्दै उनले यस्तो बताएका हुन् ।

ढकालका अनुसार महासंघको ६० वर्षे यात्रा केवल समयको गणना नभई मुलुकको आर्थिक इतिहासमा संघर्ष, सहकार्य र उपलब्धिका आधारहरू जोडिँदै गएको प्रक्रिया हो । उनले निजी क्षेत्रले उद्योग, व्यापार र लगानीको वातावरण निर्माणमा निरन्तर भूमिका खेल्दै आएको र विभिन्न चुनौतीका बीच पनि आर्थिक गतिविधिलाई अघि बढाउन सक्रिय रहेको बताएका छन् ।

उनले देशमा झण्डै दुई तिहाइको सरकार गठन हुनु नीतिगत स्थायित्वका लागि अवसरका रूपमा लिनुपर्ने बताए । “सरकारको स्थायित्वलाई विकास र आर्थिक रूपान्तरणका लागि सदुपयोग गर्नुपर्छ,” उनले भनेका छन् ।

ढकालले निजी क्षेत्र प्रवर्द्धन तथा संरक्षण रणनीति कार्यान्वयनको निर्णयलाई सकारात्मक कदमका रूपमा उल्लेख गर्दै यसको प्रभावकारी कार्यान्वयनमा महासंघले सहकार्य गर्ने बताएका छन् । साथै, आर्थिक सुधारका लागि उच्चस्तरीय सुझाव आयोगका सिफारिसहरू कार्यान्वयनमा लैजानुपर्नेमा उनले जोड दिएका छन् ।

उनले मुलुकमा रोजगारी सिर्जनाको चुनौती गम्भीर रहेको औँल्याउँदै स्वदेशमै उच्च ज्यालासहितको रोजगारी सिर्जना गर्नुपर्ने बताएका छन् । “निराशालाई आशामा बदल्न उत्पादनमूलक रोजगारी विस्तार गर्न आवश्यक छ,” उनले भनेका छन् ।

ढकालले लगानीमैत्री वातावरण निर्माणमा अत्यधिक नियमन बाधक बनेको उल्लेख गर्दै सरकार र निजी क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताए । उनले ऊर्जा, कृषि, पर्यटन र खनिज क्षेत्रमा रहेको सम्भावनाको उपयोग गर्दै प्रविधिको उच्चतम प्रयोगमार्फत आर्थिक वृद्धि हासिल गर्न सकिने धारणा राखेका छन् ।

विदेशी लगानी आकर्षित गर्न सुशासन अपरिहार्य रहेको उल्लेख गर्दै उनले नेपालमा लगानीको चासो बढ्दै गएको बताए । “सुशासन कायम नगरी लगानी आकर्षित गर्न सकिँदैन,” उनले भनेका छन् ।

ढकालले स्वदेशी पूँजी परिचालनमार्फत ठूला आयोजना सञ्चालन गर्न निजी क्षेत्र सक्षम रहेको दाबी गर्दै लगानी विस्तारका लागि सहजीकरण आवश्यक रहेको बताएका छन् । साथै, कानुनी स्थायित्व, नीतिगत स्पष्टता र पारदर्शितामा जोड दिनुपर्ने उनले औँल्याएका छन् ।

उनले विगतका संकटहरूलाई अवसरमा रूपान्तरण गर्दै निजी क्षेत्र अघि बढेको उल्लेख गर्दै आगामी दिनमा पनि सकारात्मक सोच र सिर्जनात्मक प्रयासमार्फत आर्थिक विकासमा योगदान पुर्‍याउने विश्वास व्यक्त गरेका छन् ।

ताजा अपडेट

नेपालवाच विशेष